पश्चिम नेपालको तस्बिर कोरियामा
फोनिज कोरिया संवाददाता
सोल-परदेशिएको मान्छेलाई आफ्नो गाउँठाउं हेर्ने रहर जहिल्यै हुन्छ | जन्म स्थानको खोलानाला, हिमाल पहाडको तस्बिर हेरेर परदेशको पीडा भुल्ने धेरै नेपालीहरु कोरियामा छन् | पश्चिमान्चल विकास क्षेत्रबाट कोरिया आएका नेपालीहरुले भने आफ्नो क्षेत्रको प्राकृतिक,जैविक बिबिधताको तस्बिर अवलोकन गर्ने मौका कोरियाको किम्पो शहरमा पाउने भएका छन् |
फोटो प्रदर्शनीको तयारी कोरियाका चर्चित फोटो पत्रकार छो जीन सुले गरेका हुन् |प्रदर्शनीको संयोजन कोरिया-नेपाल एसोसिएसनले गरेको हो |आउदो जुन ८ देखि १४ सम्म किम्पो सिमीन हेग्वानमा प्रदर्शनीको तयारी गरिएको छ | फोटो प्रदर्शनी र बिक्रीबाट उठेको रकमले नगरकोटमा एसोसिएसनको पहलमा निर्माण भैरहेको बिद्यालयलाई सहयोग गरिनेछ |
‘टेलीङ अ स्टोरी थ्रो वेस्टर्न नेपाल’ शीर्षक रहेको प्रदर्शनीमा हुम्ला,जुम्ला, मुगु,दार्चुला,बझाङ,डोल्पा क्षेत्रका १ सय उत्कृष्ट तस्बिरहरु राखिनेछन | सो अवसरमा नेपालको पश्चिम क्षेत्रलाई समेटर तयार गरिएको २ पुस्तक समेत बिमोचन गरिने जनाइएको छ |
फोटो पत्रकार छो बिगत २३ बर्षदेखि नेपालको लगातर यात्रामा रहेका छन् | उनले नेपालको करिब १ लाख तस्बिरहरु खिचेका छन् |