रेस्टुरेन्ट गफ


कथा/

सधैँ कुनै न कुनै अड्चन् । कोरियामा मानिसको जीवन व्यस्तताको पर्याय बनिसक्यो । यूजिनले गाली पनि गर्थिन् ‘धेरै काम नगर । तीन, चार वर्ष त हो कोरिया बस्ने तिमी । कहिलेकाहीँ कोरियाको सौन्दर्यपान पनि गर ।’ हुन पनि हो । कहिले फुर्सद नहुने । सायद यो देश यति छोटो समयमा विकसित हुनुमा यिनै बेफुर्सदिलो मानिसहरुको देन हुनसक्छ ।
यूजिनले कचकच गर्नुको अर्को कारण पनि थियो । तिनको नेपाली रेस्टुरेण्ट जाने रहर पुरा गर्न सकिरहेको थिईन । केटीहरु जुनै देशका भएपनि ल्याङ ल्याङ गर्ने बानी चाहिँ तिनीहरुको जीनमै भरिएर आउदो रहेछ । धन्न यिनी मेरो गर्लफ्रेन्ड होइनन् । गर्लफ्रेन्ड भएको भए झन् कति कचकच गर्दिहोलीन् ।
धेरै समय पश्चात यूजिनलाई नेपाली रेस्टुरेण्ट लाने मौका जुर्यो । अघिल्लो दिनै उनलाई सुवनको नेपाली रेष्टुरेन्टको लोकेशन काकाओ गर्दिएको थिए । साँझ चार बजे तिर आउ हैू भनेर बिहानै फोन पनि गरे । कोरियनहरु समयको पक्का हुन्छन् । त्यहि सोचेर चार बजेतिर म सुवन स्थित नेपाली रेष्टुरेन्ट पुगेँ ।
तर एकछिन् पछि यूजिनले मेसेज गरिन् ‘केही ढिला हुन्छ, नरिसाउ है,  म बाटोमा छु ।’
रेष्टुरेन्ट भित्र पसिसकेकाले, पस्ने बितिक्कै निस्कन अप्ठ्यारो लाग्यो । आइतवार विदाको दिन भएर होला, नेपाली अनुहारहरुले रेष्टुरेन्ट खचाखच थियो । सानो भोल्युममा ‘के साच्चै तिमी रिसाकै हौ त, के साच्चै मन दुखाकै है त’ बोलको गीत बज्दै थियो । कुनाको एक छेउमा एउटा टेवल खाली थियो । त्यहि गएर टेवल रिजर्व गरे ।
रेष्टुरेन्टको दिदीलाई एक कप हट लेमन मगाएर एक नजर रेष्टुरेन्ट भरि दौडाए । रेष्टुरेन्टका भित्ताहरु नेपाल झल्किने आकृतिहरुले बेहुलि झैँ सिँगारिएको थियो । मेरो ठिक अगाडी सगरमाथाको चुचुरो । अर्को पटि ध्यान मग्न बुद्ध, त्यसैको छेउमा स्वयम्भु र अलिक तलतिर दरबार स्क्वायर । ओहो ! रेष्टुरेन्टको सजावट देख्दा लाग्थ्यो रेष्टुरेण्ट भित्रै नेपाल अटाएको छ ।
त्यो रेष्टुरेण्ट भित्र नेपाल झल्काउने अर्को गहना थियो,  नेपाली दाजुभाइहरु । विभिन्न भिसामा कोरियामा रहनु भएका नेपालीहरु विदाको दिन नेपाली रेष्टुरेन्टमा जम्नुको मज्जा नै बेग्लै हुने । अझ रोजगारी भिसामा आउनु भएका नेपालीहरुका लागि लाग्थ्यो नेपाली रेष्टुरेन्टहरु भेटघाटको जकंशन नै हो ।
यूजिन अझै आइपुगेकी थिईनन् । कपमा हट लेमन पनि रितिसकेकाले टेवल फोकटमा ओगटेर त्यसै बसिरहन मन लागेन । त्यहिभएर एक प्लेट भुटन अर्डर गरे।
अनि रेष्टुरेन्टमा रमाईरहनु भएका दाजुभाइहरुको गफतिर कान ठाडो बनाए ।
गफ नं १
‘ओई हिजोआज हुन्डीको रेट कति छ । तीन महिना भो एक सुका पैसा पठा’को छुईन । सुड्डोले घर ढलान गर्ने रे । पाँच लाख पठाई दिनु पर्ने । यो महिनाको तलब मलाई दे है ।’
अन्दाजी २४, २५ वर्षका देखिने चार युवाहरुको एक झुण्ड रहेको टेवलमा हुन्डी, तलव र नेपाल पैसा पठाउने बारे गफ हुदै थियो ।
सोजुको ग्लास रित्याउँदै अर्का एकजना युवकले गुनासो पोख्दै थिए, दिपकेले प्रत्येक महिना दुई लाख घर पठाउँछ । त्यसको बाउले पैसा पाउने बित्तिकै ‘दिपकेले यसपाली यति पैसा पठायो’ भनेर मेरो घरमा सुनाउछन् । अनि घरकाले मलाई ‘फलानोको छोरोले यति पठायो उति पठायो’  भनेर व्यङ्ग्य गर्छन् ।
दिपकले जतिसुकै पठाए पनि त्यसका बाउले मेरो घरमा चाँहि के खान सुनाउनु ? त्यसले पैसा पठाउँदा प्रत्येक पल्ट प्रेसर चाँहि मलाई पर्छ । आफ्नो झुर कम्पनी परेर न ओटी छ न त बोनस । घरकालाई के थाहा कोरियाको हरिबिजोग । सबैको भाग्यमा  राम्रो कम्पनी कहाँ हुन्छ र ?
गफ  नं २
उत्तरपटिको टेवलमा अलिक संवेदनशिल गफ हुदैरहेछ । साङगितिक भोल्युम केही बढेकाले उनिहरुको गफ राम्ररी त बुझ्न पाइन । तर बुझेका मध्ये केही अंश यहाँ प्रस्तुत गरेको छु ।
‘त्यसमा त कम्पनीकै गल्ति छ । पुरानो मेशिन नफेरेर त हो, उ त्यसमा च्यापिएर दुर्घटनामा पर्यो । र अस्ती सत्र दिनपछि अस्पतालमै उसको मृत्यु भयो । विचरा भुवन ! भर्खरै बिहे गरेर आएको थियो ।
‘कोही आत्माहत्या गर्छन् । कोही कम्पनीको लापारवाहिले मर्छन् । कोही दुर्घटनामा परेर मृत्यु अगाँल्छन् । कामदार भिसाको नीति परिवर्तन नहुन्जेल अझै कति नेपाली र अन्य विदेशीहरुको ज्यान जोखिममा पर्ने हो?
‘नेपालमा हामीलाई सबैले कोरियन लाहुरे देख्छन् । लाखौ कमा’को देखेर कसैले आइफोन, कसैले ल्यापटप त कसैले डिएसएलआर क्यामेराको डिमान्ड गर्छन् ।’
गफ  नं ३
प्लेटको  भुट्न पनि भ्याईसकेको थिए । यूजिन अझै आइपुगेकी थिईनन् । टेवल ओगटिराख्न अब के अर्डर गर्ने भनेर सोच्दै थिए । मेनु हेर्दै त्यहाँ गुन्जिरहेको  गफहरु पनि आफ्नो कानमा रेकर्ड गर्दै थिए । यतिकैमा एक समुह नेपालीहरु मेरो पछाडी रहेको टेवलमा आएर जम्न थाले । मैले एउटा म्याग्जु खाने निधो गरे अनि साधेको भट्मास पनि मगाए ।
पछाडीको टेवलको गफ सुन्दा तिनीहरु बिहेको ट्रिट खान आएका रहेछन् भन्ने सहजै अनुमान लाउन मलाई गाह्रो भएन ।
त्यस समुहका एकजना साथी नेपालबाट भर्खरै बिहे गरेर फर्केका रहेछन् । उसैको ट्रिटमा सबैजना चिकेन तन्दुरी र वियर घुट्क्याउदै नवदुलाहलाई उडाई रहेका थिए ।

‘सुहागरातमा के गरिस । सुना न ।’
‘विहे गरेको आठ दिनमै आउनु पर्दा पीडा भएन ?’
‘कसरी मन थामेर बस्छस,  बुढी नेपाल छाडेर ?’
अनि त्यस मध्ये समिर भन्नेको मुखबाट सुन्दै थिए, ‘तैले त बिहे गरिस यार । आफ्नो कैले जुर्ने हो, पत्तो छैन । एउटी थिई । त्यसलाई कोरियन ओभरकोट देखी सामसुङ आईप्याड सम्म चढाएँ । दुई तिन चोटी त पैसा पनि हुन्डी गर्देको थिए । हिजोआज चाहिँ इग्नोर गर्छे भन्या । अर्कै मुर्गा भेटिछे क्यारे ।’
अर्को व्यक्तिको कुण्ठा यस्तो थियो,  ‘साला ३२ नाघे यार । कोरियामै गाला चाउरिने भो । फिनिस सम्म कुर्दा त ३५ टेक्छु । ३५ नाघे पछि बिहे गर्ने केटी पाउनै गाह्रो । बिहे गर्ने खाले गर्लफ्रेन्ड पनि भएन । फेसबुकमा त ललिपप देखाउने र टाईमपास गर्ने थुप्रै छन् । रियालिटीमा त्यस्ती सगँ लाईफ चल्दैन । अल्लारेहरु भन्छन् नी ‘गर्लफ्रेन्ड होस तनले सुन्दर, लाईफफ्रेन्ड होस मनले सुन्दर ।’
गफ  नं ४
‘साग टिप्दाँ टिप्दाँ हात खुट्टा नै झन्डै कोरियन भोटेलाई बलि चढाइसकेको । काममा अल्छि गर्न थालेपछि बल्ल साहुले रिलिज लेटर दियो । नत्र नेपाल भाग्ने तम्तायारमा थिए । अब त एक महिना पनि हुन लाग्यो काम छाडेको । काम हुदाँ पनि तनाव, नहुदाँ पनि तनाव । तिमीहरुको बरु मोज छ । हामी एग्रिकल्चरमा आएकाहरुलाई बडो दुख छ ।’
एकजना त्यहाँ स्थित साथिको कुरा सुन्दा उ इलिग्गल बसिरहेको भेउ पाए । आफ्नै पीडा थियो उसको ‘डराई, डराई बसिराखेको छु म त । कुन दिन समातेर नेपाल फर्काईदिने हो थाहा छैन’ भन्दै थियो  ।
‘भाग्यमा छ भने यसपाली पनि भिषा लाग्ला । नत्र फर्किने बाहेक अर्को उपाय छैन । तीनजना लाई भिषै दिएन रे अस्ति । अब रिफ्युजीको बहाना गरेर बस्न पनि नपाइएला जस्तो छ । अर्को महिना सकिदै छ भिषा । एप्पलाई त गर्ने हो फेरी । हेरम, के हुन्छ ।’
‘हाई ! सरी फर लेट ।’ भन्दै यूजिन आइपुगिन् । मलाई कोरियन आउँदैन भन्ने थाहा भएर ऊ टुटेफुटेकै भए नी अङ्ग्रेजीमै म सगं बोल्थिन् ।
यूजिन आएपछि अरुको गफतिर त्यति ध्यान गएन । जाओस पनि कसरी । यूजिनको बाफिलो गफको रफ्तारले मेरो कान डम्म भईसकेको थियो । ऊ मेन्यु हेर्दै थिईन् । मेले रेस्टुरेन्टको दिदीलाई बोलाए । ऊनलाई के खाने भनेर सोधे । ‘तिमीले आफ्नो देशको स्वाद चखाउने हो । मलाई के थाहा नेपाली परिकार कुन स्वादिलो हुन्छ । तिमी आफैँ अर्डर गर’ भन्दै ऊ आफु पन्छिन् ।
साँझ भैसकेकाले डिनर नै खाने हेतुले मैले थाली सेट मगाए । अनि अरुको कुरो सुन्न छोडेर हामी आफैँ गफिन थाल्यौँ ।
ऊ नेपाल र नेपाली बारे चाख दिदै सोध्दै थिईन् । तर मेरो ध्यान उनको कुनै पनि कौतुहलतामा केन्द्रित थिएन । बरु ऊनैलाई कुर्ने क्रममा कानमा रेकर्डेड भएका नेपाली दाजुभाइहरुको गफ पुनः ईकोहो भैरेहेको थियो ।
उनिहरुको गफमा गम खादाँ कुनैमा मिठासपन थियो त कुनैमा निराशपन । सबै गफहरु सङ्ग्रहित गर्दा कोरियामा नेपालीहरुले केही पैसा कमाएता पनि सबैजसो सगँ कुनै न कुनै दुखद चित्र खुम्चिएर बसेको थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...