जलविद्युत कम्पनीको २ अर्बको सेयर २ महिनाभित्र जारी हुने
काठमाडौं- जलविद्युत लगानी तथा विकास कम्पनीले आउँदो २ महिनाभित्र २ अर्ब रुपैयाँको साधारण सेयर जारी गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएकाले कम्पनीले सेयर जारी गर्ने तयारी गरेको हो।
सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ। कम्पनी स्थापना हुँदा चुक्ता पुँजीको ५ प्रतिशत साधारण सेयर जारी गर्ने प्रावधान राखिएको थियो।
प्रतिकित्ता एक सय रुपैयाँ कायम गरी कम्पनीले २ करोड थान सेयर जारी गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले बताए। ‘वित्तीय बजारमा आएको साधारण सेयर अहिलेसम्मकै ठूलो संख्याको हुनेछ,’ उनले भने, ‘बिक्री प्रबन्धकमा यसअघि नै नागरिक लगानी कोष नियुक्त भइसकेको छ।’
यसैबीच, नागरिक लगानी कोषले सह–बिक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट र एनएमबी क्यापिटललाई नियुक्त गरेको एक विज्ञप्तिमार्फत जनाएको छ। कम्पनीले मंगलबार धितोपत्र बोर्डबाट दुई महिनाभित्र साधारण सेयर जारी गर्ने स्वीकृति पाएको हो।