NRNA कोरियाको आर्थिक प्रतिवेदन पारित नभए निर्वाचन नहुन पनि सक्छ

कोरियामा वुद्धि गुरुङ नेतृत्वको एन आर एन एको १० औँ राष्टृय अधिवेशन जुलाई २६ र २७ तारिख कोरियाको राजधानी सौलमा हुँदैछ। अधिवेशनको सम्पूर्ण तयारी भएको आयोजकले जनाएको छ।
एन आर एन ए कोरियाको १० औँ अधिवेशनका लागि प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन पास नभए निर्वाचन नहुने ‘निर्वाचन मण्डलका’ संयोजक लोचन चाम्लिङ राईले बताएका छन्। अहिलेको कार्यसमितिलाई विश्वास नगर्नु भएको हो? भन्ने प्रश्नमा ‘कार्यसमितीको विश्वास नभएको होइन निर्वाचनलाई विवाद रहित र संस्थाको आर्थिक पारदर्शिता हुनुपर्छ भनेर निर्वाचन मण्डललाई दिएको आर्थिक प्रतिवेदन पास हुनुपर्ने उनले बताए।
अघिल्ला केहि अधिवेशनहरुमा विभिन्न छनौट समिती बनाएर आर्थिक विवरण पारित गरिएतापनि त्यसले झन विवाद सिर्जना गरेको स्मरण गराउँदै “निर्वाचन मण्डललाई कागजको खोस्टा मात्र दिए पत्याउने वाला छैनौँ।” उनले थपे। यसैगरी पेस गरेको आर्थिक विवरण सहि हो होइन भनेर आफूहरुले बैंक अकाउन्ट समेत क्रस चेक गरिने उनले बताएका छन्। यो समग्र संस्थाकै हितको लागि र विश्वस्नियताको निम्ति रहेको विचार व्यक्त गरे।
उनले निर्वाचन एकदम सुरक्षित प्रणाली मार्फत हुने भएकोले निष्पक्ष नतिजा आउने विश्वास दिलाएका छन्। कोरियाको उच्च प्रविधि र प्राविधिक टोलीले गर्ने यस निर्वाचनको विवरण चुनावको दौरान कसैले पनि हेर्न नसकिने बताएका छन्। “निर्वाचन हुँदै गर्दा कुन उमेद्वार अघि को पछि छन भनेर हामी कसैलाई थाह हुँदैन र हेर्न पनि मिल्दैन।” उनले स्पष्ट पारे। साथै सदस्यता लिएकाहरुले निर्वाचनमा सहभागी हुन उनले अनुरोध गरेका छन्।
फोनिज कोरियासँगको फोन संवादमा गरेको सम्पादित अंश