मन दुखाउने दशै


कुरो त्यस्तै पचास सालतिरको हो । त्यसताका बुबा, आमा, दाइ हामी छ जना दिदी बहिनीकाे  परिवार थियौ । दाइ प्राय सिक्किम तिर कमानमा काम गर्न जानु हुन्थ्यो । एक दुई बर्षमा दशैको मौकामा औकातले भ्याए नभ्याएका सरसामान, लत्ताकपडा बोकेर घर आउनु हुन्थ्यो । हामी घरको मेलापात गर्थ्यौं । त्यस बाहेक छरछिमेकमा अर्मपर्म र खेतालापात गरेर पढाई खर्च जुटाउथ्यौं । बेलुका पढ्ने बत्तीको लागि अरु नसुतिन्जेल दाउरा बालेर अगेन छेउमै काम चल्थ्यो । त्यस पछी बहिनीहरु सुत्थे । म बाहिरको खाटमा एउटि बहिनीसंग सुत्थेँ । बाहिर सुत्दा डर लागे पनि पुर्णिमाकाे जुनकाे प्रकाशमा  किताब पढ्न पाइन्थ्यो । घरभित्र बुबा आमा र चार बहिनीहरु सुत्थे ।
दशैंको रौनक सुरु हुँदै थियो । त्याे साल दाइ कमानमा काम धेरै भएर मंसिरमा मात्रै घर आउने खबर लप्सीबोटे खिबेले अस्ति नै ल्याइसकेको थियो । ठुलाहरुको कुरा छाडेर घरमा साना बहिनीहरुलाई समेत दशैको लुगाफाटो किनिदिन सक्ने कुरै थिएन बुबाको । दशैका लागि भनेर खेतालाबाट ल्याएको दुइ तिन पाथी धान र घरैमा पालेको अधिया खसी थियो । दशैमा हामीलार्इ धौधौ थियो । अघिल्लो सालका स्कुलका लुगा धोएर ठिक ठाक पारिदिएकी थिएँ ।
दशैंको टीका अब चारदिन बाकी थियो । पञ्चमीको रात, सबै खाना खाएर सुत्यौं । राती कता कताबाट मान्छेको मसिनो आवाज आयो । खस्र्याक खुस्रुक आवाज नजिकै जस्तो सुनियो । खाटको भित्तामा बहिनी सुतेकी थिइ । बिस्तारै चिमोटेर उठाएँ । सिरक र बिछ्याउना बोकेर हामी बिस्तारै भित्र गएर बुवाको नजिक ओछ्यान लगाएर सुत्यौ । बुबाले किन डरायौ ठुलिकेटी भन्नू भो । बाहिर मान्छेको आवाज आयो भने मैले । एकचोटि राम्रोसंग धामी झाक्री गर्न लाउनु पर्छ, जंगलको छेउ जंगली भुतले दुख दिन थालो भन्दै बुबा गनगनाउनु भयो । हामी सुत्यौ । राती कतिखेर आमा पाइखाना जानू भएछ । पाइखानाबाट फर्केर मुख धुन जानू भो । पल्लो ओछ्यानबाट बुबाले, हैन त सुत्तिनस, बल्ल आधा रात भो । बौलाइस कि क्या हो ? मसिनो स्वरमा भन्नू भो । आमा चुपचाप आएर अगेना छेउको आफू सुतेको बिछ्याउना अलिकति म तिर सारेर त्यही बस्नु भो ।
अामाले झिटाझिटी तानेर आगो खोस्रीनै लाग्न्नु  भाे ।
‘हैन तँ सपना मै छस कि के हो हँ ? सुत् , बल्ल सवा दुई भो भनेको सुन्दिनस ?भाले बासेकै छैन ।’ बुबाले अलिक ठुलो सोरले भन्नू भो ।
‘निन्द्रा लागेन त के गर्नु ? माथ्ला गाउका मान्छे बेसि झर्दै छन् । उ माथी गानगुन बोल्दै छन् । बस्तुलाई कुडो बसालेर केटाकेटी नउठ्दै केरा लिएर आउनु परो म पनि । चमेराले बोटमै खाइ सक्यो होला ।’ आमाले सानै सोरमा भन्नू भो र आगो बाल्नु भो ।
एकछिन पछी बुबा उठेर पाइखाना जाँदा पालिघरको भित्तामा चिप्लेर लड्नु भएछ । फर्केर आउनु भयो ।
‘उज्यालो भकै छैन के दशा लागो हौ मलाई ?’ बुबा आमा खास खुस गरेको सुनिन्थ्यो ।
‘के मा चिप्लिनु भो ? म त अगि खोयामा रड्केर लडेछु ।’ के को दशा हुनु आमा भन्दै हुनुहुन्थ्यो । उज्यालो नहुदै डोकोमा बोरा हालेर आमा अलैंची बारितिर जानू भो । म उठेर घर लिपपोत गर्न तिर लागेँ । बहिनीहरु चौकामा भुइमा लगाएको ओछ्यानमा लस्करै सुतेका थिए । बिस्तारै उठ्न थाले । अलिक उज्यालो भयो । आमा केरा लिएर आउनु भयो । बुबाले बस्तु दोहेर ल्याउनु भयो । आगनको पल्लो छेउमा हाम्रो पालिघर थियो । माथिल्लो तलामा खोसेला पराल र खोया राखिएको थियो । भुइ तलामा सामान्य राखन धरन र ढिकि थियो । बहिनी उठेर आगन बढार्न लाग्दा अरु भाइ बहिनीलाई कराउन लागि । के भयो भनेर सोधपुछ गर्दा, बेलुका लुकामारी खेल्दा पालीबाट खोया खसेर भुइभरी भएको रहेछ । तर त्यो बारे भाइ बहिनी कोहि पनि हो भन्ने पक्षमा थिएनन् । बुबा बस्तुभाउलाई खोसेला निकाल्न पालितिर पस्नु भयो । ए हैन सबै खोताल खातल पारेको छ त । के जनावर कि तस्कर पसे जस्तो छ लु डर मर्दो भो । बुबा डोको त्यतै फालेर आत्तिदै निस्किनु भयो । तल्लाघरका दाइहरुलाई बोलाएर बाँस, डण्डिहरु बोकेर पालिको तलातिर पसे । हाइहुइ गरे घोच्घाच पारे । केटाकेटी जति डरले घर भित्र छिरे । हल्ल खल्ल सकियो सबै निस्के । एकाअर्कामा कुराकानी गर्न थाले ।
खासमा त्यहाँ हामीले खोया, खोसेला मात्रै हैन ठेकिका लागि उत्तम जातको दारको काठका ठुल्ठुला टुना राखेको थियो । हाम्रो घर मुन्तिर पुरेतको खेत थियो । पुरेतहरु माथिल्लो गाउँबाट धाएर खेतिपाति लागाउथे । त्यहा खेतको बिचमा ठुलो दारको रुख थियो । खेतीयोग्य जमिन रुखको सेप पर्यो भनेर त्यही असारमा रुख ढालेर महंगो मानिने काठका टुना हाम्रै पालिमा राखेका थिए । काठ राखेको बारे गाउँमा प्रायलाई थाहा थियो । त्यो रात चोरहरुले ती काठका टुना चोरेर लगेछन् । “हे भगवान ! के दशा आइलाग्यो दशैंको मुखमा । जा साइलछोरी, पुरेतलाई एकछिन तल झर्नु अरे अपर्झट छ रे भन् “, बुबाले बहिनीलाई काठधनीका तिर पठाउनु भयो । वरपर खबर गरियो । बिहान आठ नौं बजे गाउले र काठ धनी भेला भए । मामाका छोराहरू पनि आए । माथ्ला घर आइपुग्दै पुरेतले काठ हराएको खबर पाएछन् । परैबाट पुरेत हामीलाई शत्रु जस्तै हेर्दै आए ।
भेलाले पहिले बुबालाई कुरा राख्न लगायो । बुबाले भएका कुरा एकाएक राख्दै जानू भयो । बिच बिचमा पुरेत बम्किन्थे । बुबालाई नै दोषी देख्थे । आफै लुकाएर बहाना गर्छस् सम्म भन्न भ्याए । भेलाले फेरि पुरेतलाई कुरा राख्न लगायो । उनका अनुसार उनले भनेको काठको जरिवाना हामिले त्यही दिन भुक्तानी गर्नु पर्ने भयो । पुरेतको कुरा मध्यनजर गर्दै गाउँका प्रधानपञ्चले कुराको छिनोफानो गरिदिए । जस बमोजिम हामिले चारटा ठुला, दुइटा मझौला र दुइटा साना टुनाको रकम सातहजार तिर्नुपर्ने भयो । त्यो बेला त्यति धेरै रकम बुबाले दश बर्ष अघि बसाइँ हिड्नेबेला घर जग्गा बेच्दा देखेको मात्रै थियो । घर जग्गा बेचेको दस हजार, आमाका माखा मुन्द्रा बेचेको दुई हजार र मामा पर्नेसंग लिएको दुई हजार गरि चौध हजार सहित आफ्नो गाउँ छाडेर मावली गाउँमा दस बर्ष अघि बसाई सरेर आएका हाम्रो लागि त्यो रकम कमिलालाई खोइ के को पहिरो जस्तै थियो । भेलाले अन्तिम निर्णय गर्यो कि भएको जायजेथाबाट हामीले उक्त जरिवाना तिर्ने सर्त निस्कियो । अन्त्यमा बुबाले आमालाई भित्र लिएर जानू भयो र आएर हुन्छ हामी कबुल अनुसार तिर्न तयार छौ तर कुन कुन जिनिसले भरताल हुन्छ पञ्च ज्यु निर्णय गरिदिनु होला भन्नुभयो ।
पञ्चबाट निर्णय भए बमोजिम खुरुखुरु सबै कुरा झिक्दै दिन लाग्नु भयो । सुरुमा हल्दार बाजेको अधिया पालेको भैसिको सानो पाडो, दशैका लागि पालेको खसी र अन्त्यमा बुबाहरु छुटफुट दाजुभाइको अंशबण्डामा पाएको हजुरबाको चिनो स्वरुप राखिएको सिलौटे थाल ( कांसको गह्रौंगो थाल ) सहित दिएर तिरियो । त्यसपछि त्यो बर्षको बाली उठाउने काममा पनि हामिले जरिवाना स्वरूप नै सघाउन पर्ने भयो । जब त्यो थाल बुबाले पुरेतको हातमा राख्नु भयो, बुबाको अनुहार हेर्न लायक थिएन । ती सब लिएर कचहरी भेला सकियो । बैनिहरु खसी लिएर गएको देखेर रुन लागे । बुबा भित्र गएर अगेनाको अर्कोतिर फर्किनु भयो । धेरै बेर बोल्नु भएन । घरी घरी हात अनुहार तिर जान्थ्यो । सायद दशै र गरिबी बिचको दुरि नाप्दै हुनुहुन्थ्यो । र पुग्न नसकिने यात्रा सम्झेर आँखाबाट आउने पशिना पुछ्नु हुन्थ्यो । आमा नबोली खाना पस्किन लाग्नु भयो । पर्सिपल्ट छिमेकी मामा पर्नेकोमा खसी काट्ने दिन थियोे । बुबाले मलाई पुग्छ भने मासु लिएर आउ पछि खेताला सघाउने अरे भन भन्नु भयो ।
म पुग्दा खसी काटी सकेको रहेछ । आगन छेउ पुग्दै मामाले सोधिहाले, कताबाट आयौ भान्जी ? मैले भने, मामा मासु पुग्छ भने बिसाउली दिनु अरे, पछी खेताला सघाउने अरे । मामा बेस्सरी हासे । उनको हासोले मैले मासु माग्न गएको बिर्सिएर मेरै मासु बेचिरहेका महसुस गर्थे ।
गरिबीको चेपुवामा रहेका हामिलाई दशै मनाउन भन्दा पनि मनाइदिनु पर्ने थियो । हैसियतले त हाम्राे दैनिकी नै कष्टकर थियो ।
‘भान्जीलाई एउटो मासु पोलेर देओ’  मामाले हास्दै भने । एकछिनमा भित्रबाट माइजू आएर भनिन् । अलिकति टाउको छ लगेर उसिनेर झोल खानु , पछि धान काट्न एक खेतालो सघाउनु अरे भन्नू है आमालाई । मासु पाएर खुसीको सिमै रहेन । टपरीमा त्यो मासु बोकेर म घर आएर आमालाइ दिए । खोलेर हेर्दा टाउकोको काम नलाग्ने हड्डी र दातहरु रहेछन् । जुन कुकुरको लागि राखिएको रहेछ । त्यही पनि आमाले केके मिसाएर पकाउनु भएछ । मिठाे थियाे । टिकाको दिन हामी घरमा टीका उठाएर मामाघर गयौँ ।
महिना र बर्ष गर्दै आज त्यो घटनाले दुई दशकको फट्को मार्यो । यसरी बिगतको त्यो दशैं हरेक बर्षको दशैं अघिको पारिलो घामसंगै मलाई मीठो स्पर्श गर्न आइपुग्छ । नवरात्री देखि नै त्यहि पुरानो दशैं मंगलको कामनासंगै पाहुना बनेर आउँछ । त्यस पछिका हरेक सुख दुखका दशैंहरु आफ्नो परिस्थिति र क्षमतासंग तालमेल मिलाएर मनाउन जान्ने भए जस्तै लाग्छ । समयले मलाई परिपक्वता दशैंको शुभकामना स्वरूप दिए जस्तो लाग्छ । आफ्ना रीतिरिवाज, कला संस्कृति र चाडवाड बचाउने, मनाउने क्रममा तडक भडक र देखासिकी गर्नुको सट्टा आफ्नो गच्छे अनुसार मनाउदा राम्रो हुन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गायिका इन्द्रेनी लोप्चनको तामाङ सेलो ‘बर्कोमा लुक्ने मैच्याङ’ सर्वाजनिक
  • गायक जिबन बोम्जनको ‘बुँईकले झ्यालैमा’ सार्वजनिक
  • गायिका इन्द्रेनी लोप्चनको म्युजिक भिडियो ‘होई आपा होई आमा’ सार्वजनिक 
  • कवि शकुन आँसुले दोङ्देमून शहर साहित्यमय बनाइन्।
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...