हरितालीका तीजको बारेमा दुई शब्द
झक थापा मगर
हरेक वर्ष आउने नेपाली महिलाहरुको पर्व हरितालीका तीज हाम्रो घर आगनमा आउंदैछ। सर्बप्रथम देश विदेशमा रहनुहुने सम्पुर्ण दिदीबहिनी हरुलाई मेरो तर्फबाट हरितालीका तीजको हार्दिक मंगलमय शुभकामना दिन चहान्छु ।
खास गरेर तीजमा नेपाली महिला हरुले आफ्नो पतिको दिर्घायु र अटल सौभाग्यको एवम सुखद दाम्पत्य जिवनको कामना गर्दै निराहार रहि शिव पार्वतीको पूजा गर्ने र माईत गएर बाबु आमा दाजुभाईलाई भेटेर दर खांदै खुशियाली मनाउने प्रचलन रहेपनि मैले बुझेको र देखेको तीज चांहि पहिला पहिला “मारे पाप पाले पुण्य” भनेर सानैमा छोरीलाई अर्काको घरमा पराई बनाउंदै पठाए पछि दिन रात कामको पेलिएका, सासु ससुराको खटाई खाएका महिलाहरु माईत आउन, मिठो खान तीज नै कुर्नु पर्ने अवस्था हुन्थ्यो र एक दिन भएपनि काम धन्दा मेलापात बाट छुट्टी लिएर माईत जाने र माईतीमा आमाले पकाएको मिठो खाने, पेट भरि खाने सपना बोक्ने गरिन्थ्यो ।
अहिले पनि कैयौं महिलाहरुको स्थिति त्यस्तै छ तीजमा माईती लिन आउलान भनेर बाटो कुरेर बस्ने र नआए धुरुधुरु रोएर बस्ने र त्यो बास्तविकतालाई गितमा आफ्नो भावना प्रकट गर्ने चलन थियो। आज भोली महिला हरु जहा भएपनि तीजलाई भव्य रुपमा मनाउंदै आईरहेको छन् (कोरियामा पनि वुमन फर वुमनको आयोजनामा ६ सेप्टेम्वरमा सउलमा मनाए) र मनाउनु पनि पर्छ तर दुखको कुरा अहिले आएर नेपाली महिलाहरु बढी सक्षम वा शिक्षित भएर हो कि तीजको गीतहरु हामीले सुन्दा रत्यौलीमा गएर गीत सुनिरहेका छौं जस्तो लाग्छ। उदहारणको लागि हामीले पहिला पहिला तीजमा सुनिने गित हरु यस्ता हुन्थे |
घरमा सासु आमाले हेला गरि कराउने
मेला पात घरको काम आफै गर्छु छैन सघाउने
बरिलै छैन सघाउने
आफू भन्दा सानो भाईलाई कापी कलम किन्दिने
म छोरीलाई घांस काट्ने डोको बुन्दिने
बरिलै डोको बुन्दिने
तीजमा माईत जांदा अघी अघी हिंडौंला
कन्या जोवान फर्की आए पैसा हाली किनौंला
बरिलै पैसा हाली किनौंला
सुन्दा अति सरल लाग्ने शब्दहरुले हाम्रो मन छुन्थ्यो र गीतमा आफूले भोगेका व्याथा पिडाहरुका भावना बोकेको हुन्थ्यो तर अहिले बजारमा आएका तीजको गीत सुन्दा सांच्चै हामीले तिजको गीत होईन रत्यौलीको गीत सुनिरहेका छौं जस्तो लाग्छ एक चर्चित उद्घोषिका, समाचारवाचिका तथा लोक गायिका को गितलाई हेरौं त!
तीजको ब्रत बसे पूजा गरे भगवान
आशा गर्छु अब त बनोस मेरो काम
संधै भरि माईती घर बस्न मलाई मन छैन
अहिलेको सालैमा पोईला जान पाम
शिब अहिलेको सालैमा पोईला जान पाम
त्यस्तै गरेर गायक प्रकाश कटुवाल र श्रीदेवी देवकोटाले पोहोर(२०७१) सालको तीजको अवसर पारेर निकालेको गीत “हाई लाली जोबान छोपेन जामाले, नक्कली भई नभन आमाले” “यो तीजमा रातो सारीलाई, मेरो त पिठ्युँमा बेसरी चिलायो, बैंस पो चढ्यो कि जुम्रा पो प-यो कि,.. ऐ है कन्याई देऊ न वाई……” र प्रकाश कटुवाल र श्रीदेवी देवकोटाले नै हालै तीजको मौका पारेर बजारमा ल्याएको ज्योति मगरले मोडलिङ गरेकी ढाडे बिरालो नामक गीत हेर्नु भयो भने त हामीलाई यस्तो गीत पनि तीजको गीत हो र भनेर शंकै लागरे आंउछ (हुन त मोडलिङ्ग गरेकी ज्योति मगरले एक अन्तरबार्तामा हाल सम्म १०लाखले युट्युबमा हेरिसकेकोले विरोध गर्नुको कुनै अर्थ छैन भनेर बोलेकी छिन् , के धेरैले हे-यो भन्दैमा राम्रो भएर नै हेरेको होलान् त ) जुन यस प्रकारको छ :-
जामा लगाउंदा छोंटो भयो सारी लाउंदा सुहाएन
उखरमाउलो बैंश छोप्ने चिजै भएन
जवानीले पा-यो नि पिरलो
तिज आएनि पिरलो नआएनि पिरलो
चोरी खान पल्केको ढाडे बिरालो
यो गर्दा नि पिरलो त्यो गर्दा नि पिरलो
चोरी खान पल्केको ढाडे बिरालो
अझै यो गीत सुरु हुनु भन्दा अगाडी हास्य कलाकारहरुले ज्योति मगरलाई हेर्दै …यो केटीको क्या राम्रो पिंडौला… म त हेरेको हेरेई भएं भनेको र गीतको विचमा ज्योति मगरले मिनी स्कर्ट सार्दै “ कि रेखाको चल्छ कि देखाको चल्छ” भन्दै बोलेको सम्वादले त हामी नेपालीहरु कति आधुनिक भएछौं जस्तो अनुभव हुन्छ।
मैले कसैको गीतको वा मोडलिङ्गको विरोध गरेको होईन। सबैलाई कानून, विधी परम्परा रिति रिवाज धर्म संस्कृतिलाई खलल र असर नपर्ने गरि काम गर्न छुट त छंदैछ तर मलाई के लाग्छ भने तीजको गीत भनेको तीजमा गाईने गीत जस्तो हुनुप-यो, सामाजिक र सांस्कृतिक पक्ष बुझेर गाउनु प-यो र महिलाको भावना प्रकट गर्ने हुनु प-यो भन्ने हो। अझै पहिल्यै देखि चलि आएको प्रचलनलाई हेर्ने र बुझ्ने हो भने तीजको बेलामा गाईने गीतहरुले महिलाहरुले मात्र आ-आफ्नो मर्का चहाना, भावना र मनोदशालाई प्रकट गर्ने हो। तर अहिलेको तीजको गीतहरुमा पुरुषको स्वरलाई र नृत्यलाई समेत अपरिहार्य बनाईएको छ।
जे होस आउने दिन हरुमा नेपाली महिलाहरुले यस बारेमा सचेत हुन जरुरी छ। तीजलाई हामीले सुखद दाम्पत्य जीवनको कुरा मात्र नगरि महिला अधिकारका कुरा, महिला सुख दुखका कुरा गर्ने अवसरको रुपमा लिएर तीजको नाममा हुने विकृतिलाई हटाउंदै परम्परा देखि चलिआएको चलनलाई पनि बचाउंदै तीज पर्व मनाउन जरुरी छ ।