उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने

नेपाली सम्पर्क समिति दक्षिण कोरियाले उल्सानका ३ अस्पताल सँग सम्झौता गरेको छ। दुइ पक्षबीच स्वास्थ्य उपचार सेवामा सम्झौता भएको हो। वूवा मेडिकल फाउण्डेसनद्वारा सञ्चालित उल्सानमा अवस्थित 반구동길 메리요양 병원, 달동길 메리 재활용양 병원 र 전병찬 신경외과의원 हस्पिटलका निर्देशक र एनसीसी अध्यक्ष हरी प्रसाद खनालले सम्झौता (MOU) पत्रमा हस्ताक्षर गरेका छन्।
यस सम्झौताबाट उल्सान, बुसान क्षेत्रमा रहेका नेपालीहरुले सहुलियत दरमा गुण स्तरिय स्वास्थ सेवा लिन सक्नेछन्। ति हस्पिटलहरुबाट विभिन्न प्रकारका स्वास्थ्य सेवा प्रदान गरिन्छ। फिजियो थेरापी देखि न्युरो सर्जन एम आर आई सम्मको सेवा नेपालीले लिन पाउने छन्। विशेषगरी ढाडको समस्या हुने हाडजोर्नी अपरेसन गरेर पनि निको नभएकाहरुका लागि विभिन्न किसिमका फिजियोथेरापीहरु उपलब्ध रहेका छन्।
लामो समयदेखि दाल्दोङ खिलमेरी हस्पिटलमा कार्यरत नेपाली डाक्टर राजेश चन्द्र जोशिको समन्वयमा उक्त सम्झौता भएको हो। उनी एनसीसी स्वास्थ्य परामर्श विभागका प्रमुख सल्लाहकार पनि हुन्। डा . जोशीले लामो समयदेखि निःशुल्क रुपमा नेपालीहरूलाई अनलाइन स्वास्थ्य परामर्श पनि दिँदै आएका छन्। सो सम्झौताका लागि एमसीसीको तर्फबाट अध्यक्ष हरिप्रसाद खनाल र उपाध्यक्ष हर्क बिष्ट उपस्थित भएका थिए।
हाल कोरियामा नेपालीको संख्या बढे सँगै विभिन्न रोगले पीडित बिरामीको संख्यापनि बढ्दै गएको छ। महँगो उपचार खर्च धान्न नसकेर यहाँका संस्थाहरुले नेपाली समुदायमा आर्थिक संकलन गरेर बिरामीको उपचारमा सहयोग गर्ने गरेका छन्। अब त्यस्ता जटिल रोगहरु लागेमा सम्झौता भएका हस्पिटलमा गएर सस्तोमा उपचार गर्न सकिने हुँदा बिरामीलाई राहत मिल्ने अध्यक्ष खनालले विश्वास लिएका छन। अस्पताल गएर एनसीसी मार्फत आएको जानकारी गराए नेपालीले सहुलितयमा सजिलै स्वास्थ उपचार सेवा पाउने उनले थपे।
कोरियामा रहेको सक्रिय संस्था एनसीसीले विभिन्न सामाजिक गतिविधिहरु गर्दै आइरहेकोमा यो एक सह्रानिय काम गरेर कोरियामा नेपालीको बसाईलाई सुखद बनाउन मद्दत मिल्ने देखिन्छ।