ढाकाटोपीले सुहाउँदैन थेबा
ढाकरमा दासत्वको भारी
बोकेर थेप्चिएको
तिम्रो थाप्लोमा
ढाका टोपीले सुहाउँदैन थेबा
ढाकाटोपी अडिदैन थेबा ।
तिमी जबर्जस्ती ढाकाटोपी लगाउ
चाहे देखासिकिमा अड्याउ
अंहँ! तिम्रो ढलेको आत्मास्वाभिमान उठ्नेछैन थेबा ढाकाटोपीले
बरु सट्टामा पराधिनताको
परजीवि लिखा अनि जुम्रा फुल्नेछ
तिम्रो गुराँस फुल्ने शीरमा,
खाँडी र बख्खुले सजिदै
डम्फु र सेलो गाउँदै
स्वतन्त्र डाँफे चरीझै नाचिरहने
तिम्रा शैलुङ माबरहरु
दिनदहाडै भालेश्वर र कालेश्वरको
नाममा बलात्कृत भैरहँदा
तिमी टुलुटुलु हेरिरहन्छौ भने
दौरा सुरुवाल ढाकाटोपीमा ठाँटिएर
तिम्रो लाज ढाकिदैन थेबा ।
बरु तिम्रो म्हेमेले नबेचेको इमान
मामको घलेकले बेरेर
बचाएको अस्मिता बेचिनेछ
युगौ देखि बिझेको
सामन्ति खिलले झनै बिझाउनेछ
शैलुङ्गे सुनापाती धुपीको
बासलाई कथित राष्ट्रवादको
घातक पर्फ्युमले विषाक्त पार्नेछ।।
*थेवा (जेठा)
म्हेमे (बाजे)
माम् (बज्यै)