मर्सबाट थप ३ को मृत्यु, १७ जना उपचारपछि घर फर्किए
ऐश्वर्य श्रेष्ठ
सोल- दक्षिण कोरियामा पछिल्लो समय महामारी रुपमा फैलिदैं गएको मर्सबाट थप ३ जनाको मृत्यु भएको छ ।मंगलबार ३ जनाको मृत्यु भएसंगैं मर्सबाट मर्नेको संख्या हालसम्म १९ पुगेको छ । मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम भाइरस नयां ४ जनामा पाइएको समेत कोरियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मर्सबाट संक्रमित १ सय ५४ जना पुगेको छ ।
स्वास्थ्य तथा कल्याण मन्त्रालयले बताए अनुसार हालसम्म धेरैंजसो बृद्धहरुको मृत्यु भएकोमा एक ४९ बर्षीय युवाको मृत्यु सबै भन्दा कान्छो भएको बताएको छ । सोलस्थित सबभन्दा ठुलो अस्पताल सामसुंङ मेडिकल सेन्टरले मात्र मर्स बिरामीको उपचार गरीरहेका छन् । सोलमै रहेको बोरामी मेडिकल सेन्टर, कोरिया क्यान्सर अस्पतालले भने आफनो ईमरजेन्सी सेवा बन्द गरेका छन् ।
१सय ५४ जना मर्स बिरामीमध्ये १७ जना उपचारपछि घर फर्किएको स्वास्थ्य मन्त्रालयले दाबी जनाएको छ । त्यस्तै ५ हजार ५ सय ८० लाई भने मर्सको आशंकामा छुट्टैं राखिएको छ । ३० जना विदेशी नागरिकमा मर्सको आशंका गरिएको स्वास्थ्य अधिकारीले बताए ।
हालसम्म यो रोगको उपचार पत्ता नलागेको मर्सको भाइरस सन २०१२ मा साउदी अरबमा देखा परेको थियो ।