कल्पनाको समुन्द्र
यस्तो दिन पनि आयो । सधै देख्ने निलो आकाशमा छु । कहिल्यै नदेखेको निलो समुन्द्र तल छ । सक्ने सम्म आँखा घुमाएर हेरेँ । टाढा टाढा पुक्क पुक्क परेका सेता बादल छन् । कस्तो मज्जाको । कुनै पहाडको गाउँ जस्तो । कतै बाक्लो कतै पातलो । बादल आफ्नै धुनमा थोरै यताउता सरे जस्तो गर्छ । चढेको प्लेन भने एकै ठाउँ बसे जस्तो । निलो समुन्द्रमा केही टलक्क टल्केर यता उता जान्छन् । जहाज होला । किताबी ज्ञानले भन्छ ।
स्कुल तिर कक्षामा भुगोल पढाउने सर सम्झिएँ ।
ती सर आफ्नै तालका थिए । जे कुरामा पनि आफ्नै ‘लोजिक’ । हामी सरका कुरा केही बुझ्थ्यौ केही बुझ्दैथ्यौ । ती सरलाई देखेर लाग्थ्यो कि त धेरै जान्ने हुन कि गफाडी ।
‘आज हाम्रो पढाई पृथ्वीमा भएको पानीको बारेमा पढौ ।’
बुढाले किताबको लाईन सुरु गरे । पानीको महत्व । पानीका प्रयोग । हुँदा हुँदा बुढाले त पृथ्वीमा दुई भाग पानी एक भाग जमिन पो भने । गफाडी सरले गफ दियो । कताबाट दिमागमा त्यस्तो पर्यौ ।
‘सर त्यत्रो पानी कता छ ?’
‘समुन्द्रमा ।’
पानी नै पानी भए पछि समुन्द्र बन्ने हो । समुन्द्र धेरै लामो लामो हुन्छ ।
सरको कुरा आफुलाई पत्याउन मनै छैन । त्यसरी दुई भाग पानी हुँदो हो त हाम्रो बारीमा फल्ने आलुका लागि कहाँ कहाँबाट कुलो खनेर ल्याउनु पर्दैनथ्यो । पानीकै लागि मान्छेहरु तेरो पालो र मेरो पालो भनेर भन्नु पर्दैनथ्यो ।
हाम्रो गाउँमा फल्ने भनेकै आलु । बैसाखको बेलामा पानी परेन भने गाउँका सबै मिलेर कुलो खन्न जानु पर्छ । गाउँ देखि झन्डै एक घन्टाको बाटो । एक घर एक जना । गएन भने कडा नियम छ । दुई सय रुपैया तिर्नु पर्ने । घरबाट जो गए नि हुने । मान्छे चाहियो ।
एक पटक बा काम विशेषले काठमाडौ गाकाथे । आमा भरखर भैसीले पाडी पाकोले त्यस्कै स्याहारसुसारमा लाग्नु पर्ने भो । दाइ खै कता पो गाकाथे । म स्कुले । आमाले अडर गरिन ‘आज स्कुल नजा ।’
‘किन ? जान्छु ।’
‘लौरो खान्छस् ।’
‘खाए खान्छु । म त स्कुल जान्छु ।’
‘कुरा बुझिनस आज सबै गाउँका कुलो खन्न जान्छन् । तँ पनि जानु पर्छ ।’
‘हुन्न । म स्कुल जान्छु ।’
चडम्म । गालामा आमाका हातका छाप बसे । मैले दिउँसै तारा देखेँ । ‘भनेको मान्दैनस् ।’ नमान्नुको बिकल्प थिएन । थप्पड खाए पछि भात खाइयो ।
‘यो दिउँसो खानु ।’
‘के हो ?’
‘गहुँको रोटी । थोरै गुन्दु्रक छ साँधेको । पल्लो घरको दाइसँगै जानु ।’
घर भरिको सबै भन्दा सानो कोदालो बोकेर पल्लाघरे दाइसँगै गइयो कुला खन्न ।
पानीको मुहानमा गाउँ भरिका मान्छे जम्मा भए । को को आए भनेर नाम टिप्न थालियो । फलानो घरको को ? म ।
फलानो घरको को ? म ।
‘बमबहादुरको घरबाट को ?’
‘म ।’
‘को म ?’
‘बमबहादुरको छोरा ।’ नाम सोध्नेले खाउँला झै हेर्यो ।
‘कोदालो बोक्न नसक्ने मान्छे कुलो खन्न आउने । सक्छस् ?’
‘सक्दिन । आमाले थप्पड हानेर पठाको । मलाई स्कुल जानुथ्यो ।’ मनमा यस्तै कुरा खेले पनि मुखबाट फ्याट निस्कियौ । ‘सक्छु ।’
मलाई लिएर गएका दाइले थपे । ‘मान्छे अलि गान्टे मात्रै हो । सक्छ । खन्छ मज्जाले ।’
म १३ बर्षको थिएँ होला । आफु उमेरका साथी भन्दा होचो । पल्लाघरे दाइले मैले कोदालो खनेको देखेकै थिएनन् । यही होला ‘गाँस छोड्नु साथ नछोड्नु ।’
मैले खनेको कुलोमा पानी आयो । गाउँका मान्छेले पालो पालो गरि आलुमा पानी लाए । त्यति महत्वको पानी सर भने जताततै छ भन्छ । इस् सरको कुरा ।
सरले अझ थपे । समुन्द्रमा पानी जहाज चल्छ । त्यो एक ठाउँबाट अर्को ठाउँमा पुग्न महिनौ लाग्छ । मान्छेहरु जहाज चढेर आउने जाने गर्छन् । सरसमान ओसारपसार गर्न पनि यसको प्रयोग हुन्छ ।
यस्ता कुरा सुने पछि समुन्द्रका कुरा झन पत्याउन मन लागेन । हाम्रो तिर समान बोक्ने भनेको बडेमानको ट्रक हो । त्यसलाई गुड्न सडक चाहिन्छ । सलक्क परेको । सम्मो । नत्र बर्षाको बेला हाम्रो तिर गुड्दैन । बाटोमा पानी नै पानी हुन्छ । त्यस्ता ट्रक आए ठाउँका ठाउँ अड्किन्छन् ।
समुन्द्रमा पानी हुन्छ । पानीमा ट्रक गुड्ने जस्तो बाटो कसरी बनाउनु ? बनाए पनि पानी माथि कसरी अड्नु ? हाम्रो खोलाको पानीमा जे खस्यो त्यो डुब्छ । त्यत्रो समुद्र छ भने पानीजहाज डुब्दैन ? कसरी पानीमा हिड्छ ? हाम्रो तिरको ट्रक मन लागेको ठाउँमा रोकिन्छ । भोक लागे खान्छ । रेस्ट गर्छ । दिसा पिसाब फेर्छ । हाइ यो पानी जहाज कहाँ रोकिनु कहाँ दिसा गर्नु कता पिसाब फेर्नु ? पानी मै ?
हुँदै हुदैन । हामीले सधै सुनेको पानीमा फोहोर नगर्नु । नाग रिसाउँछ । फोहोर गर्नैको खति हुन्छ । पानीजहाजका मान्छेले समुन्द्रको पानीमा फोहोर गरे । नाग रिसाउनु पर्ने हो । पानीजहाजका मान्छेको क्षति हुन पर्ने हो । सर पढाउँदै जान्छन् आफ्नो दिमागमा पटक्कै समुन्द्रको आकार घुस्दैन ।
लेडिज एन्ड जेन्टलम्यान । प्लेन बस्नै लागेको जानकारी दिन एयरहोस्टेजले एनाउन्स गर्न पो लागेछ । हैट समुन्द्र हेर्दा हेर्दै पो निदाएछु ।