ईपीएसबाट कोरिया आएका नेपालीहरुलाई क्यासिनो लत लाग्दै
सोल–दक्षिण कोरियाको छङ्ग्जु–बोउन स्थित ‘देग्वाङ्गछुछल’ फलाम कम्पनीमा कार्यरत स्याङ्ग्जाका हेमन गुरुङ्ग (नाम परिवर्तन)लाई गएको जनवरी महिनामा कम्पनीले अर्को कम्पनी जाउ भनेर कम्पनीबाट निकालिदिए ।
कारण थियो कम्पनीमा खबर नै नगरी उनी हप्तौंसम्म बाहिर बसिदिन्थे । गुरुङ्ग्ले पटक पटक सोही व्यवहार दोहो¥याएपछि उनलाई बाध्य भएर कम्पनीले जम्मा १ वर्ष भिसा अवधी बाँकी हुँदा निकालिदिएको सँगै कार्यरत साथीले जानकारी दिए ।
उनको अनुसार गुरुङ्ग्लाई सिउल जाने र क्यासिनो छिर्ने लत बसेको थियो । कम्पनीकै साथीहरुको भनाई अनुसार क्यासिनोमा भेटिएका भियत्नामी र मंगोलियन केटी साथीहरुले समेत गुरुङ्ग्लाई छुट्टी हुनासाथ फोन गरेर क्यासीनो बोलाउँथे ।
क्यासीनो लत लागेपछि गुरुङ्गले पैसा र समय क्यासीनो तथा त्यहाँ भेटिएका केटीहरुलाई दिन थालेपछि कम्पनीमा काम छुटाउने गरेका थिए ।
गुरुङ्ग् सन २०१२ मे १९ तारिक रोजगार अनुमति प्रणाली (भ्mउयिथmभलत एभचmष्थ क्थकतझ) द्धारा दक्षिण कोरिया आएका थिए ।
गुरुङ्ग्सँगै सोही कम्पनीमै आएका धरानका राम कुमार राई (नाम परिवर्तन)ले झण्डै अढाई वर्ष काम गरेर कम्पनी छोडेका थिए । उनी पनि क्यासिनो लत बसेपछि कम्पनी छोडेको सोही कम्पनीमा कार्यरत साथीहरुको भनाई छ । राईले क्यासिनोमा एकैदिन झण्डै डेढ करोड कारियन वन (झण्डै नेपाली १५ लाख) सकाएका थिए । उनलाई कोरियामै कार्यरत पुराना साथीहरुले क्यासिनोसम्म पु¥याएर खेल्न सिकाएको बताईन्छ । अहिले उनी भिसामा छन या अबैधानिक भैसके साथीहरुलाई खबर छैन । उनीहरु साथीहरुको सम्पर्कमा समेत छैनन् ।
झण्डै ३ वर्ष अगाडी ईपीएस मार्फत कोरिया आई फ्याङ्ग्जममा फलाम कम्पनीमा कार्यरत काभ्रेका बीरज पाठक (नाम परिवर्तन)ले गएको अक्टुबरमा अर्काे कम्पनी मुड चलेपछि काम गरिरहेको कम्पनी छोडे । र देरिम स्थित एक चर्चमा सेल्टर बसे । काम छोडेर सेल्टर बसेको फुर्सदको बेला उनी पनि सिउल स्थित ‘सेभेन स्टार लक’ नाम गरेको क्यासिनोमा छिर्न भ्याए । त्यो समय उनले काम खोज्नका लागि भन्दै ७० लाख कोरियन वन (करिब नेपाली साढे ६ लाख) राखेका थिए । त्यसमध्य झण्डै ६५ लाख वन उनले एक दिनभरिमा क्यासिनोमा तास खेलेर सकाए ।
उनीसँगै क्यासीनो पुगेका कास्कीका मिलन अधिकारीले भने १ घण्टामा ४ लाख वन (झण्डै नेपाली ४० हजार) हारेपछि खेल्न छोडिदिए । अधिकारीका अनुसार सिउल रेल स्टेशन नजिकै रहेको सेभेन स्टार लक क्यासिनोमा सुरुमा पुग्ने ग्रहाकलाई १० हजार वन (नेपाली १ हजार रुपैयाँ) एडभान्स मनि र एउटा सदस्यता कार्ड उपलब्ध गराईदो रहेछ । ‘म एक घण्टा खेलेँ, घण्टामै मेरो ४ लाख वन सकिएपछि मैले यो गतिलो चिज होइनरहेछ भनेर जानै छोडिदिएँ ।’ अधिकारीको भनाई थियो ।
उल्लेखित घटना र पात्रहरु हामीसँग भेटिएका र सम्पर्कमा आएका प्रतिनीधि घटना र पात्रहरु मात्रै हुन् । यसरी क्यासिनो लतले भिसा नै छोडेर अबैधानिक बस्ने, घर परिवारको सम्पर्क भन्दा बाहिर रहने, साथी भाईसँग सापटी पैसा लिएर सम्पर्क बिहीन हुने लगायतका घटना समेत घटने गरेको जानकारहरु बताउँछन ।
कोरियाको सुवन स्थित स्वयम्भु रेष्टुरेण्टका सञ्चालक बुद्धि गुरुङ्गले क्यासीनोमा १० करोड वन (करिब नेपाली १ करोेड) सम्म हारेको नेपालीहरु रहेको बताउँछन् । ‘क्यासीनोमा गएर हामीले जित्ने सम्भावना एकदम कम हुन्छ । यो लतले हामी कमाउन आएकाहरुलाई घर न घाटको बनाईदिन्छ गुरुङ्ग्ले आफुले पनि क्यासीनोको अनुभव गरेको सुनाए ।
कोरियाका लागि नेपाली श्रम सहचारी अनिल गुरुङ्ग्ले भने एका दुई त्यस्ता घटना सुनिए पनि क्यासीनो लत लागेका नेपालीहरुसँग अहिलेसम्म भेट नभएको बताए । गुरुङ्ग् भन्छन, ‘कता कति कुरा गरेको सुनेको छुु तर मैले सल्लाह सुझाव दिनुपर्ने गरी त्यस्तो निवेदन आएको छैन र त्यस्तो भएको भए हामी जोकोहीले क्यासीनो जान हुँदैन भनि सम्झाउनुपर्छ ।’
बिशेषगरी कोरियामा अबैधानिक हुण्डीका कारोबार गर्नेहरु पनि क्यासीनो जाने गरेको बताईन्छ । कोरियामै भिजिसकेका र पुराना साथी भाईहरुले नै नयाँहरुलाई क्यासीनो पु¥याउने गरेको बताईन्छ ।
कोरियन सरकारले आफ्ना नागरिकलाई खुल्ला रुपमा क्यासिनो जान बन्देज लगाएको भए पनि कोरियामा बिदेशीकै लागि ठूला ठूला क्यासिनोहरु सञ्चालनमा ल्याईएका छन् । तीनै क्यासिनोहरुमा कामदारको रुपमा कोरिया आएका नेपालीहरु समेत जाने र पैसा र कमाउने समय बर्बाद गर्ने क्रम बढिरहेको छ ।