कोरियाली मजदूर हड्तालमा ४ लाख सहभागी
फोनिज कोरिया संवाददाता
दक्षिण कोरियाली मजदुर संगठन कोरियन कन्फेडेरेसन अफ ट्रेड युनियन (केसीटीयू) ले शुक्रबार गरेको आमहडतालमा ४ लाख मजदूरले सहभागीता जनाएका छन् |
सरकारले ल्याउन लागेको नयाँ श्रम नीतिको विरोध गर्दै आह्वान गरिएको हडतालको पहिलो दिन कोरियाको १४ शहरमा २ हजार ८ सय २९ कार्यक्षेत्रमा कार्यरत ६० हजार सरकारी कर्मचारी ,१० हजार शिक्षकसहित ४ लाख मजदूरले सहभागिता जनाएका हुन् |
दिउसो ३ बजे सोल सिटिहलबाट राष्ट्रपति भवनतिर जना लागेको जुलुस प्रहरीले रोकेको थियो | केहीबेर ठेलाठेल भएपछि जुलुस जोङनो क्षेत्रको परिक्रमा गर्दै सभा बेलुका ७ बजे सकिएको थियो | हड्तालमा सोल राष्ट्रिय विश्वबिद्यालय अस्पताल युनियनले समेत सहभागिता जनाएको थियो | माग पुरा नभएसम्म हड्ताल निरन्तर हुने केसिटियुका प्रबक्ताले जनाएका छन् |केसिटियु कोरियाको दोश्रो ठुलो मजदूर संगठन हो |सरकारले आमहड्ताल अबैधानिक कार्य र यसको प्रतिरोध गर्ने भनेको भए पनि खासै अप्रिय घटना भने भएन |
कोरिया सरकारले आउदो संसद अधिबेशनमा मजदूरहरु हित श्रम नीतिको संसोधन प्रस्ताब लाने भए पछि मजदूरहरु आन्दोलित भएका हुन् | मजदूर संगठनहरुले सम्पूर्ण मजदूरको ज्यालाप्रति घण्टा १० हजार वन हुनुपर्ने , सम्पूर्ण मजदूरहरुलाई हक अधिकार सुनिश्चित गर्नका लागि मजदूर कानुनको दफा शंसोधन गर्नुपर्ने, कम्पनीमा ठेकेदारी प्रथा हटाउनुपर्ने, ठेकेदारबाट आएका कामदारहरुलाई मुख्य कम्पनीले नियुक्ति गर्नुपर्ने, उनीहरुले मजदूर संगठन खोल्न पाउनुपर्ने र जनताको सार्वजनिक कोष मजबुत बनाउनुपर्ने निरन्तर माग गरिरहेका छन् ।