कोरियाबाट प्रदिप घर फर्केनन्
करीब पांच महिना अघि कोरिया आएका प्रदिपले किन जीवन त्याग्न पुग्यो होला भनेर मलाई साह्रै उत्सुकता भई रहयो । प्रदिपको मृत्युको खबर मैले बुसानका मित्र एलबी बिष्टबाट थाहा पाएको थिए । लगत्तै मैले उसको रुम पार्टनर कृष्ण लगायत गजेदोका साथीहरुसंग सम्पर्क गरे । साथीको मृत्युले अत्तालिएका उनीहरुलाई सान्तावना दिए तथा उनीहरुले अव के गर्ने भन्ने बिषयमा सरसरती जानकारी दिए । प्रहरी कार्यालयमा रहेका साथीहरुलाई मैले दिएको सुझाव तथा सान्तावना पछि केही आश्वस्त भए । सोही दिन राती करिब १२. ३० बजे मृतकका दाजु हरिकृष्णका साथी राजुसंग लगायत वहांको दाजुसंग पनि सम्पर्क भयो । भोलिपल्ट आइतबारको दिन बिहानै अफिस पुगेर आवश्यक कागजात नेपाल पठाए र सोमबार गजेदो जाने निधो गरे ।
सोमबार बिहान गजेधो जाने क्रममा गत शनिबार देखि नै गजेधो नेपाली समाजका सभापति मनोज भण्डारीसंग नियमित सम्पर्क भई रहेको थियो । अत्यन्तै सक्रिय मनोज भण्डारी लगायत गजेधोका थुप्रै साथीहरुले प्रदिपको मृत्यु पछिका कार्यहरुमा गरेको सहयोगको प्रशंसा गर्न मसंग शब्दको अभाव छ । संयोगवश मनोज भण्डारी लगायत अन्य दुई जना साथीहरु पनि सोलमा आउनु भएको कारणले सोमबार गजेधो जाने टोलीमा हामी पांच जना भयौ । हाम्रो टोलीको नेतृत्व गर्नु भएको थियो महामहिम राजदूतज्यूले ।
आत्महत्याको बिषय भएको हुनाले महामहिमज्युले मैले पनि बुझनु जरुरी छ , म पनि जान्छु भन्नु भयो । पांच घण्टाको लामो तथा पट्टाएर लाग्दा यात्रा पछि गजेदो पुग्यौ. । त्यहां पुग्दा हेलो नेपाल एण्ड ईण्डियन रेष्टुरेण्टमा थुप्रै भाई बहिनीहरु नियास्रो मुख लगाएर हाम्रो प्रतिक्षामा बसेका थिए । निकै लामो भलाकुसारी पछि सानो औपचारिक कार्यक्रमको संचालन नोबिन्द्र भाईले गर्नु भएको थियो । हाम्रो उपस्थितिले उनीहरुले केही राहत महसुस गरेका थिए, तर सबै गम्भिर थिए । महामहिमज्युले पनि अत्यन्तै गम्भिर भएर वहांहरुको कुरा सुन्नु भयो । त्यस पछि हामी लाग्यौ त्यो कोठामा जहां प्रदिपले मृत्यु वरण गर्न पुगेको थिए । नेपालमा कुनै उच्च तहको हाकिमले पनि प्राप्त नगर्ने सुन्दर अपार्ट थियो । कोठाहरु साना तर चिटिक्क परेका । सफा सुग्घर तथा फ्रिज, टि.भि. लगायत सबै सुविधा उपलब्ध भएको । लन्ड्री रुमको लुगा सुकाउने पाईपमा डोरीको पासो लगाएर प्रदिपले देह त्याग गरेका रहेछन् ।
पछि शव राखिएको गृहमा गएर प्रदिपको शव पनि अवलोकन गर्यौं । आत्महत्या हो भन्ने कुरामा कसैको दुई राय रहेन । पछि कम्पनीको मालिक तथा म्यानेजर लगायतसंग हामी नेपाली पक्षले छलफल गर्यो । छलफलमा मनोज भण्डारी, मीन गुरुङ लगायत थुप्रै भाइबहिनीहरु थिए । मालिक अत्यन्तै भद्र व्यक्ति थिए । वहांले सबै प्रकारको सहयोग गर्ने वचन दिनु भयो । २३ तारिखका दिन नेपालबाट
प्रदिपको बुवाको मञ्जुरी तथा कोरियामा रहेका दाजु हरिको ईच्छा अनुसार स्र्वगीय प्रदिपको गजेधोमा नै दाहसंस्कार भयो । अन्तिम समयमा गजेधोका नेपाली साथीहरुको उपस्थिति थियो ।
किन आत्महत्या गर्नु पर्यो प्रदिपले भन्ने प्रश्नको जवाफ ठयाक्कै हामीसंग छैन । तर परिस्थितिलाई केही बिशलेषण गर्न सकिन्छ । सामान्य बिरामी हुनु कुनै नौलो बिषय होइन । प्रदिप पनि सामान्य पेट दुख्ने रोगले पिडित रहेछन् । दाजु तथा अन्य साथी भाई लगायत कम्पनीले पनि वहांको उपचार गराएको र केही बिषेक भएर आफनै कोठामा आराम गर्दै थिए । अचानक यस्तो घटना भयो । गजेदोका सबै नेपालीहरु प्रदिपलाई सम्झन्छन तर प्रदिपले कसैलाई सम्झेनछ । अरुलाई त नसम्झनु ठिकै होला तर सत्तरी बर्ष काटेका आमा बुवालाई पनि सम्झेनछ । प्रदिपले लेख्नु भएको छ “आमा मलाई माफ गर्नु होला” । तर बृद्ध आमाको काख रित्ताउनेले माफी पाउला ? के आत्महत्या समाधान हो ? कदापि होईन ।
२३ तारिखका दिन सांझ प्रदिपको दाजु हरिले नेपाल फर्कने बेलामा मलाई एयरपोर्टबाट फोन गर्नुभयो । वहांको अवस्था अत्यन्तै दुखित थियो । दाजु भाई दुवै जना भएर केही कमाई गरौला र नेपालमा केही व्यवस्था गरौला भन्ने थियो शायद । तर एकलै फर्कदा दाजु हरिको मन पीडाले भारी थियो । ‘गाउंमा के भन्ने होला सर ?’ प्रश्न बडो मार्मिक थियो मैले भने ‘प्रदिप घर फर्केन भन्नु ‘ उताबाट केही आवाज आएन , केवल रुदै आंसुको भेल बगेको बुझिन्थ्यो ।