माइती गाउँको न्यानो दिने: ऊनको स्वीटर

शुक्रवारबाट प्रदर्शनमा रहेको नेपाली फिल्म ऊनको स्वीटर, विशुद्ध सामाजिक पारिवारिक प्रेम र बिछोड कै कथा हो । नवीन चौहानले निर्देशन गरेको यस फिल्ममा मुख्य कलाकारहरू विपिन कार्की , मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बू , सुनिल पोख्रेल, माओत्से गुरुङ , विल्सन विक्रम राई, प्रेम सुब्बा, मिलन खत्री लगायत हुनुहुन्छ । फिल्ममा हर्क साउद र युवराज काफ्लेको शब्द रहेका गीतहरू सुजन चापागाईँ, वरिष्ठ लोक रैथाने गायिका झुमा लिम्बू र सुनिता थेगिम लगायतका गायक गायिकाहरूको आवाजमा रहेका ऊनको स्वीटर, मखमली चोली र काफ्ले गीत यस अघि नै सुपर हिटमा छन् । उसो त यो फिल्ममा रहेको मखमली गीत पूर्वमा बज्ने-बजाउने, सुन्ने-सुनाउने वाला गीत मध्य होइन, तापनि नेपालको कास्की क्षेत्र तिर बज्ने यो गीतलाई पनि फिल्मको कथामा सान्दर्भिक तरिकाले उनेको छ ।
ऊनको स्वीटर नेपाली सामाजिक, पारिवारिक कथा हो । निर्देशक चौहानले पूर्वको सामाजिक र पारिवारिक कथा बस्तुलाई अहिलेका जातीय भड्खालो खनेर अरूलाई भड्खालोमा पारि आफू बाहिर बसी मज्जा लिने जातका मान्छेहरूका लागि फिल्म मार्फत राम्रै उदाहरण दिएका छन् । गीत र टिजरमै पस्किसकेको विषय, काफ्लेको छोराले लिम्बुनी मन पराएको लगायतका कथालाई सामाजिक सोच, जातीय भेद र मेललाई सरल तरिकाले प्रस्तुत गरिएको छ । जसरी एउटा धागोको डोरीलाई हरेक घरमा घुमाइ घुमाइ सुइरोले रोपी रोपी एउटा सुन्दर ज्यान सुहाउँदो स्वीटर बनाइन्छ त्यसरी नै निर्देशक ज्युले कथालाई घुमाइ घुमाई कलाकारलाई एउटा घरमा छिराउँदै अर्को घर निकाल्दै टमक्क ज्यान मिल्दो गन्जी बनाएका छन् । जसले अहिलेको हपहप गर्मीमा पनि शीतलता दिन्छ नै । फिल्ममा निर्देशकले पूर्वको सिक्किमसँगको सीमावर्ती क्षेत्रमा हुने चालचलन, विशेष गरी लिम्बू जातिको रीतिरिवाज र चालचलनलाई खेलाएको पाइन्छ । विपिन दाजु र मिरुना मगर जीको अभूतपूर्व, संयमित अभिनयको प्रशंसा मेरा शब्दले भेट्दैनन्, दुवै जना यस अघिका फिल्ममा झैँ संवेदनशील र विश्वसनीय नै रहनु भएको छ । माओत्से काकाको अभिनयमा अब झन् के लेखेर सकिन्थ्यो र ? मिठाई जस्तै सानो तर स्वादिलो भूमिकामा रहनु भएका वरिष्ठ नाट्यकर्मी सुनिल पोख्रेल ज्युको अभिनयका लागि मैले लेख्ने कुचेष्टा गर्न सकिन । जसको अभिनयले फिल्ममा छोटो अवधिमा आच्छु आच्छु बनाउँछ । म्युजिक भिडियोहरूमा प्राय डान्सहरू मात्रै देखि राखेका कलाकार पारस र परीक्षाले यही फिल्म मार्फत अबका नेपाली फिल्महरूमा थुप्रै सम्भावना देखाएका छन् । प्रिमियर सो मा पस्नु भएका थुप्रै निर्माता निर्देशकका मुख मिठ्याइ बनेको अनुमान फिल्ममा कलाकारद्वयले गरेको अभिनयले साबित गर्छ ।
कथाको पहिलो भागमा मैले धेरै जसो आफूलाई हिरोनी बनाएकी छु । त्यो मानेमा हजुरले यो फिल्मलाई मेरो उमेर समूहका भन्दा अघिकाहरुले आफूले बाचेको जीवन भनेर बुझ्दा पनि हुने भो । रिलवाला क्यामरा , स्टुडियोवाला पोजे फोटो, साथीभाइ, मन परेको मान्छेहरूलाई सिङ्गल फोटो हालेर भावना लेखी भर्न लगाउने वाला फूल बुट्टे अटो कापी, फेरि धुलाई गरेर फोटो बनाउन मिल्ने वाला नेगेटिभ ती सब मैले बाचेका अतीत थिए । गीतका बिच बिचमा आउने पालाम, फिल्ममा प्रयोग भएका भेज नन्भेज डाइलगहरूले ठ्याक्कै पूर्व नै पुर्याउछ । काठमाडौँ वरिपरिका डाँडा भित्ता र सहरको ठुलो घर भित्र सीमित रहेको नेपाली फिल्मको परिदृश्यलाई यो फिल्मले मोफसलमा पुर्याउछ । एउटा निर्देशकले यसरी पनि सिनारियो दिन सकिन्छ है भन्ने उदाहरण फिल्मको सिनेमाटोग्राफीले दिन्छ ।
निर्देशक चौहानद्वारा निर्देशित यो भन्दा अघिका अनेकौँ म्युजिक भिडियोहरू जस्तै तिन पाते , बाफ, पञ्चमी मेला, घुमी घुमी, फुलथुंङ्गे रानी, पाहुना हजुर, चन्द्रमा लगायत गीति फिल्महरू मेरा एकदमै मन परेका मध्य हुन् । प्राय यी सबै निर्देशनमा नवीनले मेरा कथा नै चोरेका हुन् । यसमाने कहीँ न कहीँ, कहिले न कहिले कतै न कतै ती रोल मैले गर्या हुँ, त्यो पात्र म नै थिएँ महसुस गर्छु । यसर्थ फिल्ममा निर्देशक चौहानले आफू काठका मुढा जोडेर बनाइएको कोल बनेर सम्पूर्ण कलाकारहरूलाई गुलियो, कालो, झोलिलो ज्ञावारे उखु निचोरी निचोरी खुँदो निकालेर, पकाएर औषधीय गुण भएको चाकु पकाएका छन् ऊनको स्वीटर ।
फिल्मले धेरै ठाउँमा हँसाउन सक्छ, कतै रुवाउन सक्छ । सिरिङ्ग ज्यानमा काँडा उमार्न सक्छ । विस्मृतिमा धकेल्न सक्छ । परिवार, जिम्मेवारी र प्रेम दिन्छ । कतै पनि नचाहिने नाटक गर्दैन । तपाईँलाई कतै पनि हाइ कटाउने छैन, बोर लगाउने छैन । समग्रमा फिल्मलाई १० मा ८ सम्म रेटिङ दिन सकिन्छ । हेर्न जाने होइन त ?