नेपाली गरिब होइनन्,गरिब बनाइएका हुन्

डोलु आले मगर
‘द टाइम्स अफ सेन्टरल एसिया’ले प्रकाशित गरेको समाचार अनुसार नेपाल एसियाको टप टेनभित्र दोस्रो स्थानको गरिब देश हो। पहिलो स्थानमा अफगानिस्तान रहेको छ । पहिलो स्थानमा रहेको अफगानिस्तान को कुल ग्राहस्थ उत्पादन अनुसार प्रतिव्यक्ति आय वार्षिक ११ सय अमेरिकी डलर रहेको छ भने दोस्रो स्थानमा रहेको नेपालको १५०० अमेरिकी डलर रहेको छ।
टप टेन गरिब देशभित्र पर्ने देशहरु अफगानिस्तान , नेपाल , बर्मा, उत्तर कोरिया, बंगालदेश, ताजकिस्तान, क्रिगिस्तान, क्याम्बोडिया,लाओस र पाकिस्तान क्रमशः १ देखि १० स्थानमा रहेको छ।
के साच्चै नेपाल गरिब नै हो त् ? १,४७,१८१ वर्ग कि,मि क्षेत्रफल भित्र, पुर्व मेचीदेखि पश्चिम महाकाली, उत्तर हिमालदेखि दक्षिण मधेश सम्म बसोबास गर्ने २,६४,९४,५०४ जनताहरु गरिब नै हुन् त् ? मलाई लाग्छ नेपाल र नेपाली गरिब छैनौ, हामीलाई गरिब बनाइएको छ।
विश्वोमै अग्लो सगरमाथा छ, ८ हजार मिटर भन्दा अग्ला हिमालहरु नेपालमा मात्रै ८ ओटा छ। सुन्दर हिमालहरु कहिले चांदनी बनेर त कहिले लाली बनेर मुस्कुराउँछन् । तर हामि त्यो मुस्कुरातलाई हामी नेपालीको मुस्कानमा परिवर्तन गर्न सकेका छैनौ।
विश्वमै दोस्रो जलस्रोतको धनि देश नेपाल । अविरल हिमालबाट कलकल बग्ने स्वच्छ नदीहरु छ । जसको प्रचुर सम्भावनाले हामीलाई जिस्काई रहेको छ । लोभ्याई रहेको छ । हामीले त पिउनसम्म जानेका छैनौ । नदिको किनारमा बसेर काकाकुल छौं। तल नदि बग्छ माथि खेत धाँजा फाट्छ् । हामीले त्यो जलस्रोतको उच्च सम्भाव्यतालाई सदुपयोग गर्न सकेको छैनौं । नेपालका नदी नाला, खोलाहरु उपयोग गर्न सकेको खण्डमा हामी कोहि माईकालाल देश भन्दा गरिब हुनेछैनौं । तर हाम्रा बुद्धिवाल माईकालालहरु शासन सत्तामा बसेर के खुईल्याए?
पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म लावालस्कर लागेका सुन्दर पहाडहरु छन्। पहाडका फेंदी मैदान अनि टाकुराहरुमा अनेक सम्भावना र प्राचुर्यताको खोजि त गरेकै छैनौ। हाम्रा बाजे बराजुहरुले फल्ना ठाउँबाट तामा र फलाम निकालेका कुरा गर्दा हामी गफ लडायो बुढाहरुले भन्छौ। हामिले बहुमूल्य धातुहरुको खोजि र उत्खनन् गरेकै छैनौ । बहुमुल्य जडिबूटीहरुको राष्ट्रहितमा प्रयोग हुनेगरि उपयोग गरेकै छैनौ।
तराई मधेश हाम्रो अपार अन्न भण्डार हो। जाबो आकाशे पानीको भरमा वर्षमा २/३ वाली भित्रयाउने हामि किसानहरुलाई व्यवस्थित कृषी क्षेत्र बनाएर कुलो नहर र आधुनिक मेशिनहरु द्धारा भुमिको सहि सदुपयोग गर्न सकिने हो भने हामी जस्तै विपत्तिमा पनि जोगि झै मगन्ते परेर कुहिको अन्न हात थापिरहनु पर्ने स्थितिको अन्त्य हुने छ। तर गर्ने कस्ले? गरिब किसानहरुले त गरिरहेकै छन्। सत्ता र राज्यमा बस्नेहरु मगन्ते बनेर देश बनाउँछु भनेर दिवासपना पालिरहेका छन्। भिकारी मागेर धनि कहिल्यै बन्दैन। मागेर देश धनि बनाउँछु भन्ने विवेकवालहरु देशको लागि बोझ मात्रै हो। मागेर आफ्नो गोजि भर्ने वालाहरु देशद्रोहि गद्दारहरु हुन्। जसको जति निन्दा गरेपनि कमी नै हुन्छ।
हामी हाम्रा जल, जङगल र जनमिनको सहि उपयोग गर्न सकेका छैनौ । एका तर्फ हामी बेरोजगार भएर दिन प्रतिदिन विदेश पलायन हुँदैछौं । अर्को तर्फ हाम्रा ति प्राकृतिक स्रोत साधनहरुले हामिलाई कूरीकूरी गरिरहेका छन् । सरकारको कुनै ठोस् योजना र नीति छैन । जस्को अभावमा खेर गैरहेको छ अपार सम्भाव्यताहरु।
हामीले करिब सन् १९९० देखि हाल सम्म ,२४ वर्षमा २१ पटक प्रधानमन्त्री बनाएका रहेछौं। त्यसमा ५ पटक स्वर्गीय गिरिजा प्रसाद कोइराला, शेरबहादुर देउवा ३ पटक, कृष्णप्रसाद भटराई २ पटक, लोकेन्द्रबहादुर चन्द २ पटक, सुर्य बहादुर थापा २ पटक, मनमोहन अधिकारी, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भटराई, खिलराज रेग्मी, र अहिले सुशील कोइराला बनेका रहेछन। त्यस बिचमा दुइ पटक ज्ञानेन्द्रको निरंकुश साशन पनि चल्यो।
अनि कस्ले भन्छ मेरो देश गरिब छ भनेर ? २४ वर्षमा २१ जना प्रधानमन्त्रि बनाएर विश्वरेकर्ड कायम गर्ने देश गरिब हुन्छ ? त्यसमा ज्ञानेन्द्रको दुइ पटकको प्रत्यक्ष सत्ता जोड्ने हो भने २३ पुग्छ। तिनलाई पाल्न सक्ने तिनका मन्त्रिमण्डल र आसेपासे रजौते भरौटेलाई पाल्न सक्ने हामि नेपाली र नेपाल कसरि गरिब हुन सक्छौं र सक्छ ? पुर्व मन्त्रि, पुर्व विशिष्टहरुलाई विदेशका महंगा हस्पिटलमा उपचार गर्ने देखि लिएर कुद्ने र उड्ने, लालन पालन र पोषण गर्न सक्ने देशका हामि नेपालि कसरि गरिब हुन सक्छौं ?
संविधानको नाममा खरबौं खर्च गर्न सक्ने, ६०१ बेकामेहरुलाई तलव भत्ता खुलाउन सक्ने हामी कसरि गरिब छौं ? संविधानको काम ४ जना श्रीहरुले नियत वश फत्ते गरेका छन्। ६०१ किन पाल्नु पर्थ्यो ? संविधान त् कसैको लागि ढुंगा खोज्दा देउता भेटिएको जस्तो भएको छ । तर जसको अधिकार, जसको मुक्तिको लागि लडेर, परिकल्पना गरेर संविधानसभाको गठन भएको थियो तर विडम्बना उनीहरुको लागि यो माछो माछो भ्यागुतो भएको छ। संविधानका कथित विद्वानहरुले द्वन्दको विज फेरी छर्ने दुष्टता गरेको छ। अन्ततः फेरी यो नेपाललाई गरिब नै बनाइ रहने , विकास हुन नदिने खेल नै हो।
श्री ४ हरुले बनाएको संविधानको मस्यौदामा कथित नागरिक सुझावको नाटक गरियो। अर्बौं रकम २ दिनमा झ्वाम पारे । अनि हामि कसरि गरिब ?
भ्रस्टाचार हुने देशहरुमध्ये नेपाल पनि एक प्रमुख हो। यहाँ पिउन देखि हाकिम, नेता देखि कार्यकर्ता, कर्मचारी देखि सरकार, व्यापारी देखि व्यवसायी, सबै भ्रष्टहरुको अखडा हुन्। अपवादमा कोहि नहुन सक्छ। तर हामी जनता पनि भ्रष्ट छौं। भ्रष्टाचार केवल पैसा संग मात्रै सम्बन्धित् होइन। समय,जिम्मेवारी, दायित्व संग पनि सम्बन्धित छ भन्ने बुझ्नुपर्छ।
प्रत्येक नेपालि विदेशमा श्रम बेच्न जाँदा कम्तिमा नेपालि एक लाख अथवा १००० अमेरिकी डलर बुझाएर महिनाको २० हजार कमाउन जान सक्छन् अनि ति नेपालीहरु कसरि गरिब ? खर्बौं व्यापार घाटाको सामना गर्न सक्ने हामि नेपाली कसरि गरिब?
नेपाल गरिब छैन। प्राकृतिक स्रोत साधनको सहि सदुपयोग, उयोग र संरक्षण गर्न सकेको खण्डमा हामि आर्थिक सवल राष्ट्रमा उभिन सक्छौं तर बिडम्ना भन्नु पर्छ यो सब हुनबाट हाम्रै देशका देश द्रोहिहरुले रोकिरहेका छन्।
हामि लामो समय, करिब बृहत नेपाल निर्माणको ईतिहास् देखिनै राजनितीक रुपमा अस्थििरता,युद्ध,आन्दोलन भोग्दै आएका छौं। कहिले कोट पर्व ,कहिले भण्डारखाल पर्व त् कहिले राजदरवार हत्याकाण्ड। नेपालको भौगोलिक,सामाजिक,सांस्कृतिक,धार्मिक र भाषिक विविधताहरु छन्। जस् अनुसारको राज्यले अख्तियार गर्नुपर्ने नीति तथा योजनाहरुको अभाव र अदुर्दर्शिता मुख्य कारक तत्व हो राजनीतिक अस्थिरता युद्ध, आन्दोलन।
क्षमतावान्, दक्षतावान र पहलवान हाम्रा सभासदहरु, हाम्रा नेता र नेतृत्वहरु जस्ले देश हाक्ने, जस्ले देश निर्माण गर्ने , देशको विकास गर्ने हुंकार खकारिरहन्छन्। तर विड्वम्ना विगतका राजनीतिक गल्ति कमजोरिहरुलाई नजरअन्दाज गरेर फेरि उहि द्धन्दको विजारोपण गर्ने संविधाको कोराकागज रंगिन पार्दै छन्। यो संविधान निर्माण गर्दैगर्दा संगिन अवसरलाई सहि तरिकाले उत्पिडित वर्ग, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्गको अधिकारहरुलाई सम्बोधन् गर्दै दिर्कालिन स्थिरता दिने प्रकारको सम्विधान निर्माण गर्नुको सट्टा ठिक विपरिको बाटोमा छन्। निर्माणाधिन् संविधानको मस्यौदामा मधेशी,आदिवासी जनजाति,दलित,मुस्लिम लगायतका तमाम् राज्यबाट उत्पिडनमा परेका जनताहरुले संविधान मेरो पनि हो भन्ने अवस्था बनेको छैन। विरोधका स्वरहरु एक पछि अर्को निस्कदै छ। जस्ले गर्दा द्धन्द र राजनीतिक अस्थिरता कायम रहिरहने र देशले स्थायित्व नपाउने वातावरणको सिर्जना हुन सक्छ। जुन् देश विकासको लागि कारक हुन्।
जवसम्म राजनीतिकदल,सत्ता र राज्य सञ्चालनमा हुनेहरुले नेपालको सामाजिक बनावटलाई, नेपालको मौलिकता अनुसारको नीतिनिमार्ण गर्दैन र तब सम्म देशमा राजनीतिक द्धन्दहरु चलिरहने छ। द्धन्द,युद्ध र अशान्ति भएको देशमा प्रकृतिक स्रोत साधनको उचित प्रयोग हुनेगरि उधोग,विकास निर्माण गर्न कठिन भै रहने छ। बाह्य लगानी भित्रयाउने वातावरण बन्ने छैन। मुठ्ठिभर सम्भ्रान्ते वर्गको निम्ती मात्र पोस्ने खालको संविधान/नीतिनिर्माण हुँदा सम्म देशले विकासको फडको मार्ला भन्ने भ्रम नपाले हुन्छ।
एकातिर हामि गरिब राष्ट्रमा दर्ज छौं। अर्को तिर थुप्रो लगानी गरेर विदेश हिँडेका छौं। अर्को तिर हाम्रो आफ्नै देशका प्राकृतिक सम्पदा,भुमिहरुको उपयो गर्न सकेका छैनौ। भने अर्कोतिर ठुलो रकम भ्रष्टाचार गरेर विकासको लागि बाधा खडा गरेरहेका छन्। भ्रष्टार नियन्त्रण, प्राकृतिक स्रोत साधनको सहि उपयोग, विदेशिने पूँजि नेपालमै लगानिको वातावरण र पर्यटन विकासको गर्न सक्ने हो भने नेपाल गरिब भै रहने छैन। हरेक तह र तप्काका समुदाय,वर्गलाई समेट्नेगरी नीति निर्माण गर्ने र अस्थिर राजनीतिक झगडाको कारक तत्वहरुलाई सहि तरिकाले व्यवस्थापन गर्ने हो भने हामि विकासको गति लिन सक्छौं । तर राज्य सञ्चालकहरुको घैंटोमा घाम कहिले लाग्ने ? हामी गरिब छैनौ हामीलाई गरिब बनाइएको छ।
स्याङ्जा,
हाल -दक्षिण कोरिया