ट्राभलडकुमेन्ट लिन दूताबास जाँदा पक्राउ
निश्चल काउचा
सोल-नेपाल फर्कनलाई ट्राभल डकुमेन्ट लिन सोलस्थित नेपाली दूताबास गएका एक नेपाली पक्राउ परेका छन् | स्वेच्छाले घर फर्किन लागेका एक अबैधानिक कामदार प्रहरीले पक्राउ गरेर अध्यागमन विभागमा बुझाएको हो |
पक्राउ पर्ने कामदार चितवनका ‘ए’ महतो हुन् | उनि ट्राभल डकुमेन्ट लिन दुइ दिनअघि सोलस्थित नेपाली दूताबासमा पुगेका थिए | ट्राभल डकुमेन्ट लिन दूताबासका कर्मचारीले प्रहरी रिपोर्ट लिएर आउनु भन्दै नजिकैको प्रहरी कार्यालय पठाई दिए | उनि सरासर प्रहरी कार्यालय गएर प्रतिबेदन मागे तर प्रहरीले नियन्त्रणमा लिएर अध्यागमन बिभागमा बुझाइ दियो |
महतो आउदो २० तारिख घर जाने टिकट लिएका थिए | ईपीएसबाट आएका उनि अबैधानिक बस्दै आएका थिए | उनले घर फर्किन सबै किनमेल गरिसकेका थिए | पछिल्लो समय अबैधानिक कामदारलाई प्रहरीले पनि पक्राउ गर्ने गरेको छ |
स्वदेश फर्कन आवश्यक ट्राभल डकुमेन्ट बनाउन दूताबास जाँदा पक्राउ पर्न थालेपछि अबैधानिक बसेर घर फर्किन लागेका कामदारहरुमा अन्योलमा परेका छन् | अध्यागमन बिभागले पक्राउ गरेपछि १० बर्ष र स्वेच्छाले स्वदेश फर्के २ बर्षपछि कोरिया प्रवेश गर्न पाइने प्राबधान छ |
यसअघि दूताबास परिसरबाटै तमुधि कोरियाका तात्कालीन अध्यक्ष रामकाजी गुरुङ पक्राउ परेपछि नेपाली दूताबासका कर्मचारीहरु बिबादमा परेका थिए |
महतो पक्राउ पर्नु संयोग मात्र भएको भएको दूताबास श्रोतले जनाएको छ |