नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच ज्ञान साझेदारी कार्यक्रम (बीओके–केपीपी) कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दुई बैंकबीच बीओके–केपीपी समझदारीमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट गभर्नर कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिला र दक्षिण कोरियाको केन्द्रीय बैंक, बैंक अफ कोरियाका अन्तर्राष्ट्रिय मामिला विभागका डेपुटी डाइरेक्टर जनरल जी योङ जुङले हस्ताक्षर गरेका छन् ।
यस कार्यक्रम अन्तर्गत बैंक अफ कोरिया र युनिभर्सिटी अफ कोरियाको संयुक्त अनुसन्धान टोलीले नेपालको वित्तीय समावेशीकरण तथा वित्तीय साक्षरताका बारेमा नीति तथा कार्यक्रम विषयमा अध्ययन–अनुसन्धान गर्नेछ । अध्ययनपछि टोलीले नेपाल राष्ट्र बैंकलाई अन्तरिम र अन्तिम (विस्तृत) गरी दुई चरणमा नीतिगत सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्नेछ ।
यस कार्यक्रमपछि नेपालको वित्तीय समावेशीकरण तथा वित्तीय साक्षरता अभियान विस्तारका लागि महत्वपूर्ण सुझावहरु प्राप्त हुने राष्ट्र बैंकको भनाई छ ।
समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा गभर्नर कार्यालयका कार्यकारी निर्देशक डा. नेफिल मातङि मास्के र लघुवित्त प्रवद्र्धन तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ पनि सहभागी थिए । यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको अहिलेसमेत गरी तेस्रोपटक हो ।