अक्षरले जोडेको साइनो
बार्ह वर्ष अघि कोरियाली कवि किम ह्योङह्यो अन्नपूर्ण ट्रेकिङका लागि नेपाल आइपुगेका थिए । हिमाली कन्दरा, समाज र संस्कृतिको प्रत्यक्ष अनभूति बटुलेपछि उनले कोरियाली भाषामै निबन्धकृति ‘अन्नपूर्ण यात्रा’ निकाले । यही कृतिबाट आएको रोयल्टीबाट किमले तीन नेपाली लेखकलाई कोरिया बोलाए ।टोलीमा थिए कवि मञ्जुल, दिनेश अधिकारी र प्राध्यापक पद्म देवकोटा । अधिकारी र देवकोटा छिट्टै फर्के, मञ्जुल केही समय बसे । कोरियाली साहित्यकार र चित्रकारहरूको घरघर डुले, अनुभव आदानप्रदान गरे । त्यही बेला दर्जनौं कविता पनि लेख्न भ्याए । दशकअघि लेखेका तिनै कविताको नेपाली र कोरियाली भाषामा सार्वजनिक हुँदै गर्दा बुधबार कवि मञ्जुलभावुक बने ।
‘कवि लि दे उइलाई कस्तो छ ?’ उनले किमलाई सोधे, ‘उहाँको घरमा पुगेको क्षण अहिले याद आयो ।’ कवि मञ्जुल कोरियास्थित कवि उइको घरमा २००७ को अगस्ट २८ तारिख बिहान ७ बजे पुगेका थिए । उइसँग कुराकानी गर्दै उनले ८ बजेर २० मिनेट जाँदा ‘मेरो भाइ’ शीर्षकको कविता लेखेर समर्पण गरेका थिए–
मेरो भाइ, तिमीलाई तनाव भयो भने
दाइलाई सम्झिनु,
उसको अँगालोलाई सम्झनु
बुद्धको महान्को मायालाई सम्झनु, ध्यान गर्नु
यी र यस्तै कविता समेट्दै ‘ब्रहृमाण्ड कविको घर’ दुई भाषामा कृति निकाल्न सघाएका किमले बुधबार बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा मञ्जुललाई ती पुराना दिन मात्रै सम्झाएनन् । उनले गोजीबाट हतार हतार कागजको टुक्रा निकाले र कविता पढ्न थाले, जुन मञ्जुललाई सम्बोधन गरेर कवि उइले लेखिपठाएका थिए ।
वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवस, कवि मोमिला जोशी, गीतकार दिनेश अधिकारी र किम स्वयंले ‘ब्रहृमाण्ड कविको घर’ लोकार्पण गर्दै गर्दा अक्षरहरूमार्फत् बनेको दुई देशको लेखकीय सम्बन्धको यसरी भिन्नचर्चा भयो ।
कृतिमा कवि मञ्जुलले उतिबेलै डायरी शैलीमा कोरेका पाँच दर्जन कविता छन् ।
उनका नेपाली कवितालाई कवि किमसँगै मोहन कार्कीले अनुवाद गरेका हुन् । ‘१२ वर्षअघिको योजना बल्ल पूरा भयो,’ किमले भने, ‘म यति खुसी छु कि फेरि अन्नपूर्ण हिमालमा गएर दुई हात उठाउँदै जिन्दावाद भन्न मन लागिरहेको छ । यदि मैले यो काम नगरेको भए, म आफूलाई अत्यन्तै तुच्छ ठानिरहेको हुन्थें ।’ उनकै पहलमा पुस्तक नेपाल कोरिया कल्चर सेन्टरले छापेको हो ।
साहित्यकार दिवसले मञ्जुलले कविता सुन्दर यात्रा वृत्तान्तजस्तै लागेको बताए । प्रकृतिका रूप, पहाड, जंगल, मानवीय सूक्ष्म संवेदना र अनुभूतिलाई अत्यन्तै संवेदनशील कवितात्मक भावमा उतारेको उनले दाबी गरे । ‘कवितामा मानवीय विचार र चिन्तनलाई ठाडो रूपमा नभई स्वाभाविक रूपमा प्रस्तुत गरिएका छन्,’ उनले भने ।