समुन्द्रपारीको देशबाट आमालाई चिठ्ठी
कल्पना राई ‘खुशी’
आदरणीय आमा,
प्रदेशी छोरीको साष्टांग दण्डवत !
पत्रको सुरुवात आफु निको रहेर, हजुरहरुको आराम, कुशलता र स्वास्थ्यको कामना गर्दै कोर्दैछु!
निश्चिन्त रहनुहोस, आमा याँहा सबै निको छ,प्रवाशको यो बसाइ जति नै निको र राम्रो भने पनि किन किन याँहाको भुमीले मन जित्न सक्दैन रहेछ,प्रकृति जति नै सुन्दर र आकर्षित भए पनि मन अल्झ्याउन सक्दैन रहेछ,आमा…lआँखै डिल बाट बगेको समुन्द्र आँखा कै क्षितिज सम्म फ़िजिएर बगे पनि,आँतको प्यास मेट्न नसक्दो रहेछ आमाlयति बेला आएर सोच्न बाध्य छु,तिमीले कसरि तिम्रो छाति बाट अमृत चुसाएर यो धड्कन धड्काइ रह्यौ?कसरी यो जीवन बचाएर जगत देखाउने लायक बनायौ?हो आमा हिजोआज सोच्न बाध्य छुlतिम्रो माहानताको गाथा,त्याग र तपस्याले सिर्जित मेरो अमुल्य जीवनको मुल्य र मान्यताl
तिमीलाई थाहा छ? आमा! … प्रदेश भनेको अनौठो केहि छैन,ठुला-ठुला गगन चुम्बी भवनको थुप्रो,जेरी जस्तो जति घोत्लेर हेरे पनि उल्झन जस्तो देखिने सडकको नागबेली लस्कर,दिपावलीमा झिलिमिली दिप जस्तो बिजुली बत्ति जो साँझ पर्ने बितिकै आँखै तिर्मिराउने तरिकाले बलि दिन्छन,सबै भन्दा ठुलो कुरा त आत्मा बिहिन मान्छेको बिगबिगी नै प्रदेश रहेछ,आमा lतिमीलाई मेरो चिट्ठीको हरफहरु पढ्दा लाग्दो हो,कति सुखी सम्पन्न ठाँउ रहेछ तर त्यो सरासर मनको भ्रम हो,आमा l
किन कि मेरो जीवनको तीसौ बसन्त पार गरिरहँदा सबै भन्दा प्रिय र मन मोहक समय तिम्रो काखमा लुटुपुटु गर्दै तिमीले लगाएका पोते खेलाउने,तिम्रो निधारको टिकी उक्काउदै आफ्नो निधार गाला तिर टाँस्ने,तिम्रो मक्किएको चौबन्दी बिना कारण तान्ने अनि तिम्रा बादलु जस्तो केसरासी खेलाउनु नै प्रिय र यादगार समय थियो l जुन समय सायद अब कदापि आउने छैन होला मेरो जीवनमा……
लेख्दालेख्दै केके लेख्न पुगी सकेछु, अनि साँची आमा!वरपर छरछिमेक तिर के कस्तो छ?सुनेकी थिएँ माथ्ला घरे जेठा पनि साउदी लाग्यो रे,उनका छ जाना सन्तानहरु स्कुल जान्छन कि जान्दैनन?जति नै दुख परे पनि आफ्नो सन्तानको पढाइ लेखाई गर्नु भन्नु है ति भाउजुलाइ……lअनि लप्टन बा को छोरो सिद्धार्थ पनि डाक्टर भाको छ अरे नि!उ अम्रिका तिरै बस्छ रे,के यो सत्य हो,आमा? यदि यो सत्य हो भने ……यसरि नै अब आउने पिढीका शिक्षित,विद्वान र जवानहरु विदेश मात्र दौडने हो भने देश कहिले बन्ला र आमा? यस्तै कुराहरु सम्झाई बुझाइ गर्नु हाम्रो भाईलाई जो अहिले इञ्जिनियरिङ्ग पढ्दैछlउस्को इन्जिनियरिंग सकिएर सक्षम बन्न सफल भयो भने देश निर्माणमा लाग्नु पर्छ भनेर सम्झाउनु,किन कि देश समृद्ध,शान्त र बिकशित भए हामी फलानो देशको नागरिक भन्दा गर्वले छाती फुक्दछ र शिर स्वाभिमानले ठडिन्छ न कि कहिँ कतै नसुनिएको देशको समृद्ध धनाढ्य व्यक्तित्व भन्दा……
यी सब कुराहरु पढ्दा तिमि छक्क परिरहेकी छौ होला मेरी आमा! छक्क पर्नु पर्दैन आमा यी त मेरो जीवन भोगाइ र समयले सिकाएको पढाएको केहि अन्त्यन्त गहन कुरा हुन जुन कुराहरुमा यदी समयमा सोच्न र बुझ्न सकेनौ भने अमुल्य जीवन अर्थहीन हुने छlजुन बेला मैले आफ्नो आँगनी,गाँउ,शहर हुँदै देशको सिमा नाघेर पराइ भूमीमा अर्थ आर्जनको लागी टेंके त्यो बेला घरको परिस्थिति अत्यन्त दयनीय थियो जुन तिमीलाई म भन्दा राम्रो संग थाहा छ,त्यसैले मनले नचाहदा नचाहदै पनि प्राण भन्दा प्यारो देश छोडेर अन्धाधुन्दा यो ठाँउ आई पुगेlर सोचेको भन्दा बिपरित दुख कष्ट झेल्दै ढुंगा माथी प्राण भर्ने काम गरेर केहि पैसा कमाउन सकेlयही कमाइले गर्दा आज हाम्रो निधार बाट दरिद्रताको ताज हटेको छ,भाई बहिनी राम्रो बिषय लिएर पढ्दैछन हाम्रो लागी यहि नै ठुलो उपलब्धि हुनlजुन दिन घरको संघार नाघेर हिड्दै थिएँ गाँउ समाजले अनेक लान्क्षना लगाएको तिमीले सुनेकी छ्यौlत्यो बेला कठिन समयको सामना गर्नु परेको थियो तर जसै उठाएको पाइला र साहसले सफलता पायो त्यसै गाँउले र समाजको सोच बिचार नै परिवर्तन गरायो,त्यसैले आमा अरुले के भन्ला मतलब गरेर चल्नु भन्दा आफ्नो हृदय र बिचारले के गर्दा ठिक हुन्छ त्यो सोचेर चल्नु ठुलो कुरा रहेछ,आमाlयो सत्य हो कि भौतिक परिवर्तन जस्तो सोचको परिवर्तन आजको भोली कठिन छ तर समय अनुसार सोचको परिवर्तन पनि हुँदो रहेछ,जुन तिमि आफै पनि अड्कल काट्न सक्छौl
हुन त सबै प्रदेशी म जतिकै भाग्यमानी हुँदैनन आमा,याहा प्राय जसो हरेक दिन कुनै न कुनै घट्ना,दुर्घटना यात आत्महत्याको खबर आई रहन्छ जसको शिकार हामी नेपाली नै धेरै जसो छौl कोहि काम गर्दा गर्दै कम्पनीमा दुर्घटना भएर ज्यान गुमाउछ्न,कोहि तनाब युक्त भएर काममा लाग्दा दुर्घटनाको शिकार भएका छन,कोहि काम गर्ने ठाँउको अनावस्यक किचकिच र मानसिक पीडाले आफुलाई एक्लो सम्झेर आफैलाई खतम गर्छन,कोहि आफ्नो सोचाइको बिपरित भोग्नु पर्दा पारिवारिक साथ र समर्थन नपाउदा दुख पिडाले आफुलाई अब कहिले छोड्दैन होला भन्ने मानसिकता बोकेर पनि आत्महत्या गर्नेको कमी छैन आमा ……तर तिमी न आतिनु,म कम्जोर छैन आमा,किन कि मेरो शरीरमा तिम्रो रगत बगिरहेको छ,मेरो छातीमा तिम्रो धड्कन धड्की रहेको छ,त्यसैले म कम्जोर छैन,……एउटा कुरा भन्दिन भनेर तिमी बाट लुकाई राखेकी थिएँ,किन कि भन्ने गर्छन खाटो बसेको घाउ चलाउनु आफुलाई पिडा दिनु हो,तर मलाई थाहा छ यो खाटोले मलाई होइन तिमीलाई दुखाउछ,सन्तानको पिडा आफ्नो छातीमा थाप्ने एउतै आमा हुन्छिन,हो आमा……केहि महिना अघि मात्र म सिकिस्त बिरामी परेर ओछ्यान परेको थिएँ,हस्पिटलको सय्यामा पल्टेर छिटो निको हुन पाम भगवान भनेर जप्नुको बिकल्प थिएन,समय कुर्नै पर्ने बाध्यता जो थियो,यसै बीच बेखर्ची हुँदै गएँ,हात बाट काम फुत्कियो, दैबको अर्को मार पर्यो,मलाई अर्को रोग देखियो र मेजर अप्रेसन गर्नु पर्ने डाक्टरले बताउनु भयो,म स्तब्ध भएँlके गरौ कसो गरौ को संग सल्लाह लिउ?यसै बीच तिम्रो भोगाइको याद झल्झली आयोlहाम्रै गाँउको मुखियाले तिमीलाई दलित भनेर अनेक अपशब्द र हेला गर्दा हाम्रो मुखमा माड हाल्न तिमीले गरेको लाख दुख सम्झीए र सम्झीए मेरो मेरो भौतिक दुखाइ केहि होइन जस्तो लाग्यो आफुलाई त्यतिकै पनि निको महसुस गरें……यसै क्रममा लाखौलाखको ऋण काँध भरी थियो,थोरै पनि बिचल्लित नभएर आफुलाई निको पार्दै लगे,र समयको ओखति संगै निको हुँदै गएँ राम्रै काम पनि पाएँ,केहि साथिभाईहरुको ऋण तिर्दै कम गर्दै गएको छु अब केहि बाँकी छ आमा त्यो पनि तिर्छु,म कम्जोर भएर आत्महत्या गर्ने मान्छे होइन,म समय र परिस्थति संग राम्रो संग परिचित हुँदै गएकी छु,मान्छेले गर्ने व्यवहार बुझ्न थालेकी छु,स्वाभिमान बचाएर बाच्न जानेकी छु आमा ……तिमी ढुक्क हौl
याहाको सबै भन्दा राम्रो कुरा लेख्नै बिर्सेछु आमा,तिमीलाई थाहा छ?याहा छुवाछुत छैन नि!दिनभरी काममा काम बिग्रिएर गाली गरे पनि दिउसो शाँझ एउतै भाडाको भात एकै ठाँउमा मिलिजुली खान्छौ,मालिक होस कि नोकर हो आमा याहा छुवाछुत छैन ………!
लेख्दा लेख्दै धेरै लेखि सकेछु,कतै उदि गल्ति भए सच्याएर पढ्न लगाउनु भाई बैनीलाई,रात धेरै भयो अब निदाउछु ,बाँकी अर्को पत्रमा लेख्छुl
बिदा चाहन्छु I
उही प्रदेशी छोरी
कविता ………
समुन्द्रपारीको देशबाट
दोलखा
हाल -दक्षिण कोरिया