एनसीसीको अस्तित्व र एक्सपायर भिजन (विश्लेषण )
फोनिज कोरिया संवाददाता
कोरियाको नेपाली समाजमा अहिले नेपाली सम्पर्क समिति (एनसीसी) बारे बहस चलिरहेको छ | यसको भावी नेतृत्व र अस्तित्वको बिषयलाई लिएर अनेक चर्चा र ब्याख्या हुने गरेका छन | अधिबेशन नजिकिंदै गर्दा यसको टिप्पणीहरु अझ बढी भएका छन् | कोरियामा फैलिएको मर्सका कारण दर्जनौं सस्थाले अधिबेशन रोक्न माग गरेका छन् भने सस्थापनले जुन २८ मा अधिबेशन गरेरै छोड्ने निर्णय गरेको छ |
एनसीसी कोरियामा रहेका आम नेपालीहरुको छाता र साझा संस्था हो, त्यसैले सबैखालका विचार र चिन्तनहरुलाई आफ्नो मार्गपथमा निर्देशक सिद्धान्तको रुपमा लिनुपर्दछ तर यसको बिपरित ती मूल्य मान्यता र मागहरुलाई कुल्चिने प्रयास गरेको छ | जुन २८ मै अधिबेशन गर्नुपर्ने खेलाँची कारणहरु पेश गरेर दायित्वबाट पन्छिन खोजेको छ | इतिहास बोकेको संस्था जिबन मरणको दोसाँधमा रहंदा सतही कारण देखाएर जिम्मेवारीबाट भाग्न खोज्नु ज्यादै दुखको बिषय हो | अभिमतको सम्मान र कदर गर्ने जमानामा निरंकुसता लादेर बुलन्द आवाजहरुको अपमान गर्न खोज्नु उतिकै खेदजनक बिषय हो | आखिर अधिबेशन गर्न किन हतार गरीएको छ त ? यसका केहि कारणहरु देखिन्छन |
औसत रुपमा अघिल्लाभन्दा अहिलेको कार्यसमिति असफल र बिबादास्पद रह्यो | दुई बर्षे कार्यकालमा जनमानसको मन जित्ने कुनै काम गर्न नसकेको घाम जतिकै छर्लंग छ | ‘यो एनसीसीले गरेको कार्यक्रम हो’ भनेर गर्ब गर्न लायक को कुनै काम कुरो अघि सार्न सकेन | सहयोग दिने र लिने बिषयमा सधैं छायाँमा रह्यो | जनसरोकारको बिषयमा उसको ‘क्लियर भ्वाइस’ कहिल्यै सुनिएन | एनसीसी एउटा स्वतन्त्र र ईतिहास बोकेको सस्था भए पनि लाचार छायाँको आरोपहरु धेरैपटक खेप्नुपर्यो | यस्तो अवस्थाले सिर्जना गरेको हतास मानसिकता र हीनताबोधको दलदलबाट यो समिति छिट्टै उन्मुक्त हुन चाहन्छ | अधिबेशन गर्न हतारिनुमा यो पहिलो र प्रमुख कारण हुनसक्छ |
त्यस्तै आउँदो कार्यसमितिका लागि दुई चारजनाको कोठे बैठकले तयार गरेको खाका अनुसार ‘पकेट- पात्र’ छनौट गर्न चाहनु दोश्रो कारण हुनसक्छ | यसअघिका परिघटनाले यस्तै प्रवृतिको पृष्ठपोषण गरेको छ | भन्ने बेलामा ‘साझा र छाता सस्था’ भनिए पनि पदाधिकारीको नामावली पहिल्यै पकेटमा तय गरिएको हुन्छ | मतदान प्रकृया केवल हात्तिको देखाउने दाँत मात्र हुने गरेको छ | किनभने सदस्यता बितरण ज्यादै संकीर्ण र मनोमानी ढंगले हुँदै आएको छ | सदस्यता वितरण र नबिकरणको खुल्ला कार्यक्रम नल्याइनुले पनि यो तर्कलाई अरु प्रमाणित गर्दछ | यस अघिका समितिहरुले पनि एनसीसीलाई तुङदेमुन दुर्ग वरिपरी मात्र राखेकै हुन् | यो प्रवृतिलाई अहिलेको समितिले पनि निरन्तरता दिने काम गरेको छ | यसै चंगुलबाट मुक्त हुन नसकेपछि सदस्यता वितरणलाई बिस्तारित र प्रभावकारी रुपमा अघि सर्न सकेन | न त सापेक्ष रुपमा बिधानको संशोधन परिमार्जन गर्नैसक्यो | अहिले सदस्य संख्या कति छ ? कति सदस्यको सदस्यता अध्यावधि गरिएको छ ? आर्थिक आयव्ययको पारदर्शिता के हो ? यस्ता महत्वपूर्ण यक्ष प्रश्नहरुको उत्तर खोजिने सम्भावनाबाट पन्छिन र ‘पकेट-पात्र’ नियुक्तका लागि जुन २८ उपयुक्त तीथि मानिएको हुनसक्छ |
अधिबेशनको मितिलाई पछि सार्दा एनसीसी कुनै संस्थामा मर्ज हुनुपर्छ भन्ने मत बढ्दै जाने निश्चित छ | यो मतको बहुमत भयो भने साँच्चै भोलि एनसीसी नरहन पनि सक्छ | यस्तो अवस्थामा ‘लेन्डुप दोर्जेको ट्याग’ लाग्नसक्ने र कोरियाको इतिहासमै यसको अपजस अहिलेको कार्य समितिलाई जाने भएकाले पनि अधिबेशनको हतारो भएको हुन सक्छ |
पछिल्लो समयमा एनसीसीलाई अस्तित्वमा राख्ने वा कुनै संस्थामा मर्ज भएको औपचारिक घोषणा गर्ने ? जस्ता बिषयमा पनि चर्चा र छलफल हुने गरेको छ | यो संस्था आफैमा बृहद छ | यसमा सबै बर्ग, जाति, भाषा, क्षेत्र र सस्कृतिलाई एकाकार बनाउन सक्ने दयारा छ | यति हुँदाहुँदै पनि केके कारण यसको भावी अस्तित्वमा प्रश्न चिन्ह खडा भयो ? कुनै समय कोरियामा सिंगो देशको प्रतिनीधित्व गर्ने संस्था आज किन यसरी धरासयी बन्यो ? किन साझा र छाता संस्थाको उपमा र पगरीलाई अक्षुण राख्न सकेन ? यसका केहि तात्विक कारणहरु छन् |
१. एक्सपायर भीजन :-अन्यथा नसोचिएमा हालसम्म एनसीसी ओल्ड भर्सनकै प्याटर्नमा चलेको छ | अझ स्पस्ट भन्नुपर्दा १९९० को दशकमा कोरिया प्रवेश गरेकाहरुले नै एनसीसी, एनआरएनको नेतृत्व र पदाधिकारी छनौटमा खुट्टा घुमाइरहेका छन् | यसलाई ओल्ड भर्सनको श्रेणीमा राख्न सकिन्छ | यो श्रेणीको नेतृत्व २००८ सम्म ठीकै त थियो | तर त्यस यता हाङगाङमा धेरै पानी बग्यो | योगीहरुको भूमि धेरै नेपालीहरुको पसिनाले भिज्यो | देशका सक्षम नागरिकहरुको आगमन ह्वात्तै बढ्यो | कलाकार,पत्रकार, प्राध्यापक, निजामती कर्मचारी मात्र नभएर जिल्लास्तरका राजनीतिक खेलाडीसम्म आए | संख्या बढ्दै गएपछि भरपर्दो समुदाय वा संस्थाहरुको खोजि हुनु स्वाभाविक थियो यो आवश्यकता पुरा गर्न क्षेत्रीय, जातीय र परोपकारी संस्थाहरु जन्मिएर काम गर्न थाले | उनीहरुको यो खोजि र आवश्यकतालाई एनसीसी जस्तो माउ संस्थाले ‘क्याच’ गर्न सकेन | नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सोच कहिल्यै भएन | कालान्तरमा नीर्जिब बस्तुले पनि रुपरंग परिवर्तन गर्छ’ भन्ने मान्यतासम्मलाई बुझ्ने क्षमता राखेन | समयले कोल्टो फेरिरहंदा पनि ‘एक्सपायर भीजन’ मै चलिरह्यो | जसले आजको स्थितिलाई निम्तो दियो |
२. नेतृत्वको असक्षमता:- एनसीसी यस्तो हबिगत अवस्थामा पुग्ने मुख्य कारण नेतृत्वको असक्षमतालाई लिन सकिन्छ | यसको भागीदार अघिल्ला नेतृत्वले पनि लिनुपर्छ | उमेरद्वारको सक्षमता जाच्ने कसीको अभावमा नेतृत्व असक्ष बन्न पुग्दछ | त्यसैको परिणाम हो अहिलेको अवस्था | यसबाट पाठ सिक्न जरुरि छ | कुनै पनि संस्थामा नेतृत्व फेरिएपछि अघिल्लो कार्य समितिको नकारात्मक पक्ष त्यागेर सकारात्मक पक्षलाई अनुसरण गर्नुपर्छ भने आफ्नो कार्यकालको प्रथामिकताहरुको सूची तयार कार्य योजना बनाउनु पर्दछ | दशक नाघ्दा पनि एनसीसीमा यस्ता कार्य योजनाहरुको सुची कहिले सुन्नमा आएन | मार्ग प्रसस्त बिनाको यात्रा जोखिम हुन्छ |
सलनाल छुसक जस्ता पर्वहरुमा नेपाली सस्था गर्ने कार्यक्रम बाडफाडमा आफैले तय गरेको मान्यता र बिधानलाई तिलान्जली दिएर काखा पाखाको नीति अख्तियार गर्नु एनसीसीको नेतृत्व असक्षमताको अर्को ध्योतक हो | यो प्रवृति अघिल्ला समितिहरुमा पनि देखिएकै हो | यहि नीतिका कारण नेतृत्व तहले सार्बजनिक स्थलहरुमा अपमान समेत भोगेका छन् |
३. ब्याच र भाषणमुखी कार्यशैली :-कोरियाको संघ संस्थामा देखिएको सबैभन्दा डरलाग्दो प्रवृति हो यो | प्राय संस्थाको नेतृत्वकर्तामा यो प्रवृतिले दरो जरा गाडेको छ | यो मुसा प्रवृतिकै रुपमा देखिएको छ | आफैले प्वाल परेको डुंगा डुब्न लागेपछि मुसा अर्को डुंगामा हम्फाल्छ | त्यस्तै केहि मुसाहरु अहिले नयाँ डुंगामा हाम्फाल्न दाउ हेरिरहेका छन | अनुत्पादक भाषण गरेर आत्मरतीमा रमाउनेको लर्को लामो छ | त्यसो त सकारात्मक चिन्तन भएका र रचनात्मक काम गर्ने कार्यकर्ताको संख्या पनि नभएको होइन तर केन्द्रमा ब्याच र भाषणमुखी कार्यशैली हाबी भएको देखिन्छ | यो प्रवृतिबाट मुक्त हुन नसक्नु एनसीसीको ठुलो दशा हो | थोरै भए पनि रचानात्मक काम गर्नु उपयुक्त हुन्छ | गर्ने मान्छेले भाषण र आसन नगरी नै ठुल्ठुला परोपकारी कामहरु गरेको सबैको आखा सामु छन् |
४.बौद्धिक तथा युवा पुस्ताको उपेक्षा :- अहिले कोरियामा जुझारु नेपाली युवाहरुको संख्या अत्यधिक रहेको छ | बिज्ञान, प्रबिधि र नेतृत्व कौसलमा दक्षता भएकाको संख्या कम छैन | उनीहरुलाई स्थान दिएर परिचालन गर्नको सट्टा उपेक्षा गर्यो | त्यस्तै संस्थाको भावी रणनीति र कार्ययोजना बारे बौद्धिकवृतसंग बेलाबेलामा परामर्श लिनु राम्रो हुन्थ्यो | एनसीसीले बौद्धिक वृत र युवा दस्ताको क्षमतालाई कहिल्यै आँकलन गर्नको सट्टा उपेक्षा गर्यो र सार्बजनिक सरोकारका बिषयहरुमा उनीहरुको मनोराय लिने काम कहिल्यै गरेन | तुङदेमुन दुर्गको परिधिमै फन्को मारी रह्यो |
५.नियमन संयन्त्रको अभाव :-एनसीसीलाई नियमन गर्ने कुनै निकाय छैन | उसले बिधान पालना गरेको नगरेको कुरा जाच्ने कुनै कसी छैन | नियमन संयन्त्रको अभावले अहिले स्थिति सिर्जना भएको गरेको पक्कै हो |
निष्कर्ष :- एनसीसी ऐतिहासिक संस्थामा दर्ज गरिरहने हो भने १५ औं अधिबेशन १ बर्ष पछि सर्नु पर्दछ र ६ महिनासम्म कुनाकुनामा पुगेर सदस्यता वितरण गर्नुपर्दछ | यसलाई ‘पुनर्जागरण अभियान’ संचालन गरेर सबै जातीय,बर्गीय र क्षेत्रीय संस्थाहरुसंग सद्भावनाको हात फैलाउनु पर्दछ | संस्थालाई मजबुत बनाउन क्षेत्रीय र बर्गीय बिभागहरु गठन गरेर परिचालन गर्नुपर्दछ | बिगतका कमि कमजोरीहरुलाई पर्गेलेर त्यसबाट पाठ सिक्नुपर्दछ | हालसम्म भएको आर्थिक गतिबिधिलाई पारदर्शी रुपमा सार्बजनिक गर्नुपर्छ | यसको भावी रणनीति र कार्य योजनाहरु स्पस्ट पार्नुपर्दछ | सबै खाले भावना, चिन्तन, बिचार र ३० हजार नेपालीलाई समेट्न सक्ने जुझारु कार्यसमिति बनाउनुपर्छ | झारा टार्नलाई मात्र हो भने जुन २८ नै पनि उपयुक्त तीथि हुनसक्छ | फेरी पनि यस्तै प्रसङ्गहरु एनसीसी रहेसम्म उठिरहने छन् |