आत्मनिर्भर बन्ने प्रयास गरौँ
‘यस्को दिमागमा गोबर छ |’सरले भन्नु हुन्थ्यो। म सोच्थ्येँ हरेक बिहान उठेर गोवर धन्दा गर्छु। मेरो दिमागमा गोवर पस्यो होला। तर पसेको सरले कसरि थाहा पाउनु भएछ?
कहिले काँहि कान छोपेर उठ्बस् गराउनु हुन्थ्यो ५०-६० पटक भन्नु हुन्थ्यो। म १०-१२ पटकमै थकित हुन्थ्येँ । म्याडमले भन्नुहुन्थ्यो यस्ले खानै नखाई आएछ कि क्या हो? हामी धेरै दाजुभाई थियौं। म सोच्थे आज बज्यैले रोटी पोल्दापोल्दै नपुगेर म स्कुल पुग्न ढिला हुन्छ भनेर नखाई हिडेको कसरि जान्नु भएछ?
हेर नानिबाबु हो धुलो मैलोमा खेल्नु हुदैन सर कालोपाटी अगाडी उभिएर बोल्नुहुन्थ्यो। अनि कालोपाटीमा चकले लेख्दै मेट्नु हुन्थ्यो। त्यहाँबाट चकको धूलो उड्थ्यो। सर खोक्नुहुन्थ्यो रुमाल झिकेर मुख छोप्नु हुन्थ्यो। क्लास सकिएर निस्कने बेलामा कपडाको धूलो टकटक्याएर निस्कनु हुन्थ्यो। म सोच्थ्यें हाम्रो सर म्याडमहरुलाई धूलोले केहि नहुने रैछ।
कहिले काँहीं घरमा कामको चटारो हुँदा आमाबज्यैले स्कुल विदा लिन भन्नु हुन्थ्यो। आज स्कुल नजा भन्नुहुन्थ्यो। म काम गर्नको दुःखले स्कुल कलास छुट्छ भन्दै जान्थे तर कहिले कहीं भोलिको पाठ गार्हो छ अर्थात सर-म्याडमहरुले केहि प्रश्न सोध्ने र कडाई गर्दै छ भनेपछि त्यो दिन स्कुल नजाने बहाना बनाउन्थ्येँ र माहारा (गोठालो) जान्थे ।
घरमा बज्यैले तरकारीको दुख भयो, के पकाउने होला? भन्दै चौलानोको झोलले उमाल्नु हुन्थ्यो। एक दिन स्कुलबाट भागेर हामी दुई तीन जना खेतको बाटो हुँदै फर्केका थियौं अरुले नदेखोस् भनेर। त्यो ‘सजेत्माको’ खेतमा कतै लसुन प्याज त कतै केराउ सिप्चना फलेको थियो त कतै आलुहरु। हामीले लसुन् प्याज उखलेउँ तर धेरै त आलु अनि केराउ र सिप्चना टिपेका थियौं होला। अब किताब संगै प्याज,लसुन,केराउ सिप्चना र आलुले झोला भरियो। मैले आमाले बुन्नु भएको तानको झोला बोकेको थिँए। भने साथीहरुको दुई काँधे सुर्काना भएको पछाडी बोक्ने झोला। साथीहरुको झोलामा मेरोमा भन्दा धेरै जान्थ्यो। मलाई अरुले देख्ला भन्ने डर थियो। भने एकातिर साँझ बज्यैले खुसि हुँदै तिहुन् पकाउने भइन् भन्दै फुर-फुर थिएँ। घरमा बज्यै खुसि हुने भइन् भनेको त उल्टै थर्काउदै गाली गर्नुभयो। जहाँबाट ल्याथिस् उहीँ छोड्न जा भन्दै कराउनुभयो। आमाले पनि साँझ माहाराबाट फर्किएपछि बेस्सरी गाली गर्नुभयो। त दाईले मकैसुलिमा बाँधेर दम्काउनु भयो। लौरा बजार्नु भयो। आङभरि नीलडाम बस्नेगरी। ‘खै त्यो बेला प्रहरी बोलाएर हात बाँधेर लौजान पठाउँछु’ भन्दै कराउनु हुन्थ्यो। सुत्ने बेलामा आमाले फकाएर खान खुलाउनु भयो अनि चोरेर हिडने होइन, एक फेरको चोर सँधैको चोर हो भन्दै नीलडाम मसार्दिनु हुन्थ्यो। म सुक्क सुक्क गर्दै भुसुक्कै निदाउथ्यें।
स्कुल जाँदा झोलामा गुच्छा , गुलेली अनि मुरली हुन्थ्यो। स्कुलमा सरहरुले देख्ला भनेर विच बाटोमै लुकाएर राखिन्थ्यो। स्कुलमा क्लास हापेर गुच्छा र खोपी खेल्न जान्थे । कहिले बीच बाटोबाट स्कुल नपुगी फर्किने गर्थे। अनि दिनभरी गुच्छा र खोपी खेल्यो बाटो माथि उनियो घारितिर सुत्यो। अनि स्कुलबाट फर्किने समयमा घर फर्कियो।
कतिपय अवस्थामा स्कुल जाँदा चकटी बोकेर जानु पर्थ्यो। झोलाबाट कोदोको रोटि र नुन खुर्शानी मगमग बासना आउंथ्यो। म जस्ता लुरे लाङग्राहरुको त ठूलठूला दाइहरुले खोसेर खाइ दिन्थे ।
स्कुलमा कहिले काहीं ठुलो ग्याङ्फाइट चल्थ्यो। टाढा बसेर लूकलुक काप्दै हेर्न खुब मजा आउंथ्यो। कतिपय अवस्थामा त् सरहरुनै भागाभाग गर्नुहुन्थ्यो। अनि सानासानाको झगडा रहेछ भने छातीमा छोपेर अफिसमा लैजानु हुन्थ्यो। म भने लडाँइको केशमा अफिस जानु परेको सम्झना छैन।
मैले ए,बि,सी,डी औपचारिक शिक्षाको कक्षामा ४ पुगेर सिकेको हुनुपर्छ । घरमा दाइहरुले चाँहि ठुलो ए,बि,सी,डी सिकाई सक्नु भएको थियो। अर्थात अंग्रेजीमा आफ्नो नाम लेख्न ४ कक्षा पुग्नु अगावै, ठुलो अंग्रेजीमा जानी सकेको थिएँ।
म शहर बजारतिरको कुरा गर्दै छुईन। यो मेरो गाँउले जिवनको भोगाई हो।गाँउले जिवन एउटा गरिब परिवारको छानोभित्रको कुरा। स्कुल पढ्न डेढ् घण्टा हिडेर जानुपर्थ्यो। त्यो शहर बजार के थाहा ? कतै किताबमा चित्र देखे खुब चाख्लाग्दो गरि हेरिन्थ्यो। ओहो! गाडी,माऊ र बच्चा अर्थात ठुलो बस वा ट्रक र ट्याक्सी।
बिहान उठेर एक भारि घास काट्नु अनि एक डेढ्- घन्टाको पैदल हिडेर स्कुल पुग्नु। अनि स्कुलबाट छुटेर साँझ एक भारि घाँस काट्न आइ पुग्नु। बिहान खाएको फाडों र आटों अनि मोहीले दिनभरी पेट थाम्नु साँझ घर फर्किएपछी चिसो आटों र कालो मासको दाल निउरो वा जलुका मिसाएको अनि जिरे खुर्सानी ठोसेर वाह!!! कोदोको २-३ ओटा रोटि बजाएर स्कुल जाँदा भोक लाग्थ्यो यमुना होटेलको जेरी र समोसा अनि दुनट हेरेर पेट अघाइन्थ्यो,त्यो त गोजिमा पैसा हुनेहरुको लागि न थियो।
सुरुका स्कुलले दिनहरु कष्टपूर्ण नै रह्यो, कहिले खाली खुट्टा त कहिले, घुसिरी खेल्दा पछाडी प्वाल परेको जाँगे। घरमा खेतबरिबाट भित्रिएको अन्नबालीले हाम्रो ठुलो परिवारलाई मुस्किलले कात्तिक मंसीरदेखि चैत बैशाखसम्म धान्थ्यो। त्यसपछि बेसाउनु पर्ने भिमादको चामल अर्को वाली नभित्र्याउँदा सम्म। बाबाले भने, सबै ७ दाजुभाइको हुर्काउने, बढाउने र पढाउने जिम्मेवारी आमा र बज्यैलाई छाडेर जानु भएको रे सदाको लागि। धन्न गोराहरुको नुन खाएर जापानीजसंग बर्मामा दुवो खाएर खुकुरी नचाएर गोर्खेको बहादुरि देखाएको प्रतिफल स्वरुफ बाजे बित्नु भएपछी बज्यैले महिनाको हजार-पन्ध्र सय भेट्नु हुन्थ्यो। त्यसैले जेन् तेन् घर खर्च चल्थ्यो। ठुला दाइहरु भारतीय सेनामा गोर्खा फौजमा भर्ति भएपछी भने ठुलो राहत मिल्यो।
अलि ठुलो भएपछी
कुखुरे वैश चढेछ। कसैलाई मन पराउन थालेछु। कसैसंग लभ लेटर लेख्ने चक्कर पनि चल्यो। मन पराएको केटीलाई हेरेर स्कुलमा दिन काट्नु पनि क्या आनन्द आउथ्यो। त्यसपछि भने स्कुल नबिराई जान थालेछु क्या हो। उनि क्या! राम्री आकाशे रंगको कमिज र निलो फ्रकमा। म लाइन लगाउँदा देखि उनलाई चिहाउन सुरु गर्थें । हैट ! कसैले थाहा पो पायो कि संकोच मानेर। प्रेम पत्रहरु आदानप्रदान हुन्थ्यो साथी मार्फत । साथी हुलाकी बन्दिनुहुन्थ्यो। अनि म पनि साथीको लागि।
तर अहिलेको समय भने फरक छ। हिजो हामी रोटि बोक्थ्यों आज पैसा बोक्छन् खाजाको निम्ति। हिजो हामी गुच्छा, खोप्पी खेल्थेउँ, त्यसको ठाउँमा क्यारेमबोर्ड छ। हामी प्रेम पत्र लेख्थेउँ अहिले मोबाइल छ, एसएमएस छ। समयले ल्याएको परिवर्तन।
स्कुलका दिनहरु यसरीनै सकिदै गए। जसो तसो गरेर भए पनि कलास उक्लदै थिएँ। फेल भएर कुनै कलासमा दोहरिनु परेन खै कसरि हो आफैलाई थाहा छैन। कुनै क्लासमा त पुरस्कार पनि हात पारे त्यसपछि भने ब्रिगेको पक्कै हो। जसो तसो एस.एल.सी पास् गरे।
आज मुग्लान बसेर त्यो स्कुले जिवनको उपद्रो र बदमासी पलहरुलाई स्मरण गरेको मात्रै हूँ।
यस वर्षको एसएलसी परिक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसअनुसार १ लाख ९२ हजार २ सय ६७ विद्यार्थी उत्तीर्ण भएका छन् । अब यी विधार्थीहरुले उच्च शिक्षाको लागि सर्टिफिकेट् हात परेका छन्। तर अब त्यसको साथमा ११-१२ पढ्दै गर्दा धेरैको हातमा नीलो पासपोर्ट पर्ने निश्चित छ। धेरै युवाहरु आफ्नो तराई जस्तो छातीको चौडाई र सगमाथा जस्तो शीरको उचाई नापेर बेलायत, सिंगापुरको र भारतीय गोर्खा भर्तीमा योग्य हुनको लागि तालिम लिनेछन्। भने कोहि कहाँ छ राम्रो कमाई, कुन देश जाने? विधार्थी भिषामा जाने कि रोजगारी भिषामा ? कि भिजिट भिषामा गएर लुक्दिने ? नत्र नेपाल बसेर त् के गर्नु यार। भन्ने नै हुन् म्याक्सिमम्।
हिजो मेरो बाजे नपढेर पनि विदेशकै गुलामी बनेकै थिए। आज नातीको पाला यो झन् विकराल अवस्थामा छ। म नाती पनि विदेशमै गुलामी बन्दै छु। सरकार फ्रि टिकट र फ्रि भिसा खोज्दै छ रे युवाहरु विदेश सप्लाई गर्न। म जस्ता गरिबको लागि फ्रि मा विदेश गएर कमाउन पाउनु त सौभाग्य नै हो। तर परनिर्भर बन्दै गरेको हामी नेपाली र रेमिट्यान्सले देश धनि बनाँउछु भन्ने सरकारको विचारमा कहिले चेत् पस्ला? आखिर कहिलेसम्म ? के मेरो नातीले पनि विदेशनै हिड्नुपर्ला त? उल्लेखित प्रश्नहरु गम्भीर छन् | बरु देशको स्रोत साधन परिचालन गरेर स्वदेशमा आत्मनिर्भर हुने प्रयास गरौँ | हाम्रो दश वर्षको कमाई केवल कागजको खोस्टो नबनाऔं |