हिसाव र शैलुङे
हन भाइहरु म चाही शान्ता राई हो क्या । पढ्न त पढियौ हौ उतै क्या झापा तिरै । अन्त तिमीहरुलाई पढाउन आको कि । उनी कक्षामा पस्ने बितिक्कै यस्तै कुरा सुनाउँथिन् । गोरीगोरी, थेप्चो नाक, चिम्सा आँखा, होचा कदकी शान्ता म्याम ।
म्याम मेरा लागि इङलिसे गुरु गोपाल राईले भर्खरै बिहे गरेर ल्याएकी नयाँ दुलही म्याम थिइन । अनि पछि मात्रै हामीलाई गा¥हो लाग्ने बिषय पढाउन आएकी शिक्षिका ।
उनी आएको पहिलो दिन गोपाल गुरुले दुलही ल्याए रे भन्ने खुव चर्चा भयो । बिद्यालय भरी एक खालको हल्ला र तरंग फैलियो । नयाँ शिक्षक आउँदा जहिल्यै पनि हामी कस्तो आउँला भनेर सोच्थ्यौ । उनी हामी स्कुल पुग्नु पहिले नै अफिसमा छिरिछिन् । हामी मास्टर बस्ने कोठालाई अफिस कोठा भन्थिउँ । त्यो कोठा अग्लो ठाउँमा थियो । भिरालो ठाउँलाई सम्याएर बनाइको । ढोका छिर्नलाई अग्लो ढुँगाको सिढी बनाइको थियो । केही भन्न परे त्यो अग्लो सिँढी चढेर जानु पर्ने । अफिस कोठाका भिरालो पट्टि झ्याल थिए ढोका भन्दा होचा । विद्यार्थी अफिसमा केही भए त्यही झ्यालमा झुन्डिन्थे । हेर्थे ।
पहिले नदेखिएकी गोपाल गुरुको दुलहीलाई हेर्न मन नलाग्ने कुरा भएन । त्यसैले कक्षा आउनु भन्दा पहिले नै अफिसमा हेर्ने भयौ । हुन त बिद्यार्थी बेलामा जे मा पनि उत्सुक्ता हुन्छ । झन नयाँ मान्छे आयो भने त मास्टरसाहेबहरुलाई अफिसको सानो प्वाल र झ्यालबाट झुम्मिने बिद्यार्थीलाई धपाउँदैमा बित्छ ।
धेरै विद्यार्थी पहिलेदेखि नै झ्यालमा झुन्डिएका थिए । म पनि झुन्डिएँ । भित्र एक सुरले हेर्न मात्र लागेको थिएँ । झ्यालमा झुन्डिएका सबै भकाभक उफ्रदै भाग्दै गरे । म पनि भाग्न लागेको एउटा मास्टरले मलाई च्याप्पै समायो । एक झापड हानिहाल्यो । झ्यालबाट दुलही म्याम त देखिएन नै बेकारको झाप्पु खाइयो । पहिलो गाँसमै ढुङगा । यस्तो कुटाइ खाइखाइ जावो दुलही म्याम । म हारेको अनुहार लगाएर गएँ कक्षा कोठामा ।
एकै छिनमा उनी चक र डस्टर बोकेर हाम्रै कक्षामा आइन । थुक्क एकै छिनमा देखिने रैछ बेकारमा झाप्पुको लागि झुन्डियो । उनले हामीलाई हिसाव बढाउने भइन । यो बिषय मेरा लागि कहिल्यै प्यारो रहेन । मलाई अहिले सम्म पनि केही गा¥हो लाग्छ भने यही हिसाव हो । केटाहरुले थेगो नै बनाएका थिए हिसाव भन्यो कि डरले पिसाव आउँछ । हो यही बिषय पढाउने भइन उनले । हामी सात कक्षामा थियौ ।
सानो कक्षामा एकदेखि सयसम्म भन्न पथ्र्यो । अनि दुनोट । खुब रमाइलो लाग्थ्यो । दुनोट भन्दा चाही सबैले एकै स्वरमा दुई एकाने दुर्ई, दुई दुना चार, दुई तिया छ भनेर गीत गाउँथे । यस्तो बेलामा जति चर्को स्वरमा कराए पनि कसैले थाहा नपाउने । स्कुलमा अरु कक्षामा जे पढाई भए पनि दुनोट पढाई हुने कक्षाको गीतले सबैलाई डिस्टर्ब हुन्थ्यो । । मास्टर आउँथे । बिस्तारै पढ भन्थे । मास्टरका कुरा इस । ती कक्षाबाट अर्ति दिएर निस्कने बितिक्कै उस्तै स्वर हुन्थ्यो । निक्कै रमाइलो । पढाई भन्दा पनि कराई ।
माथिल्ला कक्षामा पुगेपछिका कुरा बेग्लै भए । हिसाव जान्नु केही थिएन । एउटा सुत्र माथि अर्को सुत्र । त्यो कताबाट कसरी आयो पत्ता नहुने । कताको होल स्क्वायर कताको क्यू । कताको ब्राकेट कताको ट्रयाङ्गल । मलाई केही शुद्धि नआउने । प्रत्येक दिन केही न केही सुत्र पढनै पर्ने । ओहो मलाई अरु पिरियडमा कुनै चिन्ता थिएन तर हिसाव भने पछि त्यस्सै उकुस मुकुस हुन्थ्यो ।
मलाई लाग्थ्यो सुत्र बिनाको हिसाव गरेर देखाउने पो जान्ने मास्टर । नत्र त जो आए पनि बाल । शान्त म्याडमले पनि उस्तै हिसावका सुत्र कन्ठ गर्नु भनिन् । आफूलाई अरु धेरै कुरा बुझे पनि जिन्दगीभर नबुझेकै कन्ठ गर्नु हो । मलाई कन्ठ गर्ने फुर्सद पनि हुदैन । बेलुकी घर फर्किनु । बिहान स्कुल आउनु । लामो बाटोको बिद्यार्थीको मर्का आफ्नै थियो ।
सुत्र कन्ठ नगरे पहिले पहिलेका मास्टरले कुट्थे । वनमाराको सिरकना कति भाचिन्थे भाचिन्थे । आफ्नै हातमा सिरकना भाँच्न आफै वनमारा भाच्न जानु पथ्र्यो । तर अव यी शान्ता म्यामको भने हातमा सिरकनाको डाम होइन कार्वाही गर्ने चाला फरक थियो । भन्न जानेनन् भने उनी कि त चुट्किला, कि गीत कि कबिता जे भने पनि हुने । भन्न चाही भन्नै पर्ने । त्यसैले पनि मलाई सजिलो भयो । म रेडियोमा गीत सुन्थे । कुन्ती मोक्तान, नारायण गोपाल, नातिकाजी, प्रेमध्वज प्रधान, अरुणा लामा अनि अरु धेरैका । मलाई आउने गीत भनेको कुन्ती मोक्तानको माथि माथि शैलुङेमा चौरी डुलाउनेलाई मात्र थियो । अरु गीत सुन्यो बिर्सन्थे । यो गीत आफ्नै गाउँ शैलुङेको भएकोले पनि अलि सम्झन्थे । अनि सुत्र आएन कि म गीत गाउँछु म्याम भन्थे ।
उनी स्विकृतिको लागि टाउको हल्लाउँथिन । म मेरै तालमा माथि माथि शैलुङे भनिदिन्थे । एक दुइ र पटक पटक शैलुङे दोहिरोन थाल्यो । अनि कन्ठको कुरा आयो उनी म तिर हेरेर भन्थिन ।
हन यो केटाले के गर्छ हौ ? अरु गीत त सुनेकै पो छैन कि के हो ? सधै शैलुङे शैलुङे ।
धेरै पटक शैलुङे गाए पछि मैले जानिन भने पनि उनी भन्थिन भो हो भो यो केटाले गाउने त्यही त होला शैलुङे । लु भो हौ । बस । शैलुङे जसरी पढेको भापो हुन्थ्यो हो ।
अव मैले गीत पनि गाउन नपर्ने भो । मनमा रमाइलो लाग्यो । अनि मलाई लाग्यो साँच्चै यो शैलुङे जस्तै हिसावका होलस्क्वायर र क्यू थोरै भए पनि सम्झना भए । उनले त्यस पछि हामीलाई पढाइनन् । म जसो तसो हिसावमा पास भएँ । जे ग¥यो शैलुङेले ग¥यो । त्यस पछि पनि मेरो र हिसावको दुस्मनी भने कायमै छ ।
०००
सात बर्ष पहिले ती शान्तम्याम अस्वथ्य भइछिन् । स्कुल छाडेको झन्डै १५ बर्ष पछि । नराम्रो लाग्यो । दुबै किड्नी फेल भएछ । सकेका सबै गरे गोपाल गुरुले । तिनले भारत लगेर म्यामको किड्नी पनि फेरे । केही महिना राम्रो भो । दीन सबैको तोकिन्छ रे पहिले नै । सकिए पछि जे गरे नि हुदैन रे । मान्नेहरु यसलाई गुरु मन्त्र झै मान्छन् । यसलाई नमान्ने पनि होलान् । बस, शान्तम्यामलाई सधै सम्झिरहन्छौ ।