कोरियामा दशैं, कसरी मनाउदै छन नेपालीहरुले ?


दक्षिण कोरिया, नेपाली हिन्दूहरुको महान पर्व हो दशैं । यतिखेर बडा दशैंको चहलपहल हरेक नेपालीको घरआगानमा भित्रिरहेको बेला प्रवासमा रहेका नेपालीहरुको बिचमा समेत दशैंको रौनकता छाएको छ ।
कोरियामा रहेका विभिन्न नेपाली संघसंस्थाहरुले विगतका वर्षहरुमा झैं यसपटक पनि दशैंको अवसर पारेर सार्वजनिक विदाको दिन आइतबार संयुक्त रुपमा दशैं मनाउने कार्यक्रमको आयोजना गरेका छन् ।
नेपाली पात्रो अनुसार अशोज २५ गते अर्थात अक्टोबर ११ तारिख विजया दशमी परेपनि कोरियामा रहेका नेपालीहरुले भने यहि ९ तारिख आइतबार दशैं मनाउने भएका छन् ।

दक्षिण कोरियाको राजधानी सोलमा आइतबार गैरआवासिय नेपाली संघ एनआरएन कोरिया शाखाको संयोजकत्वमा कोरियामा क्रियाशिल अन्य संघसंस्थाको संयुक्त आयोजनामा सोलस्थित केडिबी बैंक रहेको भवनमा दशैं कार्यक्रम मनाइने भएको छ । त्यस्तै किम्हे माइग्रेन्ट हाउसले पनि आइतबार इन्जे युनिभर्सिटि नेपाली परिवारको व्यवस्थापनमा इन्जे युनिर्भसिटिमा दशैं कार्यक्रमको आयोजना गर्ने भएको छ ।

यसरी कोरियामा रहेका नेपालीहरुले प्रवासमा दशैं कसरी मनाउदैछन् ? फोनिज कोरिया डट नेटका लागि बाला राईले तयार पारेको केही प्रवासी नेपालीहरुको भनाई उनीहरुकै शब्दमाः

नेपाली भाइबहिनीहरुसँग दशैं मनाउन पाउँदा खुशी लाग्छ
मानसिंह गुरुङ
ब्यवसायी

mansing
बाह्र वर्ष भएछ कोरियाबाट दशैं सम्झेको । सुरुमा कोरिया आउँदा नेपालीहरुको संख्या धेरै थिएन । त्यसैले दशैं खासै मनाइएन । तर अहिले धेरै नेपालीहरु छन् । रेष्टुरेन्टमा आउँछन्, नेपाली भाइबहिनीहरुलाई टिका लगाइदिन्छु । दुई साल भने जुठोमा भएकोले दशैं मनाएनौं । पोहोर साल  बुबाको जुठो फुकाउन नेपाल गएको थिएँ । यो साल दशैं रमाइलो गरी मनाउने सोच छ । त्यसैले जमरा पनि राखेका छौं । टिकाको दिन मंगलबार परेकोले अरु काम गर्ने भाइबहिनीहरुको बिदा नपर्ने र मेरो पनि सउल जानुपर्ने काम भएकोले अर्को आइतबार दशैं कार्यक्रम राखेको छु । दशमी अगाडि नै के टिका लगाउनु र भनेर अर्को आइतबार कार्यक्रम राखेको हो । सँगैं दशैं मान्नको लागि सबैलाई निम्तो पनि दिन चाहन्छु थेगुको बालाजी रेष्टुरेन्टमा ।

जति उमेर घट्दै जान्छ त्यति आफ्नो गाउँघर र देशको यादले सताउँदो रहेछ । सानोमा गाउँमा दशैंमा टिका थापेर पिङ खेलेको रमाइलो पल कहिल्यै भुल्न सकिन्न । अलि ठुलो भएपछि काठमाडौं शहर पसियो
। त्यो बेलाको दशैंको मजा अर्कै थियो । मान्यजनबाट टिका आर्शिवाद थापेर साथीभाईसँग तास खेल्न बसिन्थ्यो । अहिले परदेशमा नेपालीहरु आउँछन् । टिका लगाइदिन्छु अभिभावक भएको महशुस गर्छु खुशी लाग्छ । परिवार सँगै दशैं मनाउन नपाएको त १४, १५ वर्ष नै भइसक्यो । छोरीहरु अष्टेलियामा छन् हामी कोरियामा । तर नजिकका आफन्त नभएपनि नेपाली भाइबहिनीहरु आउँछन् आफ्नै झैं लाग्छ खुशी लाग्छ ।

चाडपर्व भन्ने बित्तिकै म नोस्टाल्जिक हुन्छु
धिरज चौधरी
बिद्यार्थी, ख्योङगी विश्वविद्यालय

dhrijchaudhary

नेपाल बाहिर यो मेरो दोस्रो दशैं हो । सन् २०१५ मार्च महिनामा कोरिया आएयता सबैजसो चाडपर्वहरु प्रवासी ढंगबाटै मनाइदै आइरहेको छु । चाडपर्व भन्ने बित्तिकै म नोस्टाल्जिक भईहाल्छु । अझ दशैं, तिहार, छठ जस्ता महान चाडपर्व आउँदा त घरको यादले मन भक्कानिन्छ । नेपालमा रहदाको अन्तिम दशैं खुब रमाइलो भएको थियो । मेरो कोरिया उड्ने लगभग पक्का भएकाले पनि नेपालको त्यस वर्षको दशैं विशेष महत्वकासाथ सपरिवार छिन्नमस्ता मन्दिर, सखडा, सप्तरी गएर मनाएका थियौं ।

नेपाल रहदा दशैंमा साथीभाईसँगै रमाइलो गरेर, घुम्न गएको, खानपानमा जमेको, तास खेलेको, दशमीका दिन मातापिता र आफन्तजनबाट टिका लगाएको सम्झनाहरु अहिले झलझली आउँछ ।

गत वर्षको कोरियाको मेरो दशैं जीवनकै सबभन्दा खल्लो रह्यो । कोरियामा पहिलो वर्ष भएर पनि होला र यहाँ राम्ररी घुलमिल नभइसकेकोले सायद पोहोर सालको दशैंको सम्झना मानसपटलमा रहदै रहेन । यस वर्ष चाहीँ सुवनको योन्मुदोङस्थित ख्योङगी विश्वविद्यालयमा अध्ययनरत सबै नेपालीहरु मिलेर दशैं मनाउने योजनामा छौं । शनिबार र आइतबार बिदा परेकोले र सोहि दिन फूलपाती र महाअस्टमी पनि रहेकोले घरमै विभिन्न नेपाली परिकारहरु बनाउने छौं । प्रवासमा आफन्त भनेकै साथीभाई हुँदारहेछन् । त्यहिभएर अन्य विश्वविद्यालयमा रहेका र इपिएसबाट आउनुभएका साथीभाईहरु सबै जम्मा भई गेटटुगेदर गरेर धुमधामसँग दशैंको रौनक ल्याउने तरखरमा छौं । र सँगसँगै अक्टोबर ११, मंगलबारको दिन विजया दशमीको शुभ साइतमा साथीभाईकै हातबाट टिका लाएर स्वदेश र आफन्तको नियास्रो मेटाउने छौं ।

कोरिया र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुको भाग्य चम्कियोस, सुख समृद्धि फैलियोस्, शान्ति छाओस्, स्वस्थ जीवन रहोस्, खुशियाली होस् र माता दुर्गाको आशिर्वाद सबैलाई सदा रहिरहोस् । मेरो तर्फबाट सबैजनालाई दशैंको शुभकामना ।

कोरिएन साथीहरुसँग नेपाली चाड दशै मनाउने योजना छ
एलिसा सिंह
मोडेल, कलाकार

aalisha

मान्छे एक श्रमजिबी प्राणी हो । उ, आफ्नो जिविकोपार्जनको लागि एक ठाउँबाट अर्को ठाउँमा जाने गर्दछ । यसैक्रममा म सहत लाखौं नेपालीहरु विदेशमा प्रवासी जीवन बिताइरहेका छौं । नेपाल र विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई विजया दशमीको शुभकामना दिन चाहन्छु ।

नेपालमा हुँदा दशैमा नयाँ लुगा लगाउने, आफुभन्दा ठुलाबडाको हातबाट टिका थाप्दै आशिस र दक्षिणा लिने र साथीहरुसँग मिलेर पिङ खेल्न गइन्थ्यो । दशैं भन्नासाथ छुट्टै किसिमको उमंग मनमा आउथ्यो । अहिले करिब सात बर्षदेखि कोरियामा नै दशैं मनाउदै आएकी छु । कोरियामा विभिन्न संघसंस्थाले आयोजना गरेको दशैं कार्यक्रममा गएर सामुहिक दशै मनाउदै आएका छौं । तर यसपटक भने म कोरिएन साथीहरुसँग नेपाली चाड दशै मनाउने योजना छ । फेसबुकमा दशैंको रमझम देख्दा नेपाल जान मन लाग्छ । तर केही समय अघि नेपाल गएर आएकोले दशैंमा भने जान सक्दिन । त्यसैले कोरियन साथीहरुलाई नेपाली महान चाडको बारेमा जानकारी पनि दिने अनि सँगै मनाउने विचारमा छु ।

म त उस्लाई खुबै सम्झन्छु तर थाहाछैन उस्ले भुल्यो कि ?

सुर्य खत्री घायल
साहित्यकार

14569194_1082275051848450_1828780650_n

सबैमा बढा दशैँको हार्दिक हार्दिक शुभ-कामना!! दशैँको फन्कोले मलाई नभेटी गएको त धेरै भो यसपालिको सातौँ फन्कोले पनि नछोइ जाने निस्चित छ । म त उस्लाई खुबै सम्झन्छु तर थाहाछैन उस्ले भुल्यो कि सम्झिराखेको छ कुन्नि! म उस्लाई बारिको डिलमा सेतै फुलेको टाँकिमा सम्झन्छु पिङ्डाँडाँमा हालिएको लिङ्गे पिङ्को लिङो जोड्दाको पलमा सम्झन्छु अनि सम्झन्छु लठारो बाट्दाको बाबियोको पोयो सङ्गैको रिङ्गटामा ।  खै ? दशैँले मलाई कत्तिको सम्झेको छ । तर म पलपल यादमा डुब्छु । जब सोर्ह स्राद्ध भित्रन्छ मन भित्र कता कता बेचैनिको आँधी मडारिन्छ र सलहले बन खाए झै मन खान थाल्छ । अतितले साथीले काम्रो लुकाइदिँदा खुटा खाँदिएर दुखी दुखी खेलेको पिङ्को सर्को, लह लह मार्सी धान झुलेको गैर्ही खेत लाज पचाइ पचाइ साइनो केलाएर लगाएको टिका र जमरा र दक्षिणा भेटे पछी चर्पी जाने बहनामा गोजिको पैसा निकालेर गनेको क्षण त्यस्तो प्रिय दशैँ मलाई नभेटी गएको धेरै भो तन जती बढे पनि मन केटा केटी नै हुदोँ रहेछ खै किन हो मन छिप्पिन नसकेको ।

मेरो प्रिय दशैँ हातमा टिका जमरा सयपत्रीको थुङ्गो पिङ्को काम्रो बोकेर आइदियोस झै लाग्छ ।  खै आउँदैन, उ निस्ठुरी भएको होकी उस्को लागी म निस्ठुरी भएको हुँ सोचिरहेछु।  यहाँ समचार सुनेरै दशैँ आयो भन्ने थाहा हुन्छ र सुनेरै समचार फेरी दशैँ गयो भन्ने पनि जानकारी पाइन्छ। कुनै बेला एक जोर नयाँ लुगा, उहि बिहान बेलुका पाक्ने भात र मासु अनि अलिकती खुजुरा पैसा भित्र दशैँ छर्लङ्गै देखिन्थ्यो । तर  आज महङ्गा कपडा, उहि मासु उहि भात, गोजिमा त्यो भन्दा केहि धेरै दाम हुँदा पनि किन दशैको अनुभुती हुन सकेको छैन ?

म प्रश्न माथी प्रश्न सोध्छु आफ्नै मन सङ्ग तर नाजवाफ छ मन । म निरन्तर सोचीरहन्छु सबै थोक पाएर पनि किन दशैँ, दशैँ जस्तो हुँदैन प्रबासमा ? सायद दशै,दशैँहुनको लागी त्यती मात्र पर्याप्त नहुँदो रैछ चाहिने रैछ आफ्नो माटो, गाउँले मिलेर खनेको भर्खरैको आलो बाटो अनि दशैँ बोलाउन बजाएको नर्सिङहाको रन्को आदी आदी । प्रबासको दशै लाग्छ बाह्र मसला हालेर पकाएको तर नुन हाल्न बिर्सेको तर्कारी झै खल्लो । भन्नलाई त खुब मनाइयो भनिन्छ र मनाएको स्वाङ पनि गरिन्छ तर आफ्नै मनले स्विकार्दैन किन हो किन र सोधिरहन्छ अफैलाई ।

खोइ बाँसका लिङ्गा जोडेको पिङ ?खोइ असार देखी साँचेको केराको घरी ? ?अनी खोइ मुस्लिले उधारेर निकालेका अनदिका चिउरा ? कहाँ छ टाट्नामा बाँधेको घोर्ले दशैँ ?कल्पिदा कल्पिदै बिहानको साडे आठको अलार्म लाग्छ झस्किन्छु हतार हतार उठ्छु उहि तेल र ग्रीज लगेका कच्याक कुचुक परेका लुगा अनि औंलाको टुप्पामा फाटेर स्टिल निस्केका जुत्ता हतार हतार खुट्टमा घुसारेर ति पौठे जोरी खेल्ने अतितलाई पोको पारेर एउटा कुनामा फ्याल्दै उहि प्राबसी हुनुको धर्म निर्बाह गर्न बाटो लाग्छु । फेरी भरे त्यही अतितमा डुब्नु त छदैँ छ ।

साथीहरुसँग भेटघाट गरेर दशैं मनाउने विचार छ
सहदेव भाट
मोडल, कलाकार

sahadev

कोरिया आएको चार वर्ष भन्दा बढी भयो । बिचमा एक पटक पनि आफ्नो देश जान सकेको छैन । अरु बेला भन्दा चाडपर्वको बेला घरको धेरै नै सम्झना आउँछ । कोरिया आएदेखि दशैं तिहारको बेला एकपटक पनि घर जाने मौंका मिलेको छैन ।

घरमा हुँदा विभिन्न मन्दिर धामहरुमा गएर पूजाआजा गरेको र साथीभाइ इस्टमित्रहरुसँगको भेटघाट र खानपिन निकै याद आउँछ । जुन यहाँ सम्भव छैन । त्यो दिन घरमा फोन गर्दा पनि एकदमै फरक अनि एक्लो महशुस हुन्छ । चाडपर्वमा साथीहरुसँग सकेसम्म भेटघाट गरेर रमाइलो गर्ने सोच हुन्छ तर कामको व्यस्तताले सम्भव हुन्न । कहिलेकाँही बिदाको दिन सँगै बसेर खानपिन गरिन्छ । विभिन्न संघसंस्थाहरुले आयोजना गरेको कार्यक्रममा सहभागी भएर पनि चाडपर्वको नियास्रो मेटिन्छ ।

यसपालीको दशैंको बेला भने समय मिलाएर साथीहरुसँग भेटघाट गरेर मनाउने विचार छ । मलाई यो समयको मौसम र वातावरण नै धेरै मन पर्छ । प्रवासमा रहनुहुने र सारा नेपालीहरुलाई दशकैंको शुभकामना । दशैं रमाइलो गरी मनाउनुहोला ।

नेपालमा दशैं नमान्नेहरु पनि परदेशमा दशैं मान्न सहभागी भइरहेका हुन्छन्
अन्जु केसी
समाजसेवी

anju

नेपालमा परिवारकासाथ सँगै बसेर दशै मनाउन नपाएको पनि १५ वर्ष भएछ । चाडपर्वमा घरपरिवारको बढी नै याद आउने भएकोले पनि दक्षिण कोरिया आएको केही वर्षसम्म त चाडपर्व नआइदिए पनि हुन्थ्यो झैं लाग्थ्यो । पहिला सिमित नेपालीहरु भएकोले अहिलेको जस्तो थुप्रै नेपालीहरु जम्मा हुन सक्ने वातावरण बन्दैन थियो । त्यसकारण नेपाली चाडपर्वमा नेपालको याद आउने र आफ्नो परदेशी जिन्दगी देखेर आफनो मन खिन्न तथा न्यास्रो बनाएर बस्नु भन्दा यस्ता चाडपर्व नआएकै राम्रो लाग्थ्यो । तर, पछि नेपालीहरुको संख्या जानथालेपछि नेपालीहरुको बिचमा चाडपर्वहरुमा विशेष भेटघाट कार्यक्रमहरुको आयोजना हुन थालेपछि भने केही मात्रमा रमाइलो हुन थाल्यो ।
चाडपर्वको अवसरमा चाहेर पनि भेट हुन नसकेका दिदीबहिनीहरुसँग पनि भेट हुने अवसर मिलेपछि अहिले त यस्ता चाडपर्व आइरहोस् झैं लाग्छ ।  विगत र वर्तमानका बुझाइ र भोगाइले आजसम्म कोरिया बसाईको बेला चाडपर्वहरु आउदा सुखद र दुखद दुबै आत्माअनुभूति भएको महशुस गर्छु ।

विगत लामो समयदेखि प्रवासमा बसेर चाडपर्वहरु मनाउदा नेपाल र कोरियाको बिचमा केही तात्विक भिन्नता देख्न सकिन्छ । जस्तै, नेपालमा दशैं नमान्नेहरु पनि परदेशमा दशैं मान्न सहभागी भइरहेका हुन्छन् । जाती, धर्म नभनी नेपाल र नेपाली हुनुको गौरव प्रवासमा प्रस्ट देखिनु पनि खुशीको कुरा हो । नेपालमा आफ्नो परिवार नातागोता र आफन्तभित्रमात्र टिका लगाउने गरिन्छ भने यहाँ पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका हरेक नेपालीहरु भेटेर चाडपर्व मनाउदा नेपालीबिचको प्रगाढ सम्वन्ध अझ बलियो भएको महशुस हुन्छ भने मानसिक सोचाइको आकार पनि फराकिलो हुने भएकोले खुशीका साथै गर्व महशुस हुन्छ ।

कोरियामा प्रायः शनिबार र आइतबार मात्र बिदा मिल्ने भएकोले नेपाली चाडपर्व बिदाको दिन पारेर मनाउनु पर्ने भएकोले त्यहि दिन नपरे पनि अघिपछि समयअनुकुल मनाउदै गरिन्छ । समय र परिवेश जे जस्तो भएपनि कोरियामा सक्रिय नेपाली संघसंस्थाहरुले मुख्य चाडपर्व मनाउदै आएका छन् । त्यसैले पनि अहिले प्रवासको नेपाली चाडपर्व रमाइलो हुने गरेको छ । सदा झैं यो वर्षको दशैं तिहारलगायतका अन्य चाडपर्वहरुमा पनि नेपालमै भएको महशुस हुनेगरी विशेष रमाइलो हुनेछ भन्ने अपेक्षा सहित सबैलाई दशैंको शुभकामना भन्न चाहन्छु ।

आर्शिवाद भन्दा पनि मन पैसामाथि नै हुन्थ्यो
मिलन किराती
गीतकार, कलाकार

milan-kirati

दशैं भन्नसाथ केटाकेटी बेलाको याद आउँछ । नयाँ लुगा लगाएर आमाले खेल्न पठाउने भनेकै दशैंको दिन हुन्थ्यो । आमाले गाली गर्लान् भन्ने पिर हुदैन थियो । अरु बेला पुराना लुगा लगाएर खेल्न जाँदा पनि खुप कुटाइ खाइन्थ्यो । दशैंको बेला मिठो खान पाइने, टिका लगाएर आमा बाबाले दक्षिण पनि दिने हुनाले बाल्यकालमा दशैं सबैलाई विशेष लाग्नु स्वभाविकै हो । टिका लगाइदिँदा बाबाले खुब आर्शिवाद दिनुहुन्थ्यो तर मलाई भने आर्शिवाद भन्दा पनि मन पैसामाथि नै हुन्थ्यो । सम्झदा पनि क्या गज्जप त्यो बालापन ।

पछि दशैं रमाइलो मात्र नभई यसको महत्व पनि बुझ्न थालें । आफन्तसँगको भेटघाट, मान्यजनबाट टीका थापेर आर्शिवाद लिने दशैंको सबभन्दा सुन्दर पक्ष हो भन्ने लाग्छ ।

कोरिया आएदेखि तीन वर्ष भयो दशैं मनाउन पाएको छैन । भेट्न मन लागेको साथीले परैबाट हात उठाएर हाई भनिराखेको जस्तो गरेर दशैं जान्छ । खासमा भन्ने हो भने परदेशमा आगनसम्म पनि दशैं आइपुग्दैन । समय मिलाएर दशैंको नाममा साथीहरुसँग जमेर रक्सी चाँही खाइएको छ । अब यसपटकको दशैंमा पनि समय मिलेमा सागीभाइ भेटेर दशैंको सम्झना गर्नुपर्ला नि ।

दशैंमा नृत्य गरेर मनोरञ्जन दिने सोचमा छु
योगिता गौतम ( किम युमी)
समाजसेवी

kimyumi

सात वर्ष भएछ म कोरिया आएको । मेरो दिदी पनि कोरियामै भएकोले हरेक वर्ष माइतीको न्यास्रो मेटाउन दिदीको घरमा गएर दशैं मनाउने गरेको छु । कोरियामा पनि नेपालमा जस्तै समय मिलाएर साथीसंगी र आफन्तहरुसँग घेटघाट गर्दै नेपाली परिकार बनाएर खाने र टिका लगाउने गर्छौं । पोहोर भने नेपालमा गएको भुईचालोले गर्दा हामीले पनि मन खुशी नभएकोले गर्दा दशैं मनाएनौं । यो वर्ष भने नेपाली दाजुभाई, दिदीबहिनीहरुसँग दशैं मनाउने बिचार छ ।

जिन्जु टिमले यहि अक्टोबर ९ तारिख आइतबार नेपाली चलचित्र छक्कापन्जा देखाउने भएको छ । यहि अवसरमा नेपाली खानाकोसाथमा मनोरञ्जन कार्यक्रम पनि राखेका छौं । भोलीको दिन कसलाई के थाहा ? त्यसैले दशैं कार्यक्रममा आउनेहरुलाई नृत्य पस्केर मनोरञ्जन दिने सोच पनि गरेकी छु ।

नेपालमा हुँदा दशमीका दिन घरका ठुलाबडा मान्यजनसँग टिका थापेर आर्शिवाद लिन्थ्यौं । मिठोमसिनो सबैजना सँगै बसेर खाँदै नाचगान गरेर बस्थ्यौं । अर्को दिन मामाघर जान्थ्यौं । मामाघर जान पाउँदा साह्रै खुशी लाग्थ्यो । सबै दिदीबहिनीका छोराछोरी, आफन्तजनहरुसँग भेटघाट गर्ने मौका नै चाडपर्वमा हुन्थ्यो । हाम्रो लागि दशैं सबैभन्दा रमाइलो चाड थियो । अहिले कोरियामा पनि दिदीबहिनीका छोराछोरीसँग भेट हुन पाएका छौं । जसले गर्दा चाडपर्वमा एक्लो महशुस भएको छैन । सबैजना परिवार जम्मा भएर रमाइलो गरी दशैं मनाउँछौं ।

परदेसी भुमिमा रहदा चाड पर्वको महत्त्व झनै बढि हुने रहेछ

गंगा पौडेल

साहित्यकार

ganga-pau

के दशैं के तिहार परदेसी भुमिमा ।

शुन्य भाछ संसार परदेसी भुमिमा । ।

रातो टीका आशिर्वाद लिन नपाउँदा, खाली हुन्छ निधार परदेसी भुमिमा ।।।

राष्ट्रिय चाडको गरिमा बोकेको वडादशैं अर्थात विजया दशमी विशेष गरेर हिन्दुहरुले बर्ष दिनमा एक पटक मनाउने चाड हो। आफ्ना बुबा आमा साथै मान्यजनहरुबाट आशिर्वाद स्वरुप टीका जमरा लगाउने र आफ्नो हैसियतले भ्याए सम्मको मिठो मसिनो परिकार खाने र खुवाउने घर,आँगन,टोल सरसफाइ राख्ने जस्ता कार्यहरु हर्षोल्लासका साथ गर्ने गरिन्छ ।

संसारका प्रत्येक व्यक्तिहरुको आ- आफ्नै इच्छा चाहना हुन्छ , बाँच्ने तरिका र रम्ने शैली हुन्छ। त्यसैले होला चाडपर्व आउदा म अत्यन्तै हर्षित हुन्छु अझ दशैं तिहार मलाई सबै भन्दा बढि मन पर्ने पर्व हुन। राम्रो लगाएर मिठो खानु आफन्तजनबाट टीका जमरा लगाएर आशिर्वाद थाप्नुको स्वर्गानुभुती बयान गरेर सक्दिन। परदेसी भुमिमा रहदा चाड पर्वको महत्त्व झनै बढि हुने रहेछ । बिहानको मिर्मिरे उज्यालोमा अलि अलि तुवाँलो लागेको मौसम ले सिंगै दशैं बोकेर ल्याएको महसुस हुन्छ। चिसो- चिसो बतासले आफ्नो आँङ भरि सुगन्ध छरेर घर आँगन मग्मगाउदा कतै नेपालमै त छैन ?भन्ने भान हुन्छ ।

बाल्यकालमा आमा बाको काखमा बसे देखि अहिले सम्मको दशैं सम्झदा कता कता मन अमिलो भएर आउँछ। यो बिरानो ठाँउमा के चाड? के पर्व ? कत्ति पनि खुसी छैन मन।यद्यपि आफुले आफ्नो परिवार संग बसेर चाड मनाउन नपाए पनि आफुले परदेशमा गरेको दुखले घर परिवारको लागि केही गर्न सकेँ भने त्यहि नै मेरो लागि दशै हो र हुनेछ । कोरिया आएको धेरै बर्ष भए पनि दशैं कहिल्यै मनाइएन। मनाउने वातावरण पनि मिलेन।नेपालको चाड र कोरियाको चाड मनाउने समय नमिल्ने भएर पनि होला l सबै आ-आफ्नो काममा व्यस्त हुन्छौं।हामी यो ठाउमा कर्मको लागि आएकाले रमाइलो तिर भन्दा कर्तब्य तिर ध्यान दिनु पर्छ ।

अन्त्यमा यहाहरु सम्पूर्णलाई बडादशैंको मंगलमय शुभकामना।

happy-dashain

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...