‘यन्त्रमानव’
कोरिया डायरी (कथा) ,
टिङ टिङ टिङ …..
सधैं झैं आजपनि घन्टी लाग्यो । हुनत आजको घन्टीको आवाज पनि हिजो अस्ति जस्तै हो तर मलाईभने आज अलिक अनौठो लाग्दैछ ।
उदास र खुुसी भरिएको यौटा बोझिलो दोमनले म सामुन्नेमा अघी भर्खरसम्म आफैंले काम गरेको मेसिनतिर हेर्छु । एकाएक बढ अनौठो देखिन्छ मेसिन ।
आँखा घुमाएर भित्तातिरको घडिमा हेर्छु । उ आफ्नै बाटोमा कुदिरहेको छ । घडिको कुदाईसङ्गै म तन्द्राबाट बिंउझेझै हुन्छु र एकाएक पुग्छु चार बर्ष दस महिना अघीको परिबेसमा ।
मलाई पहिलोपल्ट साहुले काममा लगाउनुभन्दा पहिले सामुन्नेको यहि मेसिन र त्यहि भित्ताको घडिसङ्ग परिचय गराँउदै भनेथ्यो “मान्छे भनेको कहिल्यै नथाक्ने यो मेसिनजस्तै हुनुपर्छ अनि त्यो भित्ताको घडिजस्तै चलायमान ” ।
कोरियाको प्रबेससङ्गै यहाँको बिबास देखेर दङ्ग परेको मलाई साहुको कुराले झन दङ्ग बनाउछ । सम्झन्छु मेहनत र लगनसिलतालेनै त हो सफलताको सिखर चुम्ने भनेको । मलाई साहुको कुरा होजस्तै लाग्छ । तत्कालै सहमतिको मुन्टो हल्लाएर काममा लाग्छु।
***
कामगर्ने कोठा बाहिरपट्टी सङ्गै भित्ता जोडाईएर राखिएको कन्टेनरभित्र हाम्रो बास बस्ने र पकाईखाने ठाँउ छ । म कोठामा आँउछु । साथिहरू कोहि नुहाँउदै छन्, कोहि बिहानलाई खाजा पकाँउदैछन् , कोहि घरमा फोनगरेर आफ्ना परिवार र अर्धाङ्गीनिहरूसङ्ग थकान साट्दैछन्, कोहिभने ईन्टर्नेट र सामाजीक संजालहरूको काल्पनिक दुनियामा आफुलाई भुलाँउदैछन् ।
मलाईभने हिजो आफैंले भोगेका कोठाको सबै दृष्यहरू आज एकाएक अनौठो लाग्छ ।
कोहिसङ्ग नबोली सुत्नेकोठा सङ्गै जोडिएको भान्साकोठामा छिर्छु र फ्रिज खोल्छु । हप्तादिन अघी हप्ताभरिलाई भनेर ल्याएका रक्सिका बोत्तलहरू आजको भागबाहेक सबै रित्तिएका देख्छु ।
आजलाई भनेर उभ्रिएका दुई बोत्तल रक्सी लिएर ढोकै छेउको मझेरिमा पल्याँटी मार्छु र गिलासमा एक गिलास रक्सी खन्याउछु र स्वाट्ट पार्छु।
थोरै सित्तलता थपिएको हो की? कतै मनको अन्तस्करणबाट सन्तुष्टिको झिनो सहास आँउछ । एकाएक फेरि त्यहि पुरानो दिनमा पुग्छु ।
यो कम्पनिका प्रबेस गरेको चौथो दिन थियो साहुले काममा साह्रै गालि गर्यो । परिवार छोडेर बिरानो परदेशमा आफ्नो पाईताला घीसार्न आईपुगेको मलाई खुट्टामा धारिलो सिसाको काँडो पसेझैं हुन्छ । तनावमा देखेर संङ्गै कामगर्ने भेतनामको साथीले रक्सीको गिलास हातमा थमाईदिन्छ । मैले नजानी बेस्वादको रक्सी मुख खुम्च्याँउदै पहिलोपल्ट पिएर नसाको तोडमा निदाउछु ।
त्यो दिनदेखी आजसम्मन मलाई निन्द्रा लगाउन रक्सीको सहारा लिईरहनुपरेको छ ।
“खा न खा यतित” आफु नखाई मेरा भागमा थपिदिने ममि सम्झन्छु । “आज सन्चो छैन आराम गर” भनेर अनौ समाउने बुबामो ममता सम्झन्छु । सङ्गै, थोरै दिदै, धेरै खाएर धेरै काम गर, बिरामी हुँदा हस्पिटल पुर्याएर रोग को साटो डाक्टरलाई डिस्चार्ज हुने दिन सोध्ने, बिदेशीहरूलाई बहनीमा किनेको गोरूजस्तो सोच्ने साहु सम्झन्छु ।
भक्कानो फुटिहाल्छ । गिलासको रक्सि फेरि स्वाट्ट पार्छु।
रित्तिएको गिलासमा टेबलमाथीको बोत्तलबाट १ गिलास रक्सी फेरि खन्याँउछु र बिस्तारी एक चुस्की लिन्छु । यत्तिकैमा झल्याँस्स चुरोटको सम्झना आँउछ । गोजी छाम्छु र यौटा निकालेर सल्काँउछु।
निकैबेर सम्म रक्सीको चुस्की र चुरोटको धुवाँ थपिरहन्छु ।
दोस्रो बोत्तलबाट दोस्रो कप रक्सी खन्याएर चुरोट सल्काउन खोज्दा चुरोट सिद्धीएर रित्तो बट्टा मात्र हातमा फेला पार्छु ।
अघी भर्खर मात्र किनेको चुरोट सिद्धीएछ बर्बराँउछु । बर्बराँउदा बर्बराँउदै एकाएक मेरो मनमा चुरोटसङ्गको साईनोको सम्झना आँउछ ।
कामगर्न थालेको पहिलो महिना बितेको थियो । म काममा पेलिएर निकै दुब्लाई सकेको थिएँ । निरन्तर मेसिनसङ्ग काम गर्नुपर्ने हुनाले पिसाब फेर्न पनि निस्चित समय हुन्थ्यो । जतिबेलै पिसाबको बहाना पारेर थकाईमार्न पनि नपाईने । प्रत्येक सेकेन्डको निग्रानी राख्ने साहुलाई आँखा छल्ने अर्को बिकल्पको रूपमा मैले चुरोटसङ्ग दोस्ती गरें ।
सुरूवातका दिनहरूमा दिनको एक दुई वटा गर्दा गर्दै आजकाल दिनमा पुरै एक बट्टा (२० खिल्ली) खाईसक्ने भएको छु । हुनत चुरोटले केहि दिदैन रपनि यसको नसा मनमा खिल भएर बसेको छ ।
पैसा हुँदात खालास नहुँदानी? एक्कासी मेरो मनले मैमाथी प्रश्न गर्छ ।
म झसङ्ग हुन्छु र चरोट र रक्सीको हिसाब किताब लगाउन थाल्छु ।
१ बोत्तल रक्सिलाई सरदर १५ सय वन पर्छ। दिनको दुई बोत्तल अर्थात ३ हजार वन । १ बट्टा चुरोटलाई ५ हजार वन । दिनमा चुरोट र रक्सीमा मेरो ८ हजार वन खर्चहुन्छ । महिनामा दुईलाख चालिस हजार वन र बर्षमा २८ लाख ८० हजार वन अर्थात सरदर २ लाख ५० हजार नेपाली रूपैंयाँ ।
बाफ रे बाफ म तर्सिएर ४ बर्ष १० महिनामा आफुले खाएको चुरोट र रक्सीको एभ्रेज हिसाब गर्न थाल्छु । रू१० लाख भन्दा बेसी? नतिजाले झन् तर्सिन्छु ।
पिउदा पिउदै गरेको गिलासको रक्सी एकाएक मलाई बिषजस्तै लाग्छ । त्यसै छोडेर कोठामा छिर्छु।
साथीहरू सुतिरहेका छन्। उनिहरूलाई भोली बिहानैदेखी मेसिनहरूसङ्ग घोटिनु छ । १० लाख नेपाली धुवाँमा उढाएको अट्यास हटाउन एकबोत्तल चिसो पानी घटघट पीउँछु तर झन् मनमा बाढी आँउछ ।
सम्झन्छु बुबाले १० हजार ऋण तिर्न नसकेर साहुले ब्याजको साटो मंसिरमा खलाबाटै आधा रास धान उठाएर लगेको । १० लाखले १० वटा भैंसी पालेर महिनामै लाखौं कमाउन सकिने थियो । परिवार सङ्गै बसेर हाँसिखुसी दिनहरू काटिने थियो । ममिले यौटा सुनको चुराको रहर गर्दा बुबाले किन्न नसकेको पनि सम्झन्छु। छोराको भबिस्य बन्छ भनेर खेतै धीतो राखेर मलाई परदेश पठाएको पनि सम्झन्छु।
एकाएक चिटचिट पसिना आँउछ । मन उकुसमुकुस हुन्छ। १० लाखको रक्सी र चुरोटको धुवाँले मेरो मनबाट आगोको ज्वाला निस्कन थाल्छ ।
अत्ताल्लिएर आफैंले कामगर्ने ठाँउको मेसिनहरूको भिडमा छिर्छु। एकाएक मेरो नजर मेसिनको सेन्सरमा पर्छ । त्यहि सेन्सरले काम नगरेर आफ्नै दायाँ हातको चोरि अौंला गुमाएको सम्झन्छु ।
टिकटिक… आवाजले पछाडि फर्केको मेरा नजर भित्ताको घडिमा थुर्छ । साहुको त्यहि “मान्छे भनेको कहिल्यै नथाक्ने यो मेसिनजस्तै हुनुपर्छ अनि त्यो भित्ताको घडिजस्तै चलायमान ” पुरानो बाणी भेल बनेर मस्तिष्कमा बाढी आँउछ ।
आज ठिक चार बर्ष दस महिना पछि साहुको उक्त चलायमान हुने कुरा झुटो साबित भएझैं लाग्छ ।
अनोठो पाराले निकैबेर मेसिनलाई सुम्सुम्याई रहन्छु ।
उबेला साहुले मलाई यो मेसिनजस्तै चलायमान हुनु नभनेर घुमाउरो पाराले यो निर्जीव मेसिन जस्तै हुनु भनेको रहेछ ।
यहाँ मान्छेहरूलाई मेसिनले चलाउछ र मान्छेहरू चुपचाप मेसिनको ईसारामा काम गरिरहन्छन् ।
सम्झन्छु आफुसङ्ग कामगर्ने कोरियनहरूको जिन्दगी ।
बिहान घाम झुल्कनुभन्दा अघी र राती जुन नझुल्किउन्जेल उनिहरू अघोसित मेसिन बन्छन् । उनिहरूलाई फुर्सद हुँदैन पसिना पुस्न । फुर्सद हुँदैन पिसाब फेर्न । बिर्सिएर आफैंलाई जन्मदिने बुबाआमा साहुलाई भगवान सम्झन्छन् ।
फेरि कल्पनामा डुब्छु। आखिर के होलान यिनीहरू? मान्छे भएत गल्नुपर्ने? थाक्नुपर्ने? भोक प्यास लाग्नुपर्ने ?
अनि फेरि मेसिनतिर हेर्छु । जव सुईज दवाएपछि फेरि नदबाउन्जेल चल्ने मेसिनजस्तै कोरियनहरू पनि मानव नभएर यन्त्र भएको आभास हुन्छ ।
आफैं बुझेजस्तो गर्छु यहाँ त मान्छेहरू मेसिन भएका छन् र मेसिनहरू मान्छे ।
सोच्छु पैसाको पछि लागेर आफुलाई यन्त्र बनाँउदा हातको यौटा औला गुमाएको म मानव नभएर यन्त्रबाट स्वचलित यन्त्रमानवपो हुँदै रहेंछु ।
कामगर्ने कोठामा मेसिनसंग बस्नमनलाग्दैन ।
बाहिर निस्कन्छु र आकासतिर हेर्छु। धुवाँको मुस्लो कुहिरो बनेर नाचेजस्तो लाग्छ ।
अलिपर सडकमा निस्कन्छु र सडक पारिपट्टी रहेको यौटा कारखानामा काम भईरहेको हेर्दै सम्झन्छु । यहाँत सुत्ने फुर्सद पनि छैन । यहाँका आधा जनताले घामको मुहार देख्छन् र आधा जनताले भने जुनको मुहार । आधा उठेको बेला आधा सुत्छ । चाहे दिउसो होस या रात ।
अनायासै पाईला अगाडी बढाउँछु। सडकछेउका कारखानाहरूमा पसिनासरि भएर फलामसंग घोटिरहेका बिदेशीनागरिकहरू हेर्छु । कल्पन पुग्छु उनिहरूको पसिनामा मुस्कुराएको उनिहरूको परिवार ।
बेतालले पाईला अघाडी बढाई रहन्छु ।
मेरो नजरमा यौटा रात्री बजार देखापर्छ त्यतै लम्कन्छु ।
जवानीको प्यास बेस्यासङ्ग मेटेर कोठिबाट निस्कदैगरेको यौटा बिदेशी अधबैंशे मेरै कुममा ठोकिएर जान्छ । उसको सरिरबाट बेस्याले दलेको अत्तर गनाईरहन्छ । त्यो अत्तरसङ्ग म त्यहि बेदेशीको काम र मेहनत सम्झन्छु। सम्झन्छु उसको परिवारको धैर्यता अनि पलभरमै महिनौको कमाई कुम्ल्याउने बेस्या ।
हिंडिरहेका मेरा नजर बजारपछि पार्कमा पर्छन् ।
गलेजस्तो लागेर पार्कको बेन्चमा बस्छु । सामुन्नेमा यौटा रूखको हाँगामा केहि झुण्डिएजस्तो लाग्छ । एकाएक म ६ महिनाअघी कामको तनावले मानसिक संतुलन गुमाएर आत्माहत्य गरेको साथी सम्झन्छु । सम्झन्छु त्यहि साथीसंग नेपालमा बिताएको पल, उसको परिवार । मन झन् खिन्न हुन्छ ।
एक्कासि यहाँको हावा र परिबेसले गला अठ्याए जस्तो लाग्छ । हप्तादिन घुमेर घर जान्छु भनेर छुट्टी लिएको मलाई भोलिपल्टै घरफर्कन मनलाग्छ । तिन महिना पछि फेरि कमिटेड वर्कसमा आउन लिएको लेवरकन्ट्याकको कागज च्यातेर फाल्न मन लाग्छ । एकाएक फेरि कोरियामा मेसिन हुने सपना मर्छ । अरू सिप नसिकेपनि कोरियाबाट मेहनत सिकेको मलाई देशमा कयौं सम्भावनाहरू रहेको सहास पलाँउछ ।
मनभरि उत्साह लिएर कोठामा आँउछु साथिहरू निदाईरहेका हुन्छन् सिरानेसङ्गै ठूलठूला सपना छातिमाथी लुकाएर ।
मलाई साथीहरूको सपना बिथोल्न मन लाग्दैन ।
सरक्क मझेरिमा बिच्छ्याईएको आफ्नो बिस्तारामा पल्टन्छु र झकाउन खोज्छु।
यत्तिकैमा बिहान उठ्ने जनाउ घन्टी बज्छ । टिङ टिङ टिङ…..