यसरी उम्किएँ त्यो नर्कबाट


विदेश गएर कमाएको पैसाले घरको ऋण तिरेर छोराछोरीलाई राम्रो पढाउँला भन्ने लागेको थियो । ऋण काढेर पैसा एजेन्टलाई बुझाएपछि असार ११ मा इराक उडाउने पक्का भएको थियो । हामी स्वयम्भूबाट दिल्ली जाने बस चढ्यौं ।

नेपाली नाकामा माइती नेपालका प्रतिनिधि र प्रहरीले कता जाने भनी सोधे भारतीय गुम्बामा पढ्दै गरेको छोरालाई भेट्न जाने भन्न सिकाइएको थियो । जति जाँच भए पनि हामी दिल्लीसम्म पुग्यौं ।

म चढेको बसमा दिल्ली लैजान लागिएका अरू केटी पनि थिए । तर कसैले कसैलाई चिनेका थिएनन् । सबैलाई एकले अर्कालाई नचिनेको जसरी बस्नु भनेकाले उनीहरू कोही बोलेनन् ।

दिल्लीको एक गेस्ट हाउसमा तीन दिन बसेपछि हामीलाई हवाईजहाजबाट श्रीलंका पुर्‌याइयो । विमानस्थलमा तालु खुइलिएको एउटा केटा हामीलाई ट्याक्सी लिएर लिन आयो । द्रुत गतिमा चलाइएको ट्याक्सीमा करिब साढे तीन घन्टाजति बसेर हामी उसको घर पुग्यौं ।

हामीलाई ट्याक्सीमा लिन आउने घरमालिकले अरबी र श्रीलंकाली भाषा मात्रै बोल्ने गथ्र्यो । त्यसैले उसका कुरा हामीले केही बुझेनौं । ४० वर्षको जस्तो देखिने ऊ पत्नी, एक छोरी र दुई छोरासँग बस्थ्यो ।

दुई वर्षयतादेखि उनीहरूले केटीहरूलाई बन्धक बनाउँदै बेच्ने गरेको मैले सुनें । यही काम गरी उनीहरूले एयरपोर्टमा ठूलो घर बनाएको पनि जानकारी भयो ।

 

सोही घरमा भान्सेको काम गर्ने उर्मिला पौडेल नामकी नेपाली महिलाले हाम्रो पासपोर्ट, कागजात र पैसा खोसेर घरधनीलाई बुझाइन् । इन्दु भनेर बोलाइने ती महिलाले एकदुई दिनसम्म त मलाई राम्रै व्यवहार गरेकी थिइन् । तर बिस्तारै मैले त्यहाँको वातावारण बुझ्न थालेपछि हप्काउने, मुख छाड्ने, लछारपछार गर्ने एवं हातै हाल्नेसम्म पनि गर्न थालिन् ।

म त्यहाँ पुगेपछि अन्य दिदीबहिनीले आफ्ना पीडा सुनाउन थाले । दुवै किड्नी फेल भएका छोराको उपचार खर्च जोहो गर्न विदेश आएको बताउँदै एउटी दिदीले रुँदै ‘छोराको उपचार त गराउन सकिनँसकिनँ, यहाँबाट उम्केर जान पाए अनुहारसम्म हेर्न पाइथ्यो’ भनेको कुराले साथै पीडा दियो ।

कोही एकल भएपछि छोराछोरीको पालनपोषण र पढाइखर्च जुटाउन त कोही ऋण तिर्न र कोही सुखी जीवन जिउने आसमा त्यहाँ आएको बताउँथे । यी सबै कुरा सुनेर कसले पो मन थाम्न सक्छ र ? त्यो रात दलालको फन्दामा म पनि परें भन्दै ह्वाँह्वाँ रोएँ । दिनहरू कठिन हुँदै गए ।

बिहान कालो चिया र दिउँसो दुई बजे नाकै थुनेर खानुपर्ने गनाउने उसिनेको चामलको भात दिइन्थ्यो । कहिले एक मुठी पनि पाइँदैनथ्यो । बाँच्नलाई जस्तो पनि खानै पर्दो रहेछ । दिउँसो २ बजे खाएपछि बेलुका ११ बजे मात्रै माछाको झोलसँग थोरै भात दिइन्थ्यो ।

पढेलेखेको नभए पनि म अन्याय सहनसक्ने खालकी थिइनँ । प्रेसर हाई भएकाले र सन्चो नभएकाले पनि होला धेरै रिस उठ्थ्यो । ४० कटेकाको भिसा आउँदैन भनेको सुनेपछि म प्रतिकार गर्दै भिसा नआउने भए सकस दिएर किन राखेको ? नेपाल पठाऊ भन्दै कराउँथें ।

चिसो भुइँमा तन्नाको भरमा सुत्नुपर्ने हुनाले धेरै बिमारी भइसकेका थिए । उपचारका नाममा सामान्य औषधिसमेत खान दिइन्थ्यो । मैले त्यस्तो व्यवहारको विरोध गर्दै गएँ । सेफ्टीट्यांकीमाथिको झ्याल नभएको कोठा भएर होला गुम्सिएर बस्नै नसकिने हुन्थ्यो ।

कोठामा बाहिरबाटै ताला लगाइएको हुन्थ्यो । ताला खोलेको मौका छोपेर कहिलेकहीं कम्पाउन्डमा निस्कने मौका पाइन्थ्यो । फोन गर्न सिम थिएन । फोटो र भिडियोचाहिँ खिच्न पाइन्थ्यो । मेरो मोबाइल अलि सानो भएकाले राम्रो मोबाइल भएका साथीहरूले घरवरिपरि घुमेर भिडियो खिचेका थिए ।

भिडियो हेरेर त्यो ठाउँ पत्ता लगाउन सजिलो होस् भनेर त्यहाँ रहेका ठूल्ठूला नरिवल, सुपारीलगायतका रूख र घरको सेरोफेरो हामीले खिचेका थियौं । हामी सबैले आआफ्नो मोबाइलमा ती भिडियो सारेका थियौं ।

१५÷१६ दिन अघिको कुरा हो । साहूको छोराले गेट खुल्लै राखेको मौका छोपेर म, सिन्धुलीकी सरस्वती सुनुवार र दोलखाकी एउटी दिदी बेतोडले भाग्यौं । बाटोमा प्रहरी भेटेर आफ्नो पीडा सुनाउन पाइन्छ कि भन्ने हाम्रो आशा थियो ।

करिब आधा घन्टाजति पर पुगेका थियौं होला, स्कुटरमा साहू आएर हामीलाई पक्रेर फेरि त्यही घरमा लगेर मर्ने गरी पिट्यो । अरूलाई भाँडेको भनेर ममाथिको व्यवहार झन् क्रूर हुँदै गयो । रोगका कारण कमजोर हुँदै गएको शारीरिक अवस्था र कुटपिटले म निकै दुब्लाइसकेकी थिएँ ।

जिउँदो लासजस्तै लाग्न थालिसकेको थियो । मैले ज्यानको माया मारिसकेकी थिएँ । साथीहरूलाई म आज मर्छु होला, म मरें भने तिमीहरूले यो रेकर्ड मोबाइलमा हालेर सबैलाई देखाइदिनू भनेकी थिएँ । मैले उनीहरूलाई मलाई नेपाल फर्काइदे, नत्र म यहीं मर्छु भनेर धेरै विरोध गरेपछि त्यहाँको साहूले दिल्लीको एजेन्टलाई फोन गर्‌यो ।

अरबी भाषामा यसले अरूलाई पनि भाँड्ने भई भन्यो । साहूले मलाई ‘ला, तेरो नेपाली एजेन्टले फोन गर्‌यो कुरा गर्’ भनेर फोन दियो । मैले उसलाई मलाई जसरी पनि टिकट पठाइदे, नत्र म यहीं आत्महत्या गर्छु । यसको भिडियो सबै साथीहरूसँग हुन्छ । यो रेकर्ड पुलिसलाई देखाउन सकियो भने तिमीहरू कारबाहीमा पर्छौ भनेर धम्क्याएँ । कुरा गर्दागर्दै रिसले मैले साहूको फोन भुइँमा फालिदिएँ ।

त्यो कुराकानी पछि अरू पनि विद्रोहमा उत्रेलान् र भिडियो अन्त देखाइदेलान् भन्ने डरले होला दिल्लीको एजेन्टले मेरो टिकट पठाइदिएछ । ११ बजे राति नेपाली भान्छे दिदीले टिकट ल्याएर मेरो हातमा फ्याँकेपछि मलाई आफू नेपाल जान पाउने भएँ भन्ने लाग्यो ।

हिँड्नुअघि साथीहरूमध्ये कोहीले परिवारलाई भनिदिनू भन्दै फोन नम्बर दिए, कोहीले फोटो पछाडि नम्बर लेखेर दिए । मोबाइलमा भिडियो खिचेर आवाज रेकर्ड गराएर मेरो फोनमा पठाए । नेपालमा प्रहरीलाई यो देखाएर नर्कबाट निकाल्नू भनेर दिदीबहिनीले गुहार मागे ।

हिँड्नुअघि मैले आफूसँग भएका कपडा त्यहीं छाडेर आएँ । नेपाल फर्कंदा आफूसँग सुको पैसा थिएन । त्यहींकी सरस्वती बहिनीसँग तीन हजार मागें । नेपाल फर्केपछि पैसा फर्काउँछु भनेपछि उनले दिइन् । उनले शरीरमै पैसा लुकाएर राखेकाले त्यो पैसा बचेको थियो ।

त्यो रात साहूले ट्याक्सीमा हालेर केही केटीहरूलाई अन्य देश पठाउन एयरपोर्ट लैजाँदै रहेछ । म त्यही ट्याक्सीमा बसें । मलाई उनीहरूले पन्छाउनु थियो, त्यसैले केही गरेनन् ।

एयरपोर्ट आइपुगेपछि भाषा नजानेकाले मलाई कहाँ जाने के गर्ने अन्योल भयो । म यताउता भौंतारिएको देखेर एउटा केटाले इशारामा के भयो भन्यो । मैले आधा हिन्दी आधा नेपाली अनि केही सांकेतिक भाषामा टिकट देखाउँदै मुम्बईको जहाज चढ्न कता जाने भनें । उ

सले एयरपोर्टभित्र सघायो । शनिबार बिहान ५:२० बजेको जहाज चढेर मुम्बई पुगें । चार घन्टाको ट्रान्जिटपछि काठमाडौं आइपुगें ।

प्रेसरले मेरो ८५ वर्षीय बुबाको प्यारालाइसिस भएको छ । उहाँको दिमागमा रगत जमेको छ । मैले भोगेको यो घटना सहन नसकेर उहाँको स्वास्थ्य अझै बिग्रिएको छ । डाक्टरले जुनसुकै बेला जे पनि हुनसक्छ भनेका छन् । माइती नेपालको सहयोगमा बुबालाई एउटा गेस्ट हाउसमा राखेर उपचार गराइरहेकी छु ।

यहाँबाट पठाउने एजेन्टले मलाई जहाँ भेटे पनि मार्छु भनेर धम्की दिएको छ । पत्रिकामा समाचार आएपछि सरस्वती सुनुवारलाई दलालले ओमन पुर्‌याएछन् । सरस्वतीकी दिदी भन्ने एक महिलाले फोन गरेर मलाई तथानाम गाली गरिन् । तँ आफू नेपाल पुगे भैहाल्यो, किन अरूका बारेमा भन्दै हिँडिस्’ भनेर हप्काइन् ।

मैले त सबै साथीहरूले हामीलाई जसरी भए पनि उद्धार गरिदिनुपर्‌यो भनेकाले सहयोग गरेकी मात्रै हुँ । पहिले लिएको ऋणमाथि विदेश जान लिएको दुई लाख ऋण थपिएको छ । एजेन्टको मार्छु भन्ने धम्की खानुपरेको छ ।

नेपाली दिदीबहिनीको उद्धार होस्, म जसरी त्यो नर्कबाट उम्किएँ, उनीहरू पनि मेरो सहयोगले निस्कन सकून् भन्ने मेरो चाहना हो । आफ्नो देश त आइपुगें तर ज्यानको सुरक्षा कसले गरिदिने । म अब विदेश जानेबारे सोच्दिनँ ।

अन्य दिदीबहिनी पनि कानुनसम्मत तरिकाबाट सञ्चालित कम्पनीमा मात्रै जाऊन् । एजेन्टमार्फत घरायसी कामदारमा कदापि कोही नजाऊन् । नत्र हामीले जस्तै दुःख पाउनु पर्ला ।

सयकडा चारका दरले लिएको ऋण कसरी तिर्नु । मेरो डुबेको पैसा उठाउन र मेरो सुरक्षा गर्न सरकारले सहयोग गरिदेओस् । त्यो नर्कबाट मेरा दिदीबहिनीलाई चाँडै उद्धार गरिदेओस् ।

-अन्नपूर्ण पोष्ट

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • तमू धीं दक्षिण कोरियाले आउँदो अगष्ट ३ र ४ तारिक “रजत जयन्ती” मनाउने
  • गायक छेटुप मोक्तनको ल्होछार दाङगे म्युजिकभिडियो सर्वाजनिक
  • कोरियामा एक हप्तामा चार नेपालीको मृत्यू
  • बिरामी रियाले पाईन् वन्जु मुन्माक मैत्री समाजबाट पाँच लाख वोन आर्थिक सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...