कोरियन नयाँ वर्ष सलनालमा र्यापर दोङको सांगीतिक धमाका रहने

पछिल्लो समय अति चर्चामा आएको महेश तामाङ उर्फ र्यापर दोङको साथमा कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर विशेष सांगीतिक प्रस्तुति नेपकोर नाईट पार्टी २०२३ हुने भएको छ । कोरियाको राजधानी सउलमा आउँदो जनवरी २२ तारिक नेपकोर ईन्टरटेन्मेन्ट ग्रुपद्धारा उक्त कार्यक्रम आयोजना गरिने भएको हो ।
युवा पुस्ताको र्याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गर्दै कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको जनाईएको छ । कोरोनाको कारण दुई वर्ष यता प्रत्यक्ष कार्यक्रम गर्न असमर्थ रहेको र अहिलेको समय जनजीवन सामान्य बन्दै गएको सन्दर्भमा र्याप दोङको प्रस्तुतिले नेपाली र्याप गीत संगीतको पारखीलाई भरपूर मनोरञ्जन दिने भएकोले कार्यक्रम थप उत्साहजनक र ब्यापक हुनेमा आयोजक ढुक्क छ ।
सउलमा अवस्थित एक सुविधायुक्त डान्स पार्टी हलमा विशेष सुरक्षा र संयमताका साथ आयोजना गरिने सो कार्यक्रमको अन्य विस्तृत विवरण सार्वजनिक गर्ने तयारी रहेको छ । यसभन्दा अगाडि थुप्रै पटक सफल र सौहार्दपूर्ण वातावरणमा सांगीतिक कार्यक्रम सम्पन्न गरिसकेको नेपकोर ईन्टरटेन्मेन्ट ग्रुपले मुनाफाको केही हिस्सा मानवसेवामा समर्पित गर्दै विभिन्न सामाजिक र परोपकारी कार्यमा अग्रसर रहँदै विभिन्न दुःख विपतहरुमा सहयोग गर्दै आईरहेको छ ।
नेपाली र्याप गीत संगीतको मनोरञ्जनसँगै पुण्य आर्जनमा जोडिएको र्यापर दोङको साथमा नेपकोर नाईट पार्टी २०२३ मा सहभागी भइदिनहुन कोरियास्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले हार्दिक अनुरोध गरेको छ ।