कोरियामा नेपालीले नै नेपालीको हत्या

सउल भन्दा १ सय ५ किलोमिटर दक्षिणमा पर्ने छुङछनबुक्दोको जिनछनमा रहेको प्लास्टिक कम्पनीमा काम गर्ने नेपालीले आफ्नै सहकर्मीलाई धारिलो छुरा प्रहार गरी हत्या गरेका छन् । मंगलबार राति भएको उक्त घटनाका आरोपी यूवालाई प्रहरीले पक्राउ गरेको छ ।
रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत कोरिया आएका नुवाकोटका प्रकाश विकको हत्या भएको हो । छ महिना अघि मात्र कोरिया आएका उनकै कम्पनीमा काम गर्ने पाँचथरका राजेश बुढाथोकीले हत्या गरेका हुन् । राजेश तीन हप्ता अघि मात्रै कोरिया आएका थिए ।
‘उनीहरु कम्पनीकै खिसुक्साको एउटै कोठामा बस्थे । यस अघि कुनै झगडा भएको थाहा भएन ।’ घटना भएको कम्पनीमा ९ बर्ष देखि काम गर्दै आएका गोविन्द अघिकारीले भने । ‘हिजो राति एक्कासी यस्तो घबटना भयो हामी पनि आश्चार्यमा छौं ।’
घटना भएकै खिसुक्सा(होस्टेल)मा बस्ने गरेका कृष्ण आलेले मंगलबार राति साँढे ११ बजे ठूलो स्वर सुनेर कोठा बाहिर निस्कदा प्रकाश लढि रहेको बताए । ‘हामी सबैले ८ बजेसम्म संगै काम गरेका थियौं । म १० बजे तिर नुहाएर बाहिर निस्कदा भाइहरुको कोठाको बति निभाको थियो । मैले सुतिसके छन् भनेर आफ्नो कोठामा ढोको लगाएर घर तिर कुरा गर्दै थिएँ । एक्कासी ठूलो स्वरमा केही खसे जस्तो सुनियो । म बाहिर निस्केर हेर्दा ऊ लडिरहेको थियो । हामीले प्रहरीलाई खवर ग¥यौं ।’
प्रहरी आएर हेर्दा प्रकाशको मृत्यू भैसकेको थियो । आरोपित बुढाथोकी भने कोठामै बसेको र उनको पनि घाँटीमा घाउ रहेको प्रहरीले बताएको छ । अहिले उपचार भैरहेको र थप अनुसन्धान पछि मात्रै घटनाको बारेमा जानकारी दिने प्रहरीले जनाएको छ ।
सोलमा भएको नेपाली राजदुताबासले घटना बारेमा जानकारी भए पनि कोरियाली प्रहारी मार्फत आधिकारिक जानकारी भने अझै नआएको बताए । ‘गम्भिर खालको घटनामा अनुसन्धान गर्न केही समय लाग्ने भएकोले पनि उनीहरुले जानकारी नगराएको हुनसक्छ ।’ कार्यवाहक राजदुत रामसिं थापाले भने । ‘कोरियामा भएको आपराधिक घटनाको कोरियाली कानुन अनुसार नै कार्वाहि हुन्छ । अन्य विषयमा कोरियाली प्रहरीले हामीलाई कस्तो जो जानकारी दिन्छ । त्यस पछि मात्रै भन्न सकिन्छ ।’ उनले भने ।
सन् २००७ देखि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत नेपाली कोरियामा आउन थालेका हुन् । यस अघि नेपाली ंकामदार कुनै गम्भिर खालका आरोपमा जेलमा छैनन् ।