“पाँच स” दक्षिण कोरियाले चौथो अधिवेशन तथा पुरस्कार वितरण कार्यक्रम गर्ने ।

बोम्जन गुरुङ, सउल कोरिया ।
२३ नोभेम्बर २०२०
सनातन साहित्य सङ्गीत साधना समूह “पाँच स” दक्षिण कोरियाले आउँदो यही २०२० डिसेम्बर ६ तारिकका दिन संस्थाको महाधिवेशन तथा पुरस्कार वितरण कार्यक्रम कोरियाको व्यस्त सहर दोङ्देमुनस्थित शुभेच्छा (मार्ट) रेष्टुरेण्टको सभाहलमा दिनको ठिक ११ बजे गर्ने भएको छ ।
पूर्वीय सनातन धर्म ,कला,संस्कार अनि संस्कृतिको संरक्षण तथा सम्बर्द्धनका लागि दक्षिण कोरियामा संगठित गौरवमय संस्था सनातन साहित्य सङ्गीत साधना समूह पाँच “स” दक्षिण कोरिया विश्व मानव समुदायबिच नेपाली पहिचानका विषयहरुलाई परिचित गराउँदै साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने प्रयास भन्ने मूल नारालाई आत्मसाथ गर्दै “वयं राष्ट्रे जागृयाम” अर्थात् राष्ट्रको निम्ति हामी सबै जागौँ भन्ने भावनालाई बोकेर अघि बढिरहेको उक्त संस्था दक्षिण कोरियामा विभिन्न उद्देश्यले बसोबास गर्दै आइरहेका नेपालीहरुको एकमात्र विशुद्ध आध्यात्मिक सङ्गठन हो । यस संस्थाले स्थापना कालदेखि नै नेपालका मौलिक संस्कार, संस्कृति, साहित्य, योग, साधना तथा विभिन्न धार्मिक अनि सांस्कृतिक कार्यक्रमहरु गर्दै आइरहेको छ ।
संस्थाको आफ्नो विधान तथा अवधारणा अनुरुप हरेक वर्ष अधिवेशन गरेर नयाँ कार्यसमिति गठन गर्ने गरेको छ । सोही अनुसार आफ्नो पाँचौँ कार्यसमिति चयन तथा भर्खरै मात्र संस्थाले सम्पन्न गरेको राष्ट्रप्रेममा आधारित टिकटक प्रतियोगिता २०२० मा उपाधी चुम्न सफल प्रथम, द्वितीय, तृतीय र उत्कृष्टलाई पुरस्कार वितरण तथा सम्मान गर्ने कार्यक्रम रहेको जानकारी उक्त संस्थाका महासचिव प्रेमराज अधिकारीले दिनुभयो । कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न पार्नका लागि कोरियामा रहनुहुने बुद्धिजीवी ,व्यवसायी,पत्रकार तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको अमूल्य सुझाव सल्लाहको अपेक्षा गर्दै गरिमामय उपस्थितिका लागि पाँच “स” दक्षिण कोरियाले हार्दिक निमन्त्रणा गरेको छ ।