कोरियन नयाँ वर्ष सलनालमा 1974 AD लाइभ कन्सर्ट हुने
कोरियन नयाँ वर्ष सलनालको अवसरमा 1974 AD लाइभ कन्सर्ट हुने भएको छ। २५ वर्षे लामो सांगीतिक यात्रा गरेको ब्याण्डको रि-युनियन पछि कोरियामा यो पहिलो कन्सर्ट हो। ब्याण्डमा फिरोज स्याङ्देन, एड्रीन प्रधान, निराकर याक्थुङ्बा, सञ्जय श्रेष्ठ र मनोज केसि आबद्ध छन्। आगामी जनवरी २५ तारिखका दिन ओखलढुंगा सेवा समाजले 1974 AD लाई स्टेजमा उतार्ने भएको छ। कार्यक्रमका लागि ब्याण्डसँग सम्झौता भइसकेको सेवा समाजका अध्यक्ष श्रीराम तमुले जानकारी गराएका छन्।
गतहप्ता पूर्वाञ्चल सरोकार समाज र नेपाली सम्पर्क समितिको तर्फबाट कार्यक्रम गर्ने अनुमती पाएको यस संस्थाले ओखलढुंगा जिल्लामा स्वास्थ र शिक्षामा पहुच नभएकाहरुको सहयोगार्थ, नेपाली गित रेकर्ड गराउने पहिलो महिला गायिका स्व.मेलवादेविको सम्मानमा पुरस्कार स्थापनार्थ, राष्ट्र,राष्ट्रियता र नेपाली एकताको सन्देश दिन, पर्यटन वर्ष २०२० सफल पार्न, शान्ति तथा मैत्री एवम भाइचारा अभिवृद्धिको साथै नेपाली कला र सस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य सहित कार्यक्रम गर्न लागेको जनाइएको छ।
सन् २०१५ मा स्थापित यस सेवा समाजले कोरिया तथा नेपालमा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ। कोरियामा रहेका नेपाली संघ संस्थाहरु, नेपाली गीतसंगीत प्रेमीहरुलाई कार्यक्रममा उपस्थित भइ सफल बनाइदिन आयोजकले अनुरोध गरेको छ।