नयाँ बर्ष
‘नयाँ बर्ष सुरु भो । अघिल्लो नयाँ बर्षमा खाएका कति कसम पुरा भएन । फेरी नयाँ बर्षमा केही नयाँ कसम तयार छन् । यसपालीको कसम पनि कति पुरा होला ? अहिले नै भन्न मुस्किल छ । खाएका कसम सबै कहाँ पुरा हुन्छन् र ? तैपनि नयाँ बर्षको पहिलो दिन नै के उदास हुनु ?’ ऊ अलि आशाबादी देखियो । हल्का टाउको दुखि रहेको झै लाग्यो । त्यति साह्रै त होइन । उसले उठेर हेर्यो । ऊ सधै सुत्ने ओछ्यानमा थिएन । बोतलहरु लडिरहेका थिए । चुरोटका ठुटाहरु छरिएका थिए । नखाएर फ्याकिएका मासुका टुक्रा र विभिन्न साइजका तयारी खानेकुराका खोलहरु पनि चुरोटलाई साथ दिइ रहेको थियो । कम्पनीको कन्टेनरको भुईलाई बोइलरले तताए पनि माथिको फलाम चिस्सिएर कोठा चिसो भैरहेको उसले ठान्यो । कोठाको अबस्था देखेर उठी हाल्न मन लागेन । ‘नखाउँ भनेको साथीहरुले मानेनन् । विदेशका ठाउँमा साथीहरुका कुरा नमानौ पनि भएन । न्यु इयर इभमा पनि ।’ आफूले आफ्नै मन बुझाउन तर्क ग¥यो ।
‘एक साल भएछ परदेशी भएको पनि । के भयो के भएन ? के हिसाब किताब राख्नु ।’ झ्याउ मान्दै उसले मनमा कुरा खेलायो । ‘एउटा दशै, एउटा तिहार र अरु जे जति चाडबाड आउने आएगए स्वदेशमा । यता बिदेशमा त उस्तै हो । दशै भनिएन । तिहार भनिएन । शनिबार भनिएन । विहान आर्लराम बज्छ । उठ्नु पर्छ । जसरी पनि उठ्नु पर्छ । चिसो भन्न पाइन्न । गर्मी भन्न पाइन्न । कम्पनी छ र कम्पनी भित्रको जीवन छ । कम्पनीको मेसिनसँग काम गर्ने मेसिन मान्छे । यता कताको चाडबाड मनाउनु ? कोरियनका चाडबाडका नाम पनि असजिला छन् । जस्तै सलनाल, छुसक, क्रिसमस । यस्ता चाड मनाइदैन तर ती दिनमा काम गर्नु पर्दैन । बिदा हुन्छ । कोरियनका लागि यी सबै चाड अद्भुत रमाइलो ल्याउने अबसर होला । हामी बिदेशी कामदारलाई काम गर्न नपर्ने दिन हो बस् । ’ कोल्टे भएर बिस्तारै उठ्न खोज्यो तर उठेन ।
‘अँ साँच्चि आर्थिक हैसियतको एक बर्ष अघि भन्दा अलि राम्रो भो । अरु त के हुनु भाइबहिनी राम्रै कलेज पढेका छन् । महिनाको दस हजार जति खर्च आउँछ । आमालाई महिना महिनामा घर खर्च पढाइ दिएको छु । भैपरि आउने खर्च पनि मैले त हो तिर्ने । थोरै बैंक ब्यालेन्स पनि छ । आमासँग कुरा गर्दा गाउँले भन्छन् रे । कमाको छ केटाले ।’ ऊसले प्रगतिको सुचकको रुपमा आफूले कमाउने पैसालाई राख्यो । अघिसम्मको मनमा लागेको तुवालो अलि हटे जस्तो भो । सन्तुष्टीको भाव आयो । फिस्स हाँस्यो । टाउको दुःखी नै रह्यो । ‘अलि कति पिउन पाए त ठीक पो हुन्थ्यो कि ?’ मनमनै सोच्यो । अनि सुतेको ठाउँबाट ऊ उठ्यो । हिजोको बाँकी सोजु हेर्यो । बोतलको पिँधमा थियो । ‘एक प्याग हुने हुन्छ होला । पिउन पर्यो । त्यतिकै त बिहान बिहान कसरी पिउनु ?’ उठेर बिर्को लागेको कराई हेर्यो । त्यसमा पनि हिजो खाएर बाँकी बसेको बाँगुरको मासुका केही टुक्रा देख्यो ।
………………….
उसको लागि कोरिया एउटा सपना थियो । सपनाको सहर । धन सम्पति कमाउने सहर ।
काठमाडौमा ऊ महिनाको पाँच हजारमा काम गथ्र्यो एउटा रेष्टुरेन्टमा । भाँडा माझ्ने, खाना पकाउने, टेवल कुर्सी मिलाउने सबै काम गर्नु पथ्र्यो । बिहान एघार बजे देखि बेलुकी आठ नौ नबजेको दिन हुदैनथ्यो । विहान भने कलेज जान्थ्यो । गाउँमा पनि परिवारको आर्थिक अबस्था राम्रो थिएन । बाआमाले पढ्नको लागि आर्थिक सहयोग गर्न सक्ने हैसियतका थिएनन् । त्यसैले जे गर्न पर्ने हो ऊ आफैले गर्नु पथ्र्यो ।
पैसा कमाउन ऊसले विदेश जाने सोच्यो । धेरै पैसा तिरेर जान पर्ने देशमा ऊ जान सक्दैनथ्यो । उसको परिवारलाई धेरै ऋण पत्याउने मान्छे पनि थिएनन् । थोरै पैसा खर्च गरेर धेरै आम्दानी गर्न सक्ने देश कोरियाको बारेमा सुन्यो । साथीहरुसँग बुझ्यो । दुई हजार तिरेर कोरियन भाषा पढ्न सुरु ग¥यो । कलेजको पढाई राम्रोथ्यो । कोरियन पनि राम्ररी नै पढ्यो । कलेज छाड्यो । रेष्टुरेन्टको काम र बिहान कोरियन भाषा । दुई महिना पढे पछि जाँच दिने फारम भर्न समस्या भो । उसको रेष्टुरेन्टबाट बिदा पाउन सजिलो थिएन । त्यसैले आफन्त बिरामी भएको बाहनामा कोरियन भाषाको जाँच दिने फारम भर्यो । जाँचको समयमा पनि बाहना गर्यो । उसले जाँच पास ग¥यो ।
कहिले हेल्थ रिर्पोट, कहिले पासर्पोट बनाउन लाइन लाग्न जान पर्ने भए पछि रेष्टुरेन्टको काम छाड्यो । पहिले सजिलै कोरिया पुगिएला भन्ने ठानेको उसले अनेक हन्डर ठक्कर खायो ।
धन्न भाषा परिक्षा क्यान्सिल हुनु भन्दा एक महिना पहिला लेभर कन्ट्राक आयो । अनि बल्ल कारिया आउन पायो ।
…………………..
‘कम्पनीको कम गाह्रो छ । वल्डिङ गर्नु पर्छ । फलामको काम के सजिलो हुनु ? वल्डिङको उज्यालोले आँखा खान्छ । आँखामा मसिनो धुलो पस्छ । एक चोटी त आँखामा पसेको फलामको धुलो ननिस्किएर अस्पताल नै जान पर्यो । के गर्नु काम छोड्न पनि भएन । कम्पनीको काम धेरै गर्नु पर्छ । पैसा अरुको तुलनामा कम छ । तोकुवामा दिन्छ तलब । जति काम गरे पनि तलब फिक्स । बढि आउँदैन । जिन्दगीमा के के कुरामा गुनासो गर्नु ?’ ऊ साथीहरुसँग कुरा गर्दा यी सबै कुरा एकै सासमा सुनाउँछ । नेपालमा हुँदा रक्सि पिउदैनथ्यो । यता आए पछि हो सोजु खान थालेको । बंगुर पनि खाँदैनथ्यो । गाई त खाने कुरै भएन । तर सबै चल्छ यता । ‘के बार्नु विदेशमा ?’ कसैले केही भनि हाले ऊ फिस्स हाँस्दै भन्छ ।
………………..
ऊसले थोरै भएको सोजु गिलासमा हाल्यो । टाउको दुखेको भए पनि ग्यास बालेर बंगुरको मासु ततायो र प्लेटमा हाल्यो । फेरी अघि सुतेकै ठाउँमा बस्यो । एक चोक्टा मासु मुखमा क्वाप्प हाल्यो । मज्जाले चपायो । अनि आँखा चिम्म गरेर गिलासको सोजु पियो । अनि मनमनै भन्यो । ‘यो बर्ष पिउन छाड्छु । आज त न्यु इयर भएर पो । भोली देखि पिउँदिन । ह्याप्पि न्युइयर ।’