कोरियाली संस्कृतिभित्रको खानपान र मेरो अनुभूति


दक्षिण कोरिया सानो मुलुक भएपनि आर्थिक तथा साँस्कृतिक रुपमा यसको प्रभाव विश्वभर फैलिएको छ । पूर्व एसिया जापान र चीनको बीचमा रहेको मुलुक दक्षिण कोरियाको जनसंख्या लगभग पाँच करोड रहेको छ । कोरियामा एक जाती र एक भाषा भएकै कारणले होला सबैमा ‘हामी’ भन्ने भावनाको विकास भएको पाइन्छ । आत्मियता र शिष्टचार उनीहरुको पहिलो प्राथमिकताभित्र पर्छ । यहि सभ्य, सुसंस्कृत अनि विकसित मुलुक दक्षिण कोरिया यतिबेला मेरो कर्मभूमि बन्न पुगेको छ ।

कोरियालीहरु आफ्नो कला संस्कृतिप्रति जति संवेदनशील छन् त्यतिनै स्वादका पारखी पनि हुन् । उनीहरु आफ्ना परम्परागत खानेकुरालाई त्यतिकै प्राथमिकता दिन्छन् । स्वास्थ्यको दृष्टिकोणले समेत त्यत्तिकै फाइदाजनक मानिने कोरियाको स्वादिष्ट परिकार विश्वमै उत्कृष्ट परिकारको रुपमा समेत लिइन्छ ।

म सन् २०११ मा कोरियन नागरिकसँग विवाह गरेर नेपालबाट पहिलो पटक कोरिया आउँदा खानाको परिकार देखेर दंग परेकी थिएँ । ‘आम्मम कति धेरै परिकार ? कसरी खाने होला ?’ हेर्दै आँखा तिर्मिराउने परिकार मनमनै गन्न थालें । अधिकांश कोरियन परिकारसँग पहिलो पटक साक्षात्कार हुँदा मन एक किसिमले रोमान्चित भइरहेको थियो । भात भने सानो कचौरामा पस्किदा रहेछन् । हेर्दै यति थोरै भातले के पेट भरिएला र जस्तो लाग्थ्यो । नेपालमा फराकिलो थालमा एकथाल भात पस्केर खाने बानी परेकी म । कोरियाको भात देखेर भोकै परिने पो कि जस्तो लागेको थियो ।

खानाको साथमा माछा, मासु, तरकारी, सागसब्जी, गेडागुडी, अचार अनि समुद्रका झारपात र किराबाट बनाइएको थुप्रै परिकार हुने रहेछ । जसलाई कोरियान भाषामा ‘पानछान’ भनिन्छ । शरीरलाई चाहिने पौष्टिक आहार प्रत्येक खानामा समावेश गरिएको हुन्छ । पाहुना होस् या घरको सदस्य बसैजना सामुहिक रुपमा वरिपरि बसेर एकै ठाउँमा खाना खाने संस्कृति बडो रोचक लाग्यो ।

कचौरामा भात अनि कुक (झोल तरकारी)मात्रै फरक अरु त सबैले एकै ठाँउमा खाँदा रहेछन् । तर देन्जाङ चिजे, किम्चीचिगे, गाम्जाथाङ, मेवङथाङ जस्ता तरकारी भने एकैठाउँमा चल्ने रहेछ । नेपालमा जस्तो जुठोको पर्वाह नहुने रहेछ । नेपालको जातिय र वर्गिय विभेदसँग परिचित हुँदै आएकी म कोरियाको एकता अनि आत्मियता देखेर सुरुमा अलि अनौठो लागेको थियो।

कोरियाको सबैभन्दा लोकप्रिय अनि परम्परागत खाद्यपदार्थ हो किम्ची । हरेक खानामा किम्ची अनिवार्य चाहिन्छ । लसुन, अदुवा, खोर्सानी, मेल्चीचत(मसिनो माछालाई नुनमा लामो समय राखेर बनाइएको रस), चिनी, समुद्रमा पाइने मसिनो किरा जसलाई सेउ भनिन्छ लगायतका सामग्री हालेर बनाइएको किम्ची फ्रिजमा राखेर वर्षदिनसम्म खान मिल्ने रहेछ । किम्ची पनि धेरै थरिको हुँदो रहेछ । विशेष गरी मुला र किम्ची बनाउने एक किसिमको सागबाट बनाइएको किम्ची हरेक खानाको साथमा अनिवार्य हुनुपर्छ । थोरै पिरो, नुनिलो, गुलियो र अलिलि अमिलो किम्ची जिब्रोको स्वादसँगै स्वास्थ्यको लागि पनि त्यतिकै फाइदाजनक मानिन्छ ।

कोरियनहरु खानेकुरा खाँदा चपस्टिक प्रयोग गर्छन् । तर चपस्टिकले कहिल्यै कसैलाई वा कुनै वस्तुलाई देखाउनु हुन्न भन्ने मान्यता रहेछ । झोल पदार्थ भने चम्चाले खाने गर्छन् । हातले मुछेर खाना खाने संस्कृतिमा हुर्किएकी म कोरियामा खाना खाने बेला चपस्टिक समाउन नजानेर अरुको अगाडि लाजमर्दो भएकी थिएँ । टेवलभरी सजाइएको परिकारलाई वरिपरि बसेर सुइटर बुन्ने सुइरो जस्तो चपस्टिकले च्यापेर खाएको देख्दा सुरुमा त अचम्मै लागेको थियो । मैंले पनि अरुको हेर्दै बिस्तारै सुइरोरुपी चपिस्टिकलाई हातमा लिएर खाना च्याप्ने प्रयास गरें तर जानिन । मैंले चपिस्टिक समाउन नजानेर सासु र आमाजुहरु खान छाडेर मलाई हेर्दै हाँस्न थाले । यसरी समाउनुपर्छ भनेर श्रीमानले सिकाए पनि सुरुमा हात बसाउन मलाई हम्मे नै प¥यो । चपस्टिक समाउन जानेको त्यो पल मैंले ठुलै युद्ध जितेको महशुस गरें ।

गाईको मासु खान नपाइने देशबाट आएकी मैंले कोरियामै पहिलो पटक दिगमिगाउदै गाईको मासु खाएँ । अहिले मलाई त्यहि गाईको मासु सबभन्दा बढी मिठो लाग्छ । कोरियनहरु मासु खानको लागि पालेको कुकुरको मासु र बाख्राको मासु भने औषधीको रुपमा खाने रहेछन् । एकदिन श्रीमानसँग रेष्टुराँमा जाँदा बोसाङथाङ भनेर अडर गरे । हेर्दा खाउखाउँ लाग्ने देखेर अलिकति चाखेको मिठो लाग्यो । पछि सोध्दा पो थाहा पाएँ बोसाङथाङ त कुकुरको मासु पो रहेछ ।
नेपालमा हुँदा भटमासलाई उसिनेर कुहाएर तयार पारेको किनिमा अति मन पथ्र्यो मलाई । किनिमा विशेषगरी किरातीहरुले तरकारीको रुपमा खाने गर्छन् । यसको नमिठो गन्धका कारण अरुले त्यति रुचाउदैनन् । कोरियामा पनि किनिमा जस्तै स्वाद र गन्ध भएको भटमासबाट बनाइएको देन्जाङ पाइने रहेछ । किनिमाको स्वाद आउने हुनाले मलाई पहिलो पटक खाँदै देन्जाङ चिगे मन प¥यो ।

कोरियामा कुक अर्थात् झोल तरकारी बनाउँदा सिधै धाराको पानी भन्दा पनि मेल्ची (मसिनो माछा), दासिमा(समुद्रभित्र पाइने झार), मुला हालेर पकाइएको पानीमा कुक पकाउने चलन रहेछ । तरकारी(पानछान)मा भने लसुन र अदुवाको पेष्टसँगै गान्जाङ(सोयासस), मेसिल वा चिनी, कोछुजाङ(खोर्सानीको धुलोबाट बनाइएको पेष्ट) वा खोर्सानीको धुलो, छामगिरम(तीलको तेल), केसोगुम(तील) जस्ता मसला हाल्नुपर्ने रहेछ जसलाई ‘याङनिम’ भनिन्छ । पानछान बनाउदा नुनसँगै चिनी वा गुलियो स्वादको मुलयत लगाएर बनाएको देखेर सुरुमा मासु र तरकारीमा पनि के गुलियो लगाएको होला भन्ने सोच हुन्थ्यो ।

कोरियाली संस्कृतिमा जन्मदिन र सुत्केरीलाई मियककुक (समुद्रभित्र पाइने झारबाट पकाइएको झोलतरकारी) खाने चलन रहेछ । मियककुकले शरीरमा भएको रगत सफा गर्ने भएकोले सुत्केरीलाई तातो मियककुक खुवाइदो हरेछ । त्यसैगरी शरीरलाई फाइदा गर्ने जडिबुटीका दाना धेछु, अनेङ, कटुस, अदुवा, लसुन र विभिन्न वनस्पतीका जरा, धोराजी वा इम्सान (जरा) हालेर कुखुरा र हाँसलाई पनि सग्लै पकाइदो रहेछ जसलाई साङगेथाङ भनिन्छ । यो स्वास्थ्यको दृष्टिकोणले विशेष गरी गर्मीमा खाने गरिन्छ । साङगेथाङ खाने दिन नै हुने रहेछ । नेपालमा जनै पूर्णिमा अर्थात् क्वाटी खाने दिन जस्तै ।

त्यस्तै सुंगुरको मासुलाई पातलो काटेर उसिनेर वा फ्राइपेनमा तताउदै बोसो जति फालेर निकालेको मासु (साङगेबसाल) लाई काँचो साग साङछु र सिलामको पातमा हालेर प्याज र लसुनसँगै माकचाङ (देन्जाङ र कोछुजाङ मिसाएर बनाएको मासुसँग खाने विशेष अचार) हालेर बेरेर खाने चलन रहेछ । त्यस्तै चाडबाड वा पाहुना आउदा अन्य परिकारको साथमा बुलगोगी खाने गरिन्छ । मासुमा गान्जाङ, मेशिल, चिनी, लसुन अदुवाको पेष्ट, प्याज र गाँजर लगाएर मोलेर राखेको बुलगोगी  कोरियाको परम्परागत खाना मध्येको एक परिकार हो ।

त्यसैगरी पानीबाट निकालेको आलो माछाको काँडा फालेर पातलो काटेको काँचो माछा (हे) लाई हरियो सागमा माकचाङ चोबेर सोजु (कोरियन रक्सी)सँग खाँदा रहेछन् । काँचो माछाले छालालाई राम्रो गर्छ भन्ने मान्यता रहेछ । स्वास्थ्यको लागि अति उपयुक्त कोरियन खानाको स्वाद पहिलोपटक नेपाली जिब्रोमा भिज्न गाह्रो भएपनि पछि बिस्तारै बानी पर्दै गयो ।

चैतबैशाखतिर पाखामा भर्खर टुसा पलाएको तितेपाती टिपेर देन्जाङ हालेर झोल तरकारी पकाउदा रहेछन् जसलाई सुककुक भनिन्छ । जिब्रोको स्वाद भन्दा पनि यसले शरीरलाई फाइदा गर्ने भएकोले खाने चलन रहेछ । नेपालमा हरियो सागसब्जीदेखि तरकारी, मासु सबै तेलमा भुटेर मसला हालेर मजाले पकाएर खाने गरिन्छ । तर कोरियामा प्रायः सागसब्जी सफा पानीमा धोएर काँचै खाने गरिन्छ भने पालुङ, तोरी वा विभिन्न झारपात जस्ता लाग्ने साग वा कलिलो टुसाहरुलाई हल्का ओल्साएर तीलको तेल, लसुनको पेष्ट र नुन हालेर मुछेर खाने चलन रहेछ जसलाई नामुल भनिन्छ ।

त्यसैगरी क्याल्सियम पाइने भटमास नेपाल मकैसँग भुटेर खाने गरिन्छ तर कोरियामा भने उमारेको भटमास जसलाई खोङनामुल भनिन्छ, अनि भटमासबाटै बन्ने देन्जाङ, दुबु जस्ता दैनिक तरकारीको रुपमा प्रयोग गरिन्छ । भात पकाउदा थोरै भटमास, बोरीसाल(जौको चामल), छापसाल, रातो चामल र अन्य गेडागुडी मिसाएर भात पकाइन्छ । मासु र तरकारी पनि बोसो फालेर वा उमालेर मात्र खाने गरिन्छ । सागसब्जी या तरकारीहरुमा पाइने भिटामिनलाई नष्ट नपारी खाने यस्तो खाना स्वास्थ्यको लागि अति उपयुक्त मानिन्छ । माछा, मासु र हरियो सागपात कोरियनको खानामा अनिवार्य चाहिने परिकार हुन् । खाद्यपदार्थ एउटै भएपनि ठाउँ र देश अनुसार बनाउने र खाने शैलीमा धेरै भिन्नता हुने रहेछ । नेपाली खाना र कोरियन खानेकुरामा पनि बनाउने शैली धेरै फरक छ ।

कोरियन खानामा सर्प जस्तो देखिने अनि भोजपुरे खुकुरी जस्तो टलक्कै टल्कने लामो माछा, डरलाग्दा गंगटा, हातखुट्टा धेरै भएका अक्टोपस तथा खपेटाभित्र बसेका शंखेकिरा जस्ता समुद्रमा पाइने जीवजन्तु खाएको देखेर चकित पर्थें । नेपालमा समुद्र नभएकोले समुद्रभित्र पाइने किरा खान त के देख्न समेत पाएकी थिइन । समुद्रभित्रको जीव मात्र नभई लेउ, झारपातलगायतका खाद्यपदार्थमा त्यत्तिकै खनिज तत्व पाइने भएकोले पनि स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक नै मानिन्छ ।

सीफुड अर्थात् समुद्री खाना मैंले सुनेको मात्र थिएँ । कोरिया आएपछि प्रत्यक्ष देख्न पाएँ अनि स्वाद पनि लिन पाएँ । कुनै खाना हेर्दै खाउखाउँ लाग्दो देखिन्थ्यो भने कुनै घिनलाग्दो अनि डरलाग्दो पनि । हाम्रो घरमा खानाको परिकारमा प्रायःजसो सामुद्रिक परिकार पाक्थ्यो । हेर्दै आङ जिरिङ्ग हुने डरलाग्दो अनि घीनलाग्दो किराहरु कसरी खान सकेका होलान्, मनमनै सोच्थें ।

कोरियाको मुख्य ठुलो चाड सल्लार र छुसक हो । लुनार पात्रो अनुसार पहिलो महिनाको पहिलो दिन नयाँवर्षको रुपमा कोरियनहरुले सल्लार पर्व धुमधामका साथ मनाउँछन् । त्यस्तै अर्को दोस्रो ठुलो चाड हो छुसक । लुनार पात्रो अनुसार अगस्ट महिनाको १५ तारिखका दिन पर्ने छुसक विशेष गरी नयाँ बाली उठाउने बेलामा आफ्ना पुर्खालाई सम्झेर मनाइने गरिन्छ ।

छुसक पर्वमा विभिन्न परिकारका साथमा विशेषगरी नयाँ चामल र अन्य गेडागुडीको पिठोबाट बनेको रोटी खाने गरिन्छ । जसलाई कोरियन भाषामा ‘सोङफ्यन तक’ भनिन्छ । त्यसैगरी नयांवर्ष अर्थात् सल्लारमा भने अन्य परिकारसँगै चामककै पिठोबाट बनाइएको तककुक खाने गरिन्छ । यी पर्वहरुमा झेसा (पित्रृपूजा) गर्नुपर्ने भएकोले विशेष खानाका परिकारहरु बनाउनु पर्छ ।

कोरियन संस्कृतिमा घरको जेठा छोराले बाबुआमालाई हेर्नुपर्ने चलन रहेछ । नेपालमा कान्छा छोराले मुल घर थाम्नुपर्छ भने कोरियामा जेठा छोराले । त्यसैले बाबुआमाको मृत्युपछि उनीहरुको झेसा(श्राद्ध) गर्ने जिम्मेवारी जेठा छोराकै हुने हुनाले घरमा जेठी बुहारीले झेसामा चढाइने सम्पूर्ण खाद्यपरिवार तयार पार्नुपर्छ ।

यसरी फरक भाषा, फरक संस्कृति अनि फरक जीवनशैली र खानपान भएको मुलुकलाई एक्कासी कर्मघर बनाउदा थुप्रै समस्या अनि अप्ठ्यारा परिस्थितिको सामना अवस्य गर्नुपर्छ । यीनै तितामिठा भोगाइ र अनुभवबिच बिस्तारै कोरियाली जीवनशैलीलाई अपनाउदै अघि बढ्ने क्रम जारी छ ।

(Research Institute of Asian Sookmyung Women’s University, South Korea ले आप्रबासी महिलाहरुका लागि आयोजना गरेको निवन्ध प्रतियोगितामा पुरस्कार पाउन सफल लेख)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...