बोडी खेतीले बनायो लखपति
लीला श्रेष्ठ
भक्तपुर – केही वर्ष अघिसम्म लक्ष्मी श्रेष्ठलाई आफ्नो खेतमा धान लगाउँदा वर्षभरि खानसमेत पुग्दैनथ्यो । तर, त्यही खेतमा मौसमअनुसारको हरियो तरकारी फलाउने थालेपछि उनको आम्दानी मात्रै बढेको छैन दैनिकी नै फेरिएको छ । उनले बोडी खेतीबाट मनग्ये आम्दानी गर्छिन् । त्यो देखेर अरू पनि यसतर्फ हौसिएका छन् । हाल भक्तपुरमा यसका लागि प्रतिस्पर्धा नै चलेको छ । यो मौसम लहरे बालीअन्तर्गतको तने बोडीको समय हो । खेतभरि रहरै लाग्दो किसिमले बोडी फलेका छन् ।
चाँगुनारायण नगरपालिका–१४, मनोहरा बेसीकी लक्ष्मीको मुख्य पेसा व्यावसायिक तने बोडी खेती भएको छ । आफ्नै ४ रोपनी जग्गामा बोडी खेती लगाएकी लक्ष्मीले त्यो बेचेरै लखपति बनेकी छन् । ‘यो व्यावसायिक बोडी खेतीले जीवनस्तरै बदलिदिएको छ,’ उनले भनिन्, ‘अर्काको जागिर खोज्नुपर्ने बाध्यता पनि टरेको छ ।’ तीन महिनामा ३ देखि ४ लाख आम्दानी गर्न सकिने उनले बताइन् ।
लक्ष्मीजस्तै दुवाकोट मनोहरा बेसीका २० कृषकले लहरे बालीबाट प्रशस्त आम्दानी गर्छन् । नगदे बालीका रूपमा रहेको यो बोडी र सिमी खेतीबाट तीन महिनामै राम्रो आम्दानी हुने भएपछि किसानहरू यसतर्फ आकर्षित भएका हुन् । ‘हाम्रो परिवारको जीविकोपार्जन तने बोडीबाटै चलेको छ,’ स्थानीय गजेन्द्रबहादुर श्रेष्ठले भने । जिल्ला विकास समितिअन्तर्गत स्थानीय विकास कोषले कृषकलाई थप व्यावसायिक बनाउन सहयोग गरेको श्रेष्ठले बताए । ‘अन्न बालीबाट नगदे बालीमा फड्को मारेका छौं,’ उनले भने, ‘तरकारी बेचेर किसानहरू लखपति बनेका छन् ।’
स्थानीय विकास कोषले भक्तपुरको पकेट क्षेत्रका रूपमा समूह निर्माण गरी तरकारी खेतीका लागि प्रोत्साहित गरेपछि यहाँको २ सय रोपनी जग्गामा व्यावसायिक तने बोडी लगाउन थालिएको हो । कोषका कार्यकारी सचिव राजन शर्माले सामुदायिक सदस्यहरूलाई लहरे बाली खेतीको तालिम दिएर आयआर्जनको रूपमा सहयोग गरिरहेको बताए । कोषले कृषकहरूलाई बोडीको बिउ, तालिम र प्रविधि नि:शुल्क हस्तान्तरण गरेको थियो ।
वार्षिक तने बोडीबाट एक करोडभन्दा बढी कारोबार हुने गरेको कोषले जनायो । एक रोपनीमा ६० हजार रुपैयाँ खर्च गरेपछि खर्च कटाएर साढे २ लाखभन्दा बढी कमाइ गर्न सकिने कृषकहरू बताउँछन् । ‘एक रोपनी क्षेत्रफलमा बोडी खेती गरेकी छु,’ मनोहरा बेसीकी सोनु श्रेष्ठले भनिन्, ‘खर्च कटाएर साढे २ लाखसम्म आम्दानी हुने गरेको छ ।’ लहरे बालीअन्तर्गतको यो तरकारी खेती गर्न सजिलो छ । खेती गरेको तीन महिनादेखि उत्पादन दिन सुरु भई ६ महिनासम्म बोडी टिप्न मिल्ने कृषकहरू बताउँछन् ।
कोषअन्तर्गतका सामुदायिक संस्थाहरूको मागअनुसार बस्तीमा समूह गठन गरी खेती लगाउने प्रक्रिया अघि बढेको सिद्धि गणेश बेसी सामुदायिक संस्था दुवाकोटका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । समूहगत रूपमा तरकारी लगाएपछि बिक्रीका लागि पनि समस्या नभएको किसानहरू बताउँछन् । गाउँकै संकलन केन्द्रमा लगेर तरकारीको बजार व्यवस्थापन गर्ने गरेको कृषक सरिता श्रेष्ठले बताइन् ।
कोषले जिल्लाका विभिन्न ठाउँलाई कृषि व्यवसायबाट पहिचान दिने प्रयत्न थालेको स्थानीय सुरेन्द्र हाडाले बताए ।
कोषले भक्तपुरको दुवाकोट मनोहरा बेसीलाई तने बोडी, नगरकोटलाई बाख्रापालन, सुडाललाई बेमौसमी आलुखेती, बालकोटलाई फर्सीको मुन्टा, रायोको साग, बागेश्वरीलाई गोलभेडा खेती र चित्तपोललाई पाडी हुर्काउने अभियानका रूपमा पहिचान दिन कृषकसँग हातेमालो थालिएको शर्माले बताए ।