भुकम्प पछि मैले जे देखे र बुझे
सिपी मगर
दुई दिने यात्रा तय गरिएको गोरखा र धादिङको राहत बितरण कार्यक्रम बिभिन्न कारणले तीन दिन एक रातमा सकेर आज बिहान मात्र काठमाडौँ आइपुगियो । बिनाशकारी भूकम्पले साच्चि नै गाउँ बस्तीहरु बिक्षिप्त छ । अधिकांश मानिसहरूको गास बास कपासको ठेगान छैन । स्थिति असामान्य छ । तै हेर् मै हेर् उस्तै छु भनेर चित्त बुझाइरहेका छन् शायद आम नेपालीहरुले ।
राहतको सामग्री बोकेका गाडीहरु राजमार्गदेखि कच्ची बाटोहरुसम्म ताँती लागेका छन् भने ठाउँ ठाउँमा आवश्यक खाध्यान्न तथा दैनिक उपभोग्य बस्तुहरुको भण्डार गर्न अस्थायी क्याम्प तथा तहराहरु निर्माण गरिएको छ । तर पनि उचित ब्यबस्थापन हुन नसक्दा समस्या जहाँको तही छ ।
स्थानीय समाजसेवी तथा बुद्धिजीवीको जानकारी अनुसार राजनैतिक खिचातानीले गर्दा चिउरा दाल चिनी चामल भिजेर कुहिसकेको छ।बिदेशी दाताहरु संघ संस्था नेपालकै बिभिन्न दाताहरुले संकलन गरेको सामग्रीहरू एक ठाउँ गर्ने हो भने खरबौ रुपैया बराबरको सामान आइसकेको हुनु पर्छ।
बाटोमा राहत बोकेको गाडी देख्ने बित्तिकै केटा केटी देखि बृद्दहरु सम्म राहत दिनु न भनिरहेका हुन्छन्।त्यसो भनिरहदा उनीहरुको अनुहारमा कुनै गहिरो भाव भेटिदैन अर्थात् सामान्य अवस्था मै राहत माग्न थालिसकेका छन्।राहत मागेर औपचारिकता निभाईरहेका छन्।मलाइ लाग्छ राहत भन्ने शब्द शताब्दीकै सुपर हिट हुन सक्छ।
हामीले बुझ्नु पर्ने राहत भन्ने बित्तिकै खानेकुरा र बन्दोबस्त को सामान मात्र राहत होइन।राहत पुर्याउनको निमित्त कुना काप्चामा बाटो राम्रो हुनु पर्ने भएकोले पहिरोले पानीले भत्काएका बिगारिएका बाटोहरु डोजर लगाएर या श्रमिकहरू तलबमा काम लगाएर बाटो राम्रो बनाउन सके मात्र पनि राहत सामग्री लान अर्को राहत हुने थियो।गाउँ घरका अधिकांश बाटोहरु बर्षा तथा पहिरोले बाटो बिग्रेका हुनाले राहत बितरण शहर केन्द्रित हुन पुगेको छ।चाहेर पनि गाउँ बस्ती जान नसकेको अवस्था छ। एबिसी टेलिभिजनका पत्रकार मित्र गीता रानाले स्थलगत रिपोर्ट गर्नु भए अनुसार गोर्खा बारपाकका प्रभावित समुदायहरु सबैभन्दा पहिला घोडा हिड्ने बाटो चाहन्छन्।
अर्को हाम्रो कमजोरी हामी जे सुकै बिषयमा पनि सरकार नेता राजनैतिक पार्टी दातृ निकायको मुख मात्र ताक्छौ।नेता सरकारले देला र खाम्ला भनिरहदा उल्टै हाम्रो नाममा उनीहरुले खाइरहेका हुन्छन् अर्थात् नचाहिँदो सम्मान दिइरहेका छौ हाम्रो सरकार र नेताहरुलाइ। कमसेकम हामी आफैले ब्यबस्थापन गर्न सक्ने बाटो घाटो त बनाइदिउ र पो राहत आउन सजिलो हुन्छ ।
अझ मैले यथार्थ देखेको कुरा वल्लो गाउँमा राहत लिएर गएका हुन्छौ स्थानीय बासिन्दाले सोध्छन् यो राहत कता लाने हो? अनि उत्तरमा उ त्यो पल्लो गाउँमा लाने हो भनिरहदा नाक खुम्च्याउछन् हेयको भावले हेर्छन् बाटो देखाइदिन र बोल्न पनि खोज्दैनन्।राहत पाउनेहरुलाइ राहत दैलैमा ल्याइदिए हुन्थ्यो भन्ने लागेको पनि पाइयो।किनकी उनीहरु पाएका सामान पनि तल माथि गर्न जागर गर्दैनन्।यो तितो यथार्थ हो। हामीले गर्न सक्ने जिम्मेवारी पनि निभाएनौ भने राहत राहत मात्र हुन्छ।राहतलाइ सहयोग अनुदानमा बदल्ने प्रयत्न गरौ प्रण गरौ।