पिडा मुक्त छैनौ हामी प्रवाशी
कल्पना राई
नेपालमा २०७२/०१/१२ गते सनिबार गएको महाभूकम्पले देश र देशबासी सम्पुर्णलाई क्षतविक्षत बनाएको छ । अझ पटक पटक भूकम्पको झट्का दोहारी रहदा हरेक नेपालीको मन यतिबेला त्रसित छ । बर्षौ देखि काठमाण्डौको मुटुमा अवस्थित धरहरा जसले विश्वमा म नेपालि हुँ भनेर गौरब साथ आफ्नो शिर ठड्याएर उभिएको थियो,हो उ पनि आज यस महाभुकम्पको शिकार हुन पुगेको छ । सायद अब कहिले न उभ्भिने गरि टुक्रा टुक्रा भएर धुलो भएको छ । त्यसै गरि बसन्तपुर वरपरका एतिहासिक संरचना, धार्मिक स्थल लगायत उपत्यका बाहिर धेरै भन्दा धेरै ठाँउमा भौतिक संरचना अति दुखदायी तरिकाले ध्वस्त भएको छ कि सम्झदा मुटु फुट्ला जस्तो भइ रहेछ । भौतिक संरचना आजै नभए भोली फेरी पनि बन्ने सम्भावना हुन्छ तर अनगिन्ती मानबिय क्षति कसरि बिर्सनु?
हो आज मन असाध्य रोईरहेछ, अनायासै सामाजिक संजालहरुमा आफ्नो देश,आफ्नो मातृभूमि आफु जन्मेको, आफु हुर्केको, बढेको, खेलेको र आफु नेपाली हुँ भन्ने पहिचान दिने नेपाल आमाको विभत्स तस्बिरहरु देख्दा आफ्नो आत्मा मरेतुल्य भएको छ । पलपल विश्व भरिको सञ्चार माध्यमहरुले नेपालको आलो घाउलाइ जस्ताको त्यस्तै प्रसारण गरि रहँदा यो मन मस्तिष्कले ठाँउ छोडेको अनुभूति भइ रहेछ ।यति बेला आफु प्रवाशी हुनुको अतुलनिय पिडा बोध भएको छ ।
घरपरिवारका आर्थिक ,मानसिक पिडा पहिल्याउदै थाकें भनेको मन बास्तबमा आज थाकेको महसुस भएको र आफैलाई धिक्कार्न मन लागी रहेछ । किन कि यति बेला प्रवासमा छु,प्रवाशी भएर बाँची रहेछु,अर्थ आर्जनको लागी म अरुको गुलाम छुlअरुको ठाँउ अरुको देश बनाउन सघाउदैछुl तर आफ्नै देशको यो दसाले ग्लानी भई रहेछ आफ्नो हात र पाखुरा देखेर जसले दुखेको मेरो आफन्त नेपाली दाजुभाई,दिदि बहिनी,बुवा आमा र साथी संगीको सहयोगको लागी केहि गर्न सकिन यति सम्म कि एक गिलास पानी पिलाउन सकिनlम कसरि गर्व गरौ कि,म नेपाली हुँ भनेर ? कसरि भनु मेरो शिर धरहरा र सगरमाथा जस्तो स्वाभिमानले उच्च छ भनेर?कसरि भनु मेरो छाती भित्र नेपाली मन छ जसले नेपालीत्व पहिचानको बिशाल हृदय बोकेको छ कसरि भनु? …जो शरीर केहि पैसाको लागी बिदेशीको अधिनमा छlम आफुलाई देखेर आफै ग्लानीले झुकेको छुlसायद अब कदापी यो मानसिक पिडा बोधले उठ्न सक्ने छैन ।
पटक पटकको भूकम्पको झट्का र मार खप्दै चौरको छाती भरि पाल टाङ्ग्दै रात बिताउदैछ्न अरे आफ्ना आफन्त त्यस माथी अविरल झरी कस्तो होला मेरो देश?अकाल्प्निक दुखाइले यो न्यानो ओछ्यान बिजाइ रहेछ,प्रवासी भुमीको थकाइ पश्चात पनि आँखाहरु निदाउन मान्दैनlए!प्रकृति कस्तो प्रकोप लिएर आयौ? एउटा सुन्दर संसार तहसनहस गर्नलाई?
तिमीलाई अवगतै थियो मेरो नेपाल कस्तो र कुन हालत बाट गुज्रिरहेको थियो,तिमीलाई त थाहा नै थियो फेरी किन यस्तो अनिष्ट लिएर आयौ?देश बनाउछु भन्दै बर्षौ जनयुद्ध चलेको मेरो देश हजारौले बलिदान दिएर पनि निकास नपाएको मेरो देश रगतको आँशु रोईरहेको बेला,बर्षौ देखी देशलाई सुखी,सम्पन्न र समृद्ध बनाउने खाकाहरु कोरेर एकल सासनले खडेरी झैँ सुख्खा भएको बेला,पुंजीवाद,नाताबाद,कृपावादको खेलमा फसेको बेला दिनहु बलात्कार,लुटपाट,दुर्घटना,अत्याचार,ठगीले ग्रस्त भएको बेला अरु कुन पिडा कम थियो र? तिमी आयौ प्रकृति आफ्नो अदम्य शक्तिको प्रदर्शन गर्न,हँ……?
धन्य छौ सकुसल रहेका नेपालीहरु तिमीहरु त बाँच्यौ अब ति ठुल्ठुला घर बिल्डिंगले पुरिएर रहेका आफ्ना आफ़न्त छरछिमेकलाई उद्धर गर्ने जिम्मा तिम्रो हो र तिमीले गर्नै पर्छ र जो जसले तनमन लगाएर उद्धरमा खटिनु भएको छ उहाहरुलाई सलाम साथै आफ्नो देशको मानचित्र नाघेर नेपाल र नेपालीको घाउमा मलम लगाउन आउने छिमेकी रास्ट्र भारत,चिन,क्यानडा,सिंगापुर,पाकिस्तान,इजरायल,अमेरिका,बेलायत,जापान,श्रीलंका,बंगलादेश,भुटान, दक्षिण कोरियालगायत अन्य राष्ट्रका स्वयम सेवकहरु र ति राष्ट्रका संचालकहरुलाई सलाम तर आफ्नै राष्ट्रका केहि मै हुँ भन्ने नेताहरु र पदाधिकारीहरु प्रति मेरो गुनासो र आपति छ ।
उत्खनन तथा भू गर्भ बिदहरुको कुनै काम नभए किन जनताले तिरेको कर र रेमिट्यान्स बाट तलब खुवाउने?यही प्रश्नहरु मनमा तछाड मछाड गरिरहेछ,सगरमाथा टेलिभिजनले देखेको उक्त कार्यलयको पदिधिकरिहरु दिनभरी तासको पत्तीमा रमाउदा रहेछन अनि कसले गरोस भू गर्भको निरिक्षण परिक्षण अनि कसरी आंकलन गर्न सकोस? भूकम्प आउनु न आउनुमा भू-गर्भ विदहरुको केहि भूमिका हुन्न?त्यसै गरि देशका ठुला नेताहरु मानबियता को चरम सिमा उलंघन गर्दै सामाजिक संजालहरुमा स्टाटस लेखेको देख्दा उदेक लाग्छ lत्यस्ता व्यक्तिहरुलाई कसले आफ्नो अगुवा बनायो तिनीहरु प्रति दया लागीरहेछ ।
अझै पनि नेपालका बिभिन्न बिकट जिल्लाका गाउघर तिर उद्धारको काम सुरु भएकै छैनlजस्तै दोलखा नुवाकोट ……अरु बिभिन्न ठाउमा उद्धार टोलि पुगेकै छैन,काठमाण्डौलाई मात्र सहयोग राहत र उद्धारको केन्द्र बिन्दु बनाउनाले अरु तिर क्षतिले उग्ररुप लिने त होइन?सम्बन्धित पक्षको बेलैमा ध्यानकार्षण होसlकालो बाजारी,महंगी,चोरी डकैति,सरसफाई,स्वच्छ पानी जस्ता अति शुक्ष्म तर अति महत्व पूर्ण बिषयमा सरकारी निकायको ध्यान जाओस ।
अन्तमा,माहा भूकम्पको शिकार हुनुभएर मृत्यु हुनुहुने सम्पूर्णमा हार्दिक श्रद्धा सुमन,चोटपटक लागेर घाइते हुनुहुने सम्पुर्णलाई सिघ्र स्वास्थ्य लाभको शुभ कामना,आफ्ना आफन्त गुमाएर वियोगको आँशु बगाउनु हुने सम्पूर्णमा धर्यधारण गर्ने शक्ति मिलोस,हामी पनि प्रवाशमा बसेर कोहि पिडा मुक्त छैनौ,हामी हरेक नेपाली भोक,तिर्खा निन्द्रा बिर्सेर नेपाल र नेपाली सम्झेर मुटु कमाउदै बसेका छौl अकाल्पनिक समाचार पलपल सुनिरहदा आँशु बगीरहेछlओठ तालू सुकाएर भित्तामा तासिएको टेलिभिजन मार्फत शोकाकुल देशको जानकारी लिन एकोहोरिएका छौ आफैलाई धिक्कारी रहेका छौl आफ्नै कानले चित्कार सुने पनि आफ्नो हातले ध्वस्त भवन पन्छाएर आमाको पुरिएको छोरा,छोरी निकाल्न सकिरहेका छैनौ ।
बुढो बुवाको बुढेसकाल को साहारा निकाल्न सकिरहेका छैनौ l भल्भल्ती रगत बगेका रक्ताम्य घाउहरुमा आफ्नो हातले मलम पट्टी गर्न सकेका छैनौlभोक प्यासले छ्ट्पटिएका कोहि कसैलाई एक छाक खुवाउन सकिएको छैनlसोच्नुहोस हामी प्रवासी कति पिडामा छौ कति कल्पी रहेका छौ आफ्नो देश सम्झेर,आफ्नो परिवार सम्झेर अनि तपाईहरु सम्झेर…… ।
दोलखा नेपाल
हाल दक्षिण कोरिया