Advertisement
SKIP THIS

कोरियाको शिक्षा प्रणाली


पछिल्लो समय दक्षिण कोरियामा विदेशीहरुको संख्या निरन्तर बढ्दै गएको छ। विभिन्न भिषामा कोरियामा रहेका विदेशीहरुले भिषा परिवर्तन सँगै भिषा अनुसार आफ्ना परिवारलाई कोरियामा राख्न पाउने सुविधा पनि कोरियन सरकारले उपलब्ध गराएको छ। जसले गर्दा धेरै अभिभावकहरूले आफ्ना छोराछोरीलाई कोरियाकै विद्यालयमा पढाउन थालेका छन्। फलस्वरुप कोरियाको प्राथमिक तथा निम्न माध्यामिक विद्यालयहरुमा विदेशी विद्यार्थीहरुको संख्यामा वृद्धि भइरहेको छ। अब कोरियाको शिक्षा प्रणाली कस्तो छ भन्ने कुरा एकपटक हेरौँ।

अंग्रेजी महिनाको मार्च २ तारिखबाट कोरियामा नयाँ कक्षा (सेसन) सुरु हुन्छ। कोरियन बालबालिकाहरू नयाँ साल लागेसँगै सात वर्ष (कोरियन उमेर आठ वर्ष)मा प्रवेश गर्छन्, बल्ल उनीहरू नजिकैको प्राथमिक विद्यालयमा कक्षा १ मा भर्ना हुन्छन्।

कोरियामा बच्चा जन्मेको तीन महिना वा छ महिनादेखि नै नजिकैको डे केयर या प्लेग्रुपमा पठाउन सकिन्छ जसलाई कोरियन भाषामा अरिनिचिब भनिन्छ। ०~५ वर्षसम्म बालबालिकाहरुले गीतसंगीत र खेलको माध्यमबाट आधारभूत ज्ञान हासिल गर्छन्। तालिम प्राप्त शिक्षिकाहरूले बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म आधारभूत सिकाइका कक्षा सञ्चालन गर्छन्। त्यो समयभन्दा अघि वा पछि पनि कामदार आमाबाबुको अवस्था अनुसार राख्न सकिन्छ।

विद्यालयको औपचारिक शिक्षा सुरु हुनुअघि दुई वर्ष किन्डरगार्टेन (युछिवन) मा पढाइन्छ। किन्डर गार्डेन पढ्ने उमेर ५~६ वर्षको हो। यहाँ पनि खेलकै माध्यमबाट अध्ययन गराइन्छ। यो बेलासम्म प्रायः बालबालिकाले अक्षर चिन्नुका साथै पढ्न लेख्न जानिसकेका हुन्छन्।

नेपालमा अभिभावकले गाउँघरका स्कुल छाडेर सहरबजारमा आफ्ना छोराछोरीलाई आफ्नो रोजाइको स्कुलमा पढ्न पठाउँछन्। नेपालमा धनीमानीहरूले आफ्ना छोराछोरीलाई महँगो विद्यालयमा पढाउँछन् तर कोरियामा भने त्यस्तो हुन्न। आफ्नो पायक पर्ने नजिकको विद्यालयमा आफ्ना बच्चालाई पठाउनुपर्छ। विद्यालय भर्ना हुनुअगावै आफ्नो क्षेत्रमा रहेको वडा कार्यालयबाट कुन विद्यालयमा पठाउने, कुन दिन भर्ना गर्ने भनेर चिठी आउँछ। त्यहीअनुसार आफ्नो बच्चालाई लिएर अभिभावक तोकिएको समयमा विद्यालय पुगिसक्नु पर्छ।

कोरियामा आफ्ना छोराछोरी कक्षा १ मा भर्ना हुने बेला साँच्चिकै उत्सवकै रुपमा लिइन्छ। अभिभावकले मात्र नभएर आफ्ना आफन्तजनहरुले समेत स्कुल ब्याग, कपडा वा पैसा उपहार दिने चलन छ। नेपालको विद्यालयमा विषय अनुसारको फरक शिक्षकहरु पालैपालो कक्षा लिन्छन् तर कोरियाको प्राथमिक तह कक्षा ६ सम्म वाह्यशिक्षक अर्थात कहिलेकाँही आउने भिजिटिङ शिक्षक बाहेक एउटा कक्षामा एक जना शिक्षकले सबै विषय पढाउने गर्छन्। एउटा कक्षामा विद्यार्थीहरु धेरै भए सेक्सन १,२,३ गरेर छुट्टाएर राखिन्छ। किनकी एउटा सेक्सनमा २०/२५ जना जना मात्र राखिन्छ। ४० मिनेटको पिरियड पछि १० मिनेट ब्रेक टाइम हुन्छ। प्राथमिक तहको कक्षा ९ बजे सुरु भएर प्रायः २ बजे सकिन्छ। तर बिहान ८:३० बजे नै विद्यालय पुग्नुपर्छ।

कोरियाको प्राथमिक तहमा अर्थात् कक्षा ६ सम्म विद्यार्थीहरुको युनिफम लागू गरिएको छैन। तर माध्यामिक तह कक्षा ७ बाट भने अनिवार्य युनिफम लगाउनु पर्छ। युनिफम पनि एक सेट सुरुमा विद्यालयले नै किनीदिन्छ र एक्स्ट्रा युनिफम र स्पोर्टस ड्रेस भने आफैले किन्नुपर्छ। माध्यामिक तहमा पनि आफु खुशी जुनसुकै विद्यालयमा भर्ना हुन सकिदैन। अगाडि नै विद्यालयबाट फारम भर्दा आफ्नो नजिकको पायक पर्ने विद्यालय १ नम्बरमा राखेर आफु विकल्पमा जान चाहेको विद्यालयको नामहरु क्रमशः २, ३ नम्बरमा राख्नुपर्छ। डिसेम्बर अन्तिम र जनवरी पहिलो साताभित्र कुन विद्यालयमा जाने हो नाम निस्कन्छ।

माध्यामिक विद्यालय पनि बिहान ९ बजेदेखि सुरु हुन्छ। माध्यामिक तहमा ४५ मिनेटको कक्षा र १० मिनेट ब्रेक टाइम हुन्छ भने उच्च माध्यामिक तहमा ५० मिनेटको एक पिरियड हुन्छ। माध्यामिक र उच्च माध्यामिक तहमा भने प्राथमिक विद्यालयमा जस्तो एउटै शिक्षक नभई विषय अनुसारको फरक फरक शिक्षकहरुले कक्षा लिन्छन्।

कोरियाको शिक्षा प्रणालीले प्राथमिक शिक्षा ६ वर्ष, माध्यमिक शिक्षा तीन वर्ष र उच्च माध्यमिक शिक्षा तीन वर्ष गरी १२ वर्षसम्मको विद्यालयस्तरको शिक्षा तोकेको छ। र, यो निःशुल्क हुन्छ। प्राथमिक तह र माध्यामिक तह गरी नौ वर्षको शिक्षा अनिवार्य शिक्षा हो। अभिभावकले आफ्ना बच्चाहरूलाई अनिवार्य रूपमा विद्यालय पठाउनुपर्छ। छोराछोरीलाई विद्यालय नपठाउने अभिभावकले जरिबाना तिर्नुपर्छ।

थप तीन वर्षको उच्च माध्यमिक तहको शिक्षा अनिवार्य नभए पनि अनिवार्य जस्तै छ, जहाँ विद्यार्थीले आफ्नो रुचिअनुसारका विषयहरू पढ्छन्। यही आधारमा भविष्यमा के बन्ने भनेर उनीहरूले तय गर्छन्। उच्च माध्यामिक विद्यालयमा कुन विषय पढ्ने? कुन विद्यालयमा पढ्ने? भन्ने माध्यामिक तहमा विद्यार्थीको पढाईको स्तरमा भर पर्छ। सबैभन्दा राम्रो विषय वा विश्वविद्यालय पढ्नको लागि माध्यामिक तहबाट नै विद्यार्थीले धेरै मेहेनत गर्नुपर्छ। ३ वर्षको माध्यामिक तहमा राम्रो पढ्ने विद्यार्थी मात्र राम्रो उच्च माध्यामिक विद्यालयमा पढ्नको लागि नाम निकाल्न सफल हुन्छ। त्यसैले माध्यामिक तहबाट कोरियाका विद्यार्थीहरुले पढाईमा धेरै मेहेनत गर्न थाल्छन्।

कोरियामा एक वर्षलाई दुई सेमेस्टरमा विभाजित गरेर शैक्षिक कार्यक्रम सञ्चालन गरिन्छ। प्रथम सेमेस्टर मार्चमा सुरु हुन्छ भने दोस्रो सेमेस्टर अगस्टको अन्तिम वा सेप्टेम्बरको सुरुमा सुरु हुन्छ। लगभग एक महिना जति गर्मी र जाडो बिदा हुन्छ। प्राथमिक र माध्यमिक विद्यालयको शैक्षिक प्रणालीमा पाठ्यपुस्तक क्रियाकलाप र अन्य क्रियाकलापअन्तर्गत सिर्जनात्मक कक्षा पढाइ हुन्छ।

प्राथमिक शिक्षाले सही चरित्र विकास, जीवनका आधारभूत बानी तथा सिकाइमा जोड दिन्छ। दैनिक जीवनका लागि आवश्यक आधारभूत क्षमताहरूमा पनि जोड दिइन्छ। पहिलो र दोस्रो कक्षाका विद्यार्थीले कोरियन, गणित, सही ढंगले जीवन यापन गर्ने सीप, जीवनका लागि आवश्यक पर्ने विवेक आदि बारेमा सिक्छन्। तेस्रोदेखि छैटौं कक्षाका विद्यार्थीले कोरियन, सामाजिक शिक्षा र नैतिक शिक्षा, गणित, विज्ञान र गृहविज्ञान, शारीरिक शिक्षा, संगीत र कला, अंग्रेजी, आदि सिक्छन्।

कोरियाका विद्यार्थीलाई तिमी कति वर्षको भयौं ? भनेर उमेर सोधियो भने उसले जवाफमा भन्छ, ‘म यति कक्षाको विद्यार्थी हुँ।’ यसरी कक्षाको आधारमा उसको उमेर थाहा हुन्छ। कोरियामा एकै सालभित्र जन्मेकाहरू मात्र साथी हुन्छन् र उनीहरू एउटै कक्षामा पढ्छन्। आफूभन्दा एक वर्ष जेठोलाई दाइ दिदी, कान्छोलाई वा भाइ, बहिनी भनेरै सम्बोधन गर्नुपर्छ।

कक्षामा विद्यार्थीको जाँच लिइए पनि पढाइमा कमजोर विद्यार्थीलाई कक्षामा फेल गरिँदैन। तर उनीहरूको पढाइको ग्रेड हेरेर उच्च माध्यमिक तहमा त्यही अनुसारको विषय र विद्यालयमा भर्ना लिइन्छ। कोरियामा विद्यार्थीलाई सैद्धान्तिक ज्ञानभन्दा पनि बढी बाहिर फिल्डमा लगेर प्रयोगात्मक शिक्षा दिइन्छ। त्यसैले कोरियन विद्यार्थीले किताबी ज्ञानसँगै बाहिरी ज्ञान पनि हासिल गर्दै जान्छन्।

कोरियामा निःशुल्क शिक्षा, पाठ्यपुस्तकसहित निःशुल्क खानाको व्यवस्थासमेत विद्यालयभित्र हुन्छ। विद्यालयको पढाइ सकिएपछिको समयमा विद्यार्थीहरुले विद्यालयभित्रै कम शुल्कमा सञ्चालित ट्युसनका क्लासहरु लिन सक्छन्। कोरियाको विद्यालयमा निःशुल्क शिक्षा प्रणाली लागू भए पनि बाहिर खोलिएका इन्स्टिच्युटमा महँगो शुल्क तिरेर ट्युसन पढाउने प्रवृत्ति छ। कोरियामा सरकारी विद्यालयहरुमा विदेशी विद्यार्थीहरुले कोरियन विद्यार्थी सरह निशुल्क सेवा सुविधा सहित पढ्न पाउँछन्। यद्यपि विदेशीहरुको वाहुल्यता भएको ठाउँहरुमा निजीस्तरका अंग्रेजी विद्यालयहरु पनि संचालित छन्। ति विद्यालयहरुमा भने शुल्क तिर्नु पर्ने हुन्छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...