‘साँस्कृतिक क्रान्तिपनि हरेक परिवर्तनको संवाहक हुनसक्छ।’ – शुभराज भोम्जन
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले फेब्रुअरी १ तारिख आइतवार नेपालका आदिवासीहरुको चाडपर्वको शुभकामना आदानप्रदान एवम “चिनारी अभियान” कार्यक्रमको आयोजना गर्दैछ। उक्त कार्यक्रमको सेरोफेरोमा रहेर साथै संस्थागत गतिविधिका बारेमा महासंघका अध्यक्ष शुभराज भोम्जनसँग गरिएको कुराकानी
१) अहिले अध्यक्षको रुपमा कतिको व्यस्त हुनुहुन्छ?
– म अहिले निकै व्यस्त छु। यो याम हाम्रो नेपालको आदिवासी जनजातिहरुको चाडपर्वको समय भएकोले गर्दा चाड मनाउन दौडधूप छ।
२) आदिवासीहरुले चाड मनाउँदै गर्दा त्यहाँ हुने उपस्थिति र मनाउने प्रकृया कस्तो पाउनु भयो?
– म अध्यक्ष भएर आएदेखि चासोक तङनाम, तमू ल्होसार र मगरको माघे संक्रान्तिमा औपचारिक सहभागिता जनाउने मौका पाएँ। ति सबै चाडहरुमा उपस्थितिको हिसाबले व्यापक नै छ। यद्यपि हामीले केलाउनु पर्ने विषय भनेको सहभागिता कुन हिसाबले भएको हो त्यो बुझ्न जरुरी छ। हाम्रो सहभागिता नाच्न, गाउन रमाइलो गर्न पाइन्छ, खान पाइन्छ भन्ने उद्देश्यले मात्र अलि बढि भएको जस्तो देखिन्छ।
हामीले आदिवासी चाड मनाउँदा सिकाईको थलोको रुपमा परिणत गर्न सकिन्छ।
ति चाड मनाउँन जाँदै गर्दा आफ्नो समुदायकोले होस या अन्य समुदायले केहि न केहि साँस्कृतिक महत्वका कुराहरु सिक्ने समारोह हुनुपर्छ। यस विषयमा सबैको ध्यानाकार्षण गराउन चाहन्छु।
३) चाडमा उपस्थित उमेर समूह र उनिहरुका सामाजिक मनोविज्ञान कस्तो पाइन्छ?
– यस्तो छ विशेष त यूवा जमातको उपस्थिति नै हो। रमाइलो भनेपछि अलि बढि यूवा वर्ग नै पर्छन्। रमाइलो पनि एक पाटो हो, रमाइलो गर्नै हुन्न भन्ने चाहिँ होइन। साँस्कृतिक कार्यक्रममा रंग, रश भन्ने कुरो मानिसलाई चाहिने कुरो नै हो। तर साँस्कृतिक विचलन नगरीकन सभ्य ढंगले प्रस्तुत हुनुपर्यो ता कि अन्य समुदायले हेर्दा पनि त्यसबाट सकारात्मक कुरो सिक्ने थलो बन्नुपर्यो।
चाडपर्व भनेको चाहिँ सशक्तिकरणका लागि प्रयोग गर्न सकिने एउटा अंग या प्रकृया हो तर यसबाट सबैकुरा भने पूर्ती हुँदैन।
४) चाडपर्व मनाउँदै गर्दा आदिवासीहरुको साँस्कृतिक संरक्षण वा प्रवर्द्धन गर्न पर्याप्त हुन्छ अथवा कुनै योजना निर्माण गर्नुपर्छ?
– सत्य कुरो के हो भने चाडपर्व भनेको चाहिँ सशक्तिकरणका लागि प्रयोग गर्न सकिने एउटा अंग या प्रकृया हो तर यसबाट सबैकुरा भने पूर्ती हुँदैन। साँस्कृतिक झाँकी आदि प्रदर्शन गर्दै गर्दा अन्य समुदायलाई परिचित गराउन सकियो तर मजबूतिकरणको सबालमा अधिकार विषयको उठानमा भने यतिले मात्र पुग्दैन। आन्दोलसँग जोड्ने सैद्धान्तिक वैचारिक विषय भने फरक पाटो बाट आउँछ।
दक्षिण कोरियाको सवालमा चाहिँ आदिवासी चाडबाडलाई वास्ता गरिन्न तर ठूला चाडवाड दशैँ तिहार आदि मनाउन तछाँडमछाँड गरिन्छ भन्ने कुरो उठिरहने, अनि हामीले के महसुस गर्यौँ भने अब हामीले नै सुरु गरौँ न, हामीले सुरु गरे अरुले पनि गर्लान भन्ने हो।
अहिले चाहिँ हामीले कुन कोणबाट काम गर्दा प्रभावकारी हुन्छ, हाम्रो कुरा , सत्ताको कानमा पुग्छ र राज्यमा स्थापित हुन्छ, हामीले त्यो माध्ययम प्रयोग गर्ने हो। साँस्कृतिक क्रान्तिपनि हरेक परिवर्तनको संवाहक हुनसक्छ। तर साँस्कृतिक प्रदर्शनले मात्र आदिवासीको चाड संरक्षण हुन्छ भन्नेमा मेरो सहमति छैन।
५) महासंघले फेब्रुअरी १ मा गर्न लागेको आदिवासी चाडपर्वको परिचयात्मक एवम चिनारी अभियान कस्तो कार्यक्रम हो?
– निर्वचित भइसकेपछि कार्यसमिति र सल्लाहकार समितिमा छलफल पश्चात आवश्यकतालाई मध्यनजर गरि यो कार्यक्रम आयोजना गर्न लागिएको हो। दक्षिण कोरियाको सवालमा चाहिँ आदिवासी चाडबाडलाई वास्ता गरिन्न तर ठूला चाडवाड दशैँ तिहार आदि मनाउन तछाँडमछाँड गरिन्छ भन्ने कुरो उठिरहने, अनि हामीले के महसुस गर्यौँ भने अब हामीले नै सुरु गरौँ न, हामीले सुरु गरे अरुले पनि गर्लान भन्ने हो।
यो आयोजना हुन लागेको कार्यक्रम चाहिँ शुभकामना आदानप्रदान र चियापानमा मात्र सिमित नगरेर हाम्रो चाडलाई प्रवर्द्धन गर्नका लागि पनि हो। अहिले तामाङ समुदायको परिकार र मगर समुदायको साँस्कृतिक पक्षलाई स्थान दिने र पछि अन्य समुदायको क्रमश प्रस्तुत गर्दै जाने योजना छ।
यसैगरि जातिय संस्थाका अध्यक्षहरुका लागि १० मिनेट समय छुट्याइएको छ , विशेष वक्ताको रुपमा अध्यक्षहरुले आफ्नो समुदायको चाडपर्वको ऐतिहासिक महत्व, मनाउने विधि प्रकृया, मूल्य मान्यताको विषयमा सविस्तार राख्नुहुन्छ, त्यस्लाई भिडियो बनाएर सामाजिक सञ्जाल मार्फत प्रचारप्रसारमा लाने। त्यसले गर्दा हलमा हुने त जानकार हुने नै भयो अनुपस्थित व्यतिले समेत बुझ्ने सिक्ने मौका पायो तसर्थ यस कार्यक्रमलाई चिनारी अभियान भनिएको हो।
६) महासंघको आदिवासी उत्थान कोषबाट वितरण गरिएको तथ्याङ्क कस्तो छ?
– आदिवासी उत्थान कोषको सवालमा चाहिँ म अघिल्लो कार्यसमितिबाट जोडिएपनि कोष भने अगाडी नै स्थापना भएको रहेछ। यो कोषबाट कास्कीतिर होला २/३ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको भन्ने छ यसमा मसँग ठ्याक्कै डाटा चाहिँ छैन। फाइलिङ गरिको होला म त्यस्लाई खोजेर प्रस्तुत गर्छु।
७) अब कोष सञ्चालन सक्रिय तवरले चलायमान बनाउन कस्तो योजना निर्माण गर्दै हुनुहुन्छ?
-कोष सञ्चालनका लागि त्यतिबेला नै सञ्चालन समिति बनाइएको रहेछ। कार्यसमिति सँग सहकार्य गर्ने उद्देश्यले अहिले हामीले कार्यविधि संसोधन गरेर अगाडी बढेका छौँ। कार्यविधिले तोके अनुसार निवर्तमान अध्यक्ष विसन राई स्वंय संयोजक रहनेछन्। अब ५/६ जना सदस्य चयन पछि सदस्य सचिव र आर्थिक संयोजक तोकेर प्रभावकारी ढंगले अगाडी बढ्नेछ। म अहिले त्यसैको बारेमा प्रस्ताव लेख्दै थिएँ।
८) दक्षिण कोरियामा करिब निष्कृय रहेका आदिवासी जातिय संस्थालाई सक्रिय बनाउन महासंघको भूमिका कस्तो छ?
– दक्षिण कोरियामा जनसंख्याका हिसाबले कम रहेका नेपाली आदिवासीको सवालमा उनिहरुलाई एकिकृत गर्ने र सकृय गराउनेमा पहिलेदेखि नै पहलकदमि गर्दै आइरहेको छु। यस्लाई निरन्तरता दिने मेरो योजना नै छ ।
संभवत धेरै लामो समयपछि होला यो कार्यसमितिमा ह्यल्मो समुदायबाट २ जना प्रतिनिधित्व गर्न आउनु भएको छ, एकजना छन्त्यालबाट आउनु भएको छ। थकाली र भुजेल समुदायबाट पनि समितिमा ल्याउने गरि खोजिरहेका छौँ।
कोरियामा रहेका निष्कृय बनेका संस्थाहरुलाई निरन्तरता दिनका लागि महासंघको सहयोग रहने नै छ हामी संवादमा नै छौँ र कम जनसंख्या भएकाले संस्था स्थापन गर्न सक्छन भने उहाँहरुलाई पनि महासंघको साथ सहयोग रहने नै छ। जस्तो केहि समय अगाडी निष्कृय बनेको नेवा पुच: हाल निकै सकृय बनेको छ। छन्त्याल र ह्लोल्मोलाई पनि अब महासंघले हौसला प्रदान गर्दै निरन्तरताका लागि भूमिका खेल्ने छ। यो विषय हाम्रो कर्तव्य र दायित्व भएकोले कार्ययोजना भित्र नै रहेको छ।
९) निर्वाचित हुँदै गर्दा तपाईले प्रतिवद्धता गर्नु भएको ‘वृहत आदिवासी भेला’ गर्ने योजना कसरी अगाडी बढ्दै छ?
– यो विषय पनि हाम्रो योजना भित्र नै छ। मौखिक रुपमा कार्यसमितिमा राखेको छु अब विस्तृत रुपमा ड्राफ्ट नै बुझाएर अगाडी बढ्ने हो।
यो वृहत भेला कोरियामा आवश्यकता देखिएर नै गर्न खोजिएको हो । जहाँ आदिवासी जनजाति महासंघभित्र आवद्ध र संवद्ध भएका संस्थाहरुको केन्द्र र शाखाहरुलाई एउटै केन्द्रमा जम्मा गर्ने , नेपालबाट आदिवासी अभियान्ता ल्याउने, दुइ दिनको प्रशिक्षण कार्यक्रम गर्ने, कोरियामा रहेका आदिवासी अभियन्ता , लेखक, संस्थाहरुबिच वैचारिक मन्थन छलफल गरि एउटा निष्कर्षमा पुग्ने । उक्त भेलाले के उपलब्धि हाँसिल गर्छ त्यसलाई घोषणा पत्रको रुपमा जारी गर्ने।
१०) अन्त्यमा यहाँलाई लागेको केहि कुरा?
– महासंघले आदिवासी शशक्तिकरणको, एकताको विषयमा, साहित्य क्षेत्रमा, रैथाने परिकारको बारेमा पनि कार्यक्रम गर्ने योजना छ।
फेब्रुअरी १ को कार्यक्रममा सबैलाई हार्दिक निमन्त्रणा गर्दै यो समयको लागि फोनिज कोरियालाई धन्यवाद दिन चाहन्छु।