उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
जब-जब ‘उज्यालो नेपाल’को प्रसङ्ग उठ्छ, तब मेरो मानसपटलमा लगभग ८ वर्ष अगाडिको त्यो कठिन संघर्षका दृश्यहरू झलझली घुम्न थाल्छन्। उज्यालो नेपाल अभियानमा काँधमा काँध मिलाएर सडकमा ओर्लिएका ती साथीहरूलाई मेरा आँखाहरूले आज पनि खोजिरहन्छन्।
ओ हो, सर्वोच्च अदालतको निर्णय विरुद्ध नै पो? त्यो पनि सर्वोच्च अदालत कै अगाडि प्रदर्शन! कानूनका धारा उपधारा जान्ने एक जना सहभागी मित्रको आन्दोलन हुनुपूर्व छलफलको क्रममा आन्दोलन सफल होला र भन्ने शंकास्पद आशंका थियो।
केही दिनमा त बृहद जनप्रदर्शन। सबैलाई आह्वान पनि गरिसक्यौं। उत्पीडित जागरण अभियान मोर्चा हाल नाम परिवर्तन भएर/गरेर “उत्पीडित जागरण अभियान समाज” भएको छ। संस्थाका अध्यक्ष गुन्जमान लोप्चन जीले भन्नुभयो, मणिक जी हाम्रो संस्थाको तर्फबाट संयोजन गरेर सहभागिता जनाउनुस् न है। विवेकशील पार्टीले उज्यालोको पक्षमा प्रदर्शन गर्ने रे। एक बचनमा प्रस्ताव स्वीकारें। विशेष सहयोगी भूमिकामा संस्था अग्रसर भएर संस्थाको तर्फबाट सयौंको संख्यामा भृकुटीमण्डपको चौरमा जम्मा भयौं। हामीले सहभागिताको लागि आह्वान गरेको खबर सुनेर र्यालीको बीच बीचबाट प्रवेश गर्नेहरुको संख्या पनि उल्लेखनीय थियो। खुल्लामञ्चको चौर त्यो बेला सभा सम्मेलनको लागि खुल्ला हुने गर्दथ्यो। हामीले उज्यालोको पक्षमा नारा घन्काउँदै गर्दा हाम्रा आवाज सुन्नेहरू बढ्दो थियो। लोडसेडिङ अन्त्य गरेका कुलमान घिसिङ त्यतिखेर उज्यालो नायक भइसक्नु भा’थ्यो। विवेकशील पार्टीका नेताहरूका केही लामा-लामा भाषण पछि, विशेष सहयोगी भूमिका खेलेको संस्थाको तर्फबाट मैले बोल्ने मौका पाएँ। खुल्ला मञ्चमा सानो मन्तव्य राख्दै भनेको थिएँ, ‘यदि राम्रो काम गर्नेलाई काममा अड्चन गरे र नेपाललाई अझै अँध्यारो मै राख्न षड्यन्त्र भो भने हामी यो भन्दा विशाल आन्दोलन गर्नेछौं।’
सर्वोच्च अदालतले विद्युत प्राधिकरणका तीन भ्रष्ट कर्मचारीको पुनः बहालीको निर्णय गरेको थियो। जसले वर्षौंसम्म नेपाल र नेपाली जनतालाई अन्धकारमा राखे। त्यो बेला लोडसेडिङको अन्त्य गर्दै, उज्यालो बनाएका कुलमानको विरुद्धमा, सर्वोच्चको गलत निर्णय थियो। विवेकशील पार्टीसँग सहकार्य गरेर फेरि अर्को वार कि पार हुने आन्दोलन गर्ने भनेर छलफल गरियो तर पार्टीको हिम्मत जुट्न सकेन र पछि हटे। रत्न तामाङ, जुझारू युवा मित्रले ‘हामी आँटौं सर’ भनेर भन्नुभयो। यसलाई “उज्यालो नेपाल अभियान” नाम दिएर सडक आन्दोलन गरौं। उज्यालोमाथि कुनै पनि अँध्यारोको फोहोरी राजनीति हुनुहुन्न भनेर सल्लाह भएपछि, मैले आफूले काम गरेका संस्थासँग सल्लाह गरें। उत्पीडित जागरण अभियान समाज, सामाजिक काममा मात्र नभएर यस्तै अन्याय अत्याचार वा भ्रष्टहरु विरुद्ध पनि अभियान चलाईरहेको संस्था थियो। प्रवासमा रहेका संस्थाका साथीहरू जिएम लोप्चन, एमडी बल, गणेश लामा लगायतले उत्साहित नैतिक समर्थन गरे। त्यही अनुसार योजना बन्यो।
रत्न जी आफ्नो तर्फबाट सम्पर्क गर्नुपर्ने व्यक्तिहरुसँग सहकार्यमा जुट्नुभयो। म आफ्नै ढंगले योजनामा लागें। तामाङ डाजाङ, म आफैं काम गरेको संस्था, जो भाषिक, साहित्यिक, सांस्कृतिक, राजनैतिक जागरण अभियानहरुमा सक्रिय नाम हुन्। सो संस्थाका साथीहरूबाट ओके। तामाङ समाजका धेर-थोर अभियानमा देखिनाले मेरो उपस्थिति र मैले सहयोग माग्दा नाइँ भन्न नसक्ने साथीहरु अझ भनौं तामाङ संघ संस्थाहरु थिए। नेपाल तामाङ घेदुङको केन्द्रीय कार्यालय पुतलीसडकमा विभिन्न तामाङ संघ संस्थाहरुसँगको संयुक्त बैठक बसियो। सबै संस्थाहरुबाट यो अभियानमा सदस्यहरु अनिवार्य र त्यसमा नजिककाहरू समेत सहभागी हुने प्रतिबद्धता पाउँदा हामी उत्साहित थियौं। भक्तपुरको साहित्यिक संस्था सेमलेङ न्हानको एक साहित्यिक शृङ्खलामा भक्तपुरका साहित्यकारहरूबाट सिंगो सहभागिता रहने बचन प्रतिबद्धता पायौं। अझैं बृहद बनाउने हाम्रो योजना अन्तर्गत गीतकार मानबहादुर दोङ निवास पुग्यौं। लगभग घण्टौंको छलफल, सुझावसँगै भक्तपुरबाट उपस्थितिको लागि सहयोगको बचन प्राप्त हुँदा हामीले बृहद गर्न लागिएको प्रदर्शन मनमनै सफल भइसकेको ठानिसकेका थियौं।
नागरिक समाजको तर्फबाट हामीले अगुवाहरुलाई पनि सहभागिताको लागि सहकार्य गर्ने प्रयास गर्यौं। आङकाजी शेर्पा, खगेन्द्र संग्रौला, कमानसिंह लामा, महाविर पुन, अनिल घिसिङ लगायत नाम चलेका समाजसेवीहरू र उहाँहरूको ऐक्यबद्धताले हामीलाई थप ऊर्जा मिल्दै थियो। परदेशबाट कर्मा बोम्जन, मिनदोर्जे थिङ लगायत धेरै साथीहरुले आर्थिक सहयोग गर्नुभएको थियो।
उज्यालो नेपाल अभियानको लागि बृहद जनप्रदर्शन भोलि। तयारीमा साथीहरु निन्द्रा मार्दै जुटिरहेका थिए। ब्यानर पम्प्लेट छापेर माइकिङको लागि ट्याक्सी रिजर्भ गर्यौं। बौद्ध, रिङ्गरोड, बानेश्वर हुँदै मूलपानीसम्म माइकिङ गर्यौं। सुकुमाया मोक्तान (चर्चित नायिका), बमबहादुर बोम्जन (जिग्मेला), रत्न जी र म। हाम्रा आवाजहरु ट्याक्सीको छतको माइकबाट भीडभाडतिर गुन्जिँदै थिए।
तयारी जुट्दै थियो। वाङ्जु वाईबा टेक्निकल्ली सिस्टम मिलाउँदै थिए। भोलि हुने कार्यक्रमको लागि भिडियो सामग्री बनाउँदै थिए। बम बहादुर बोम्जन (जिग्मेला), मेरो पहिलो भेट, बोल्ने कला चाहिँ गज्जबको। बोल्ने कला भन्दा हाँसो कला अझ गज्जबको। रात छिप्पिँदै थियो, घडीमा १० नाघिसकेको थियो। भोलिको तयारी हेर्दा अझैं लथालिङ्ग जस्तै। खाना पाकेको थिएन। साथीहरुले पकाउँछन् होला र खाएर सुत्नुपर्ला भनेर सोचेको। तर चामलको बोरा रित्तिएछ, ग्यास सिद्धिएछ। फसाद। साँच्चै अभावले हो या नभ्याएर, मैले सोधिनँ। अभावले हो भने अपमान गरेको जस्तो होला भन्ठानें, नभ्याएर हो भने आफैले यसो उसो भन्नेछन् भनेर, बस मौनता साँचें। तर भोलि आन्दोलनको बेला आज खाली पेट निदाउँदा इनर्जी जोशिलो नआउँला भनेर ‘आज बाहिर खाउँ’ भनी प्रस्ताव ठेलें। मसँग ५ हजार जति थियो, र मैले त्यो भन्न सकें। गोजी रित्तो थियो भने पेट कम्तिमा त्यो रात भोकै हुनुपर्थ्यो। खोज्यौं होटलहरू। अहँ भेटिएन कतै। चाबहिल चोकसम्म पुग्दा एक दोहोरी साँझ खुल्ला रहेछ। हामी छिर्यौं, भोकले टम्म भरिएका पेट सहित। हाहा। हामीलाई दोहोरी कसले गाए, दोहोरीको भाकामा को नाचे भन्दा पनि खाना कहिले आउँला र बझाउँला भन्ने हतारो थियो।
सानो डालोमा प्राउन फ्राई राखेर वेटर आए। हामी ४ जनाको हात कति चाँडो प्राउन फ्राईमा, अनि प्राउन फ्राई सुलुत्तै पेटमा। वरिपरि नजर डुलायौं। कसैले खाएको देखिएन। अलि पछि निस्किने बेला थाहा भयो, त्यो त टेबल सजावटको लागि हप्तौं अगाडिको बासी प्राउन फ्राई पो रहेछ। हे, फसाद। त्यो सम्झेर फर्किंदा सुनसान सडकमा अघिको कुराले हाँसो गुन्जायमान हुँदा सडक पनि हाँसे होलान्। सायद। गयौं, पुग्यौं र बेडमा पुगेर एक पल्टाईमा मिठो निन्द्राले झ्याप्पै थिचिहाले।
आन्दोलनको दिन। एघार बजे माइतीघर जम्मा हुने पूर्व सूचना। पूर्व निर्धारित कार्यक्रम। आन्दोलन सभाको लागि निषेधित क्षेत्र। मदन ङेस्युर आस्याङको भोजनालयबाट, भोजन पछि ६०-७० जनाको टोली माइतीघरतिर हुइँकियौं। सूचना भव्य फैलिएको थियो। समाचार सम्प्रेषणको लागि थाहाखबर (सन्चु ब्लोन), भक्तपुर एफ एम (सुदिन दोङ), रेडियो मिर्मिरे (विष्णु दोङ), नमोबुद्ध एफ एम (जगत लामा)। निरन्तर सूचना प्रवाह भइरहँदा सहभागीहरुको अप्रत्याशित सहभागिता हुँदै थियो। प्रहरीले ३-४ जना जम्मा हुन नपाउँदै, तर्साउँदै आन्दोलन भव्य हुन खोज्नुपूर्व नै गिरफ्तार गर्न सुरु गरे। प्रहरीका आँखा छलेर माहोल बनाउन जम्मा भएका हाम्रा साथीहरू, भक्तपुर तिरबाट गाडीका गाडी मान्छेहरु ओर्लिएपछि सडक तात्तिन थाल्यो। खार्पाचोक युवा क्लब, ह्याङला आदिवासी समाज, सेमलेङ न्हान, नाङ्साल क्लब, तामाङ डाजाङ, स्रष्टा समाज, नेपाल तामाङ घेदुङ अन्य संघ संस्था र स्वस्फूर्त जम्मा भएका त्यो हजारौंको भीड र झडप। घम्साघम्सी चल्यो प्रहरीसँग। ३५ जनाले गिरफ्तारी दिए। बिना शर्त गिरफ्तार गरिएका आन्दोलनकारीलाई रिहा गर्न सामाजिक सञ्जाल जुरुक्कै उचालेका थिए नैतिक समर्थन गर्ने साथीहरुले।
आन्दोलनको नेतृत्व गर्ने गिरफ्तार भो भने, आन्दोलन तुहिन्छ वा औचित्यहिन हुन्छ भनेर हामीले नजिकै बसेर साथीहरुलाई निरन्तर खटाइरह्यौं। कुमार स्याङ्बा, जुनु पुन, धनकुमारी घिसिङ, सङ्गीता थिङ, वाङ्जु वाईबा, अन्य सहभागीहरुका भीड प्रहरीसँगको तनावपूर्ण टकराबमा थिए। त्यो दिन आन्दोलनकारी वा प्रहरी तर्फ मानवीय क्षतिको अप्रिय घटना घटेन। यो अभियान उज्यालोको लागि थियो। केही दिनदेखि निरन्तर प्रचार प्रसार भइसकेको यो अभियानबारे कमरेड प्रचण्ड विज्ञ थिए वा अनभिज्ञ थिए, थाहा भएन। आन्दोलनकारीहरूका धरपकड र गिरफ्तारी पछि क. सूर्यमान दोङ आन्दोलनकारीको अवस्था बुझ्न आउनुभयो।
हामीले आन्दोलनको नेतृत्व लिँदै गर्दा, सम्पर्कको लागि नम्बर पब्लिक गरेका थियौं। सिडियो सा’बको फोन आयो। मणिक जी आजको आन्दोलन के गर्नुहुन्छ? मैले जवाफ दिएँ, ‘हामीले आन्दोलनलाई कोण सभा गरेर समापन गर्ने भनेर निर्णय भएको छ। बानेश्वरमा हामी कोण सभा गर्छौं अनि समापन हुन्छ।’ सिडिओ सा’बको आदेश अनुसार बानेश्वरमा तैनाथ प्रहरीसँग कुरा भो। कोण सभाको माहोल बन्यो। मेरो दाई चण्डिकलाल घिसिङ, जो विद्यार्थी आन्दोलन वा अन्य देशै परिवर्तनका लागि बेलाबखत प्रहरीका लाठीबाट बच्दा बच्दा अभ्यास पर्याप्त भइसकेको अनुभवी मान्छे। जेठो दाईलाई माइतीघरमा जम्मा भएका सहभागीहरुलाई बानेश्वर लिएर आउनु भनें। मैले आफ्नो दाई देखें, दिदी देखें र आफन्तहरु देखें। नचिन्नेहरु पनि देखें तर सबैलाई आफ्नै जस्तो देखें। साथी बमबहादुरलाई नारा घन्काउन लगाएँ। रत्न जी मुख सुकाउँदै केहि बोल्न खोज्दै थिए। किन र केका लागि आन्दोलन उनले व्याख्या गरे। मैले सो दिनको आन्दोलनमा सहभागिता जनाउने सबैलाई धन्यवाद दिँदै सर्वोच्चले सो गलत निर्णय नसच्याए अझ सशक्त आन्दोलन हुने उद्घोष गरें।
कोण सभा पछि सिडियो कार्यालय पुगेर गिरफ्तारी दिएका ३५ जना साथीहरु छुटाउन आन्दोलनको नेतृत्व जिम्मा लियौं र साइन गरेपछि साथीहरू छुटे। अझैं त्यो पुरानो फाइलमा आन्दोलनको संयोजन गरेको भनेर मेरो र रत्न जी लगायत साथीहरूको नाम-सिग्नेचर सुरक्षित छन्।
हामीलाई त्यो क्षण खुसी मिल्यो, सर्वोच्चले गरेको गलत निर्णयलाई बदर गरियो। साँच्चै हामीले गरेको आन्दोलन र साथीहरूले दिनभर गरेको संघर्ष सफल भयो। अब उज्यालोको लागि निर्धक्क भयौं। बधाई दिँदै अँगालोमा बेरियौं। हामी सफल भयौं। इतिहासमा पहिलोचोटी सर्वोच्चको गलत निर्णय बदर गर्न सफल भयौं। आफ्नो भविष्य थोरै राम्रो होस् भनी ती जुझारू साथीहरू अहिले प्रवासमा छन्, लगभग सबै। केही पसिना बगाएर फर्किसकेका छन्।
अन्त्यमा एउटा खास कुरा, जब आफ्ना मान्छे आपतमा पर्छन्, सबैभन्दा पहिले उसका नजिक उभिने आफ्नै हुन्छन्। हुनुपर्छ। तर मलाई के लाग्थ्यो भने, वा कुलमान घिसिङको चाहना, सायद त्यो आन्दोलन अरू कसैले गरेर सफल बनाई दिएको भए अझै मन बेतोडमा खुसी मिल्थ्यो। किनकि उज्यालो र कुलमानको कार्य सबैका लागि थिए। कुलमानले परिचालन गरेर आन्दोलन गर्न लगाएको भन्ने आरोप लगाउँदै, कुलमानलाई अप्ठ्यारो पार्नसक्ने स्थिति थियो। गिरफ्तारी दिने साथीहरु विभिन्न समुदायका भएर त्यो आरोपबाट मुक्त भयौं। कुलमान घिसिङको दोश्रो कार्यकाल सकिनुपूर्व बर्खास्त गर्दा, विगतमा हामीले गरेका कार्यलाई मनन गरेर हुनुपर्छ, आन्दोलनको नेतृत्व लिन साथीहरूबाट प्रस्ताव आएका थिए। मैले ती साथीहरूको अनुरोधलाई सम्मान गरें तर नेतृत्व अरूलाई नै लिन आग्रह गरें। कुलमानका नजिकका आफन्त म, म भन्दा टाढाका नाता नै नपर्ने आफन्त धेरै हुनुपर्छ वा बन्नुपर्छ भन्ने सोचें। जसले उज्यालोको सपना देखाए, सो व्यक्ति मेरो मात्र नभई सबैको प्रिय हुनुपर्छ। जय उज्यालो ।