‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
तमु धीं दक्षिण कोरियाले गुरुङ समुदायको नयाँ वर्ष “तमू ल्होसार” मनाउने भएको छ। जनवरी ४ का दिन चर्चित गायिका ममता गुरुङको साथमा मनाउने तैयारी पूरा भएको छ। उनीसँगै नेपालबाट डान्सर तथा कोरियोग्राफर पवित्रा गुरुङको समेत विशेष प्रस्तुति रहनेछ। दोङ्देमुन स्थित किङ्स टाउनको १४ औँ तल्लामा रहेको हलमा कार्यक्रम हुने आयोजकले जनाएको छ। 
कार्यक्रममा शुभकामना आदानप्रदान सहित विविध साँस्कृतिक नृत्य, गुरुङ जातिको मौलिक खाना , नेपालबाट आमन्त्रीत गायिका जालुमाया गुरुङको बेजोड प्रस्तुति सँगै कोरियामा रहेका स्थानिय कलाकारहरुको समेत सांगीतिक धमाका हुने अध्यक्ष तेज गुरुङले जानकारी गराएका छन्।
गुरुङ समुदायले नयाँ वर्षलाई उत्सवको रुपमा मनाउने गर्दछन्। “ल्होसारमा” १२ वर्ग हुन्छन्। यो वर्ष सप्री ल्हो (गरुड वर्ग ) को विदाइ गर्दै “त” ल्हो (घोडा वर्ग) लाई स्वागत गर्दै देश विदेशमा रहेका गुरुङ समुदायले “तमू ल्होसार ” मनाउँदैछन्।