‘पुस २० गते र मेरो दर्जिलीङ् भ्रमण’
नेपालमै रोजगार नमिलेपछि ‘बले’ रोजगार गर्न भन्दै मुग्लान (भारत) पसेको रहेछ । एकदिन बलेलाई बाटोमा हिँड्दा हिँड्दै दिसा लाग्यो । बले निकै आत्तियो । नयाँ ठाउँ र भाषाको समस्याले उसले शौचालय पत्त लगाउन सकेन । अनि एउटा कालो प्लाष्टिकमा दिसा गरेर हातमा झुण्ड्याएर बले हिँड्दै थियो । त्यत्तिकैमा एकजना आधाबैंसे आईमाईले चोर चोर भनेर बलेलाई खेद्यो । त्यसपछि अरु मानिसहरु पनि बलेको पछि लागे । धेरैजना भएपछि बले समातियो । बलेले भाषाको समस्या भएपछि बोलि र्फकाउन सकेनन् । उनीहरुले बलेको प्लाष्टिक खोसेर जोखे २ केजी पुगेन, नपुगेपछि बलेलाई सबैले अरु सामान कता लगिस् भनेर सोधियो । बले अक्क न बक्क परे ।
त्यसपछि बले चोर नै साबित भयो र भक्कु चुटाई भेट्यो । किनकी आईमाईको २ केजीको प्लाष्टिकको झोला अरु कसैले उडाईदिएको रहेछ । अब बले हप्ता दिनमै गाउँ फर्किएछ । गाउँ फर्किएर साथीहरुसँग भेट भएछ । त्यत्तिकैमा हर्कले सोधेछ, ‘ए बले तँत पैसा कमाउने भनेर ईन्डिया गाको थिईस् त ?’ बलेले उत्तर दिएछ ‘हेर कटा हो मत भक्कु पिर्टाइ खाएर फर्किएँ यार ईन्डियाबाट !’ फेरि सुन्दरले बिचमै सोध्यो किन पिटाई भेटिस्त हुम् ? बलेको उत्तर थियो ‘साला ईण्डियामात २ केजी दिसा गर्न सकेन भने भक्कु चुुटाई भेट्दो रहेछ यार । मत दिसा गरेर प्लाष्टिकमा लिएर हिँड्दै थिए बिचमै मलाई समातेर दिसाको प्लाष्टिक तौलिए अनि १ पाउ मात्रै भयो त्यसपछि २ केजी नपुगेको भन्दै चुट्नु चुटे ।’
मेरो चुड्किला भ्याई नसक्दै अटसमटस गरेर दार्जिलीङ् बजारबाट ईलाम पशुपतीनगर तर्फ गुडिरहेको पिक अप भ्याभित्र गललल्ल हाँसो फैलियो । विस २०६४ साल पौषको २० गते, हामी दार्जिलीङ्को २ दिन एक रातको छोटो भ्रमणलाई टुङ्ग्याएर त्यो दिनको गन्तव्य धरानतर्फ हुईकिदै थियौं । दुई दिनको दार्जिलीङ् बसाईमा हामीले गङ्गामय पार्क, रक गार्डेन, सनराईज, बौद्ध गुम्बा, हिल टावर र त्यहाँका विभिन्न चिया बगानहरु समेत घुमिसकेका थियौं । दार्जिलिङ्मा बोलिने मिठो नेपाली भाषा, त्यहाँ पर्यटकलाई गरिने व्यवहार, पहाडको छुकछुके रेल, डाँडाकाँडा अनि पाखामै बसेको शहरको दृष्य र नेपाली रहनसहनले साँच्चै नै हामीलाई अझै १÷२ दिनको बसाई लम्ब्याउन रहर थियो । तर हामीसँग समय र बजेडको अभाव थियो । त्यसैले हामीले दार्जिलीङ्मा घुम्नै पर्ने ठाउँ मिरिक नघुमेरै त्यो दिन धरानको यात्रा तय गरेका थियौं ।
साथीहरु दार्जिलीङ्लाई मिस गर्ने पक्षमा थिएनन् । तर हामी दार्जिलङ् िछोड्नैपर्ने बाध्यतामा पुगिसकेका थियौं । बाध्यतामा सबै सुस्ताउन थालेका थिए । त्यहि सुस्ताएको माहोल तताउन मैले भेज र हाफ–नन्भेजवाला जोक्सहरु सुनाउन थालेको थिएँ । आफैले सिर्जना नगरे पनि साभारवाला जोक्स मसँग टन्नै थिए । क्रमैसँग झण्डै आधा दर्जन भन्दा बढि जोक्सहरु मैले पस्किएँ । र बिच बिचमा क्यारिकेचर पनि गरेँ । साँच्चिकै माहोल तात्तीयो । हामी दोस्रो भ्यानमा थियौं केहि साथीहरु अघिल्लो भ्यानमा थिए । म सवार भ्यानमा भएका प्रिया, माया, ज्ञानु, अनि, प्रदिप, विदुर, मनोज लगायत सबै जनालाई मैले पेट मिची मिची हँसाउन सफल भएँे । बस् उनीहरु पनि हाँसेर मलाई साथ दिए । त्यत्तिकैमा प्रियाले बीचमा फ्याट्ट भनिहाली ‘साथीहरु आज हामी धेरै हाँस्यौं अब नहाँसौं, हाँसेको दिनमा रुनु पनि पर्छरे ! हाम्री बुढी आमाईले भन्नुभएको ।’ त्यसपछि मैले पनि जोक्स सुनाउन छोडेँ ।
यतिखेर हामी ईलाम पशुपति नगर आईसकेक थियौं । जहाँ हामीलाई पोखराबाटै सँगै गएको माईक्रोबसले पर्खिरहेको थियो । हामीले शिलीगुडीको होटेल महाकालबाट दार्जिलीङ् भ्रमणको लागि लगेको र्दुइवटा पिकअप भ्यान परिवर्तन गरेर अब माईक्रोबस् चढ्यौं । ईलामको चिया बगान घुम्ने र पोज पोजमा फोटो खिच्ने हाम्रो कार्यक्रम पनि सुरु भयो । त्यसपछि फिक्कल बजारतर्फ लाग्यौं । फिक्कल बजारमा फ्रेस छुर्पी पाईदोरहेछ । मेरो ८१ पर्षीय बृद्ध बुबाले छुर्पी निकै रुचाउने हुनाले मैले पनि एक केजी छुर्पी किने । अब यात्रा फेरि अगाडी बढ्यो । झापा जिल्ला प्रवेश हुनासाथ एन्सेलको नेटवर्क दिन थाल्यो । साथीहरु सबैको झोला र खल्तीमा भएका माबाईलहरु बज्न थाले । सबैका आफन्तहरुले यात्राबारे सोध्दै थिए । त्यत्तिकैमा बुधबारे आईपुग्दा मेरो नोकिया ११ सयमा पनि फोन रिङ् बज्यो । मैले फोन उठाएँ, हेलो….. उत्तर आयो ‘हेलो, दाई म मोहन बोलेको, घरमा बाबा सारो बिरामी हुनुहुन्छ तपाँई जहाँ हुनुहुन्छ त्यहिँबाट फर्केर घर आउनुहोस् ।’ मैले उत्तर फर्काएँ ‘जति सक्दो छिटो हस्पिटल पु¥याउनु, म फर्किहाल्छु ।’ बस फोन काटियो ।
अब मेरो यात्राले अर्को मोड लियो । भर्खरैसम्म हाँसिरहेको म एकाएक चुपचाप हुनपुगे । मनमा अनेकन शंका उप–शंकाहरु उब्जिन थाल्यो र त्यसले मलाई जलाउन पनि थाल्यो । अब मसँग माईक्रोबसका झ्यालबाट नजरहरु बाहिर फालेर एकोहोरिनुको बिकल्प रहेन । म त्यति कम्जोर भएँ कि आफ्नै साथीतर्फ समेत फर्किएर गफ गर्न सकिन । मेरा आँखाहरु रसाउन थाले । साथीहरुको अगाडी आँशु लुकाउने कोशिस गरेँ, तर सकिन । बस् आँशु बगिरह्यो । सँगै सिटमा बसेका ‘एनि’ र ‘प्रदीप’ले सोध्न थाले । ‘नोम तिमी किन रोएको ? के खबर आयो घरबाट ?’ मैले स्वर कँपाउदै बाबा बिरामी भएको खबर आएको बताएँ । अब भ्रमणमै रहेका सबै सुस्ताउन थाले । सबैको अनुहार मलिन भयो । अन्तत प्रियाले हजुर आमाको बोलि सापटी लिएर हाँसोको बिच भनेका शब्दहरु ‘धेरै हाँस्ने दिन रुनुपर्छरे’ पनि संयोगले भए पनि यो परिस्थितिमा प्रमाणित सिद्ध भयो ।
अब हामी एउटा कोलहाल बिनाको सन्नाटासँगै ईटहरि आईपुग्यौं । सबै ओर्लिए । चिया नास्ता गर्नतर्फ साथीहरु ब्यस्त हुन थाले । म भने पोखरामा रहनुभएका प्रमिला भाउजुलाई फोन लगाएँ । भाउजुले पनि भाईले जस्तै शब्दहरु दोहो¥याउनुभयो । भन्नुयो ‘बाबु दाई पनि गाउँ जानुभएको छ, बाबा बिरामी हुनुहुन्छ तपाँई छिट्टै फर्किनु ।’ मलाई अब भोक तिर्खा सबै गौंड हुन थाल्यो । परिस्थिति अझ नाजुक हुँदै गए ।
अब म धरानको यात्रा मोडेर पोखरा आउने भएँ । मेरो भ्रमण टोलीमा रहेका मार्ईक्रोबस् चालक र सहयोगी सहित १७ जना सदस्यहरुलाई मैले छोड्नुपर्ने भयो । बलिनधारा आँशुसँगै म ईटहरिबाट काठमाण्डौंको नाईटबस चढेँ । झिमिक्क साँझ प¥यो । साथीहरुलाई रुँदै बसको झ्यालबाट बिदाईका हात हल्लाएँ । यो बस्मा म मुग्लिनसम्म यात्रा गर्नु थियो । ठूलो बस्, थोत्रा सिटहरु, बिराना अनुहारहरु । म बसभित्र सह्रै नराम्रोसँग एक्लिए । कन्डक्टरले सुरुमा मलाई राम्रो सिटमै राखे । तर १०÷१५ मिनटको यात्रापछि त्यहाँ टिकट लिएर अर्को प्यासेन्जर आईपुगे । म अन्तिम सिटमा खेदिएँ । सिटमा सँगै यात्रा गर्ने सहयात्री थिए मैलो अनुहार परेका आधाबैंशे पुरुष । उनले पुरानो खालको छालाको ज्याकेट लगाएका थिए । त्यो ज्याकेट पुरानै भएर होला साह्रै नराम्रो गन्ध आईरहेको थियो । बस् जसोतसो आफुलाई एड्जस्ट गर्नु थियो । बढो दुःखले मुग्लिन आईपुगेँ ।
अब मुग्लिनबाट पोखराको र्नाइट बस चढियो । बिचमै चढेको हुनाले सिट पाउने कुरै थिएन । उतिबेला दुईलाईनको सिटहरुको बिचको कोरिडरमा टुल राख्ने चलन थियो । त्यहि टुलमा बसेर बिहान पोखरा आईपुगे । पोखराबाट गृहजिल्ला स्याङ्जा पुग्न अझ डेढ् घण्टाको बाटो थियो । मन भने अत्तिएर घरमै पुगिसकेको थियो । पौष २१ गते बिहान ८ः३० बजे म जिल्ला सदरमुकाम हुँदै राङ्खोला आईपुगे । यहाँबाट झण्डै एक घण्टाको कच्ची सडकको जीप यात्रापछि मात्रै मेरो पुगिन्छ । जीप बिहानै नछुट्ने भएपछि अत्यास अझ बढेर गयो । जम्मा ११ बजेमात्रै मैले जीप पाएँ । दिनको त्यस्तै १२ः३० बजे म घरमा पुग्न सफल भएँ ।
जब घरमा पुगेँ भाई र भाउजूले भन्नुभए जस्तै त्यहाँ मेरो बुबा बिरामी अवस्थामा बेडमा हुनुहुन्नथ्यो । मेरो बुबा सुत्नुहुने खाट रित्तो थियो । त्यहि पनि अगानमा निकालिएको अवस्थामा थियो । मेरो भाईको कपाल खौरिएर खाली टाउकोमा सेतो फेटा गुथाईएको थियो । मेरा आमा, दुई दिदि र दुई बहिनीहरुको आँखाहरु सुन्निएका थिए । घरमा ईष्टमित्रको जमघट बाक्लो थियो । तैपनि बातावरण एकदम सुनसान थियो । अब यो शोकाकुल बातावरणमा मेरो प्रवेश भयो । र फेरि एक सुनसान बातावरणमा रोदनको कोलाहाल मच्चियो । परिवारका सबै सदस्यहरु मलाई अँगालो कसेर रुन थाले । बस् मैले सजिलै अनुमान लगाए बुबाले संसार छोडेर गाईसक्नुभएछ ।
विद्यार्थी जीवनमा शैक्षिक भ्रमणको अनुभव नगरेको मैले पहिलो पल्ट शैक्षिक भ्रमणको अवसर आफैले मिलाएको थिएँ । म त्यतिबेला पोखरा पृथ्वीनारायण क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययन गर्थे । लम्जुङ् मञ्जाङ्का प्रदीप गुरुङ् र म एउटै टोल बगर ट्याक्सीचोक नजिकै बस्थ्यौं । उनी स्नातक दोस्रो वर्षमा अध्ययनरत थिए । उनैले मलाई भ्रमणका लागि प्रस्तावा गरेका थिए । सुरुमा मैले आर्थिकको समस्या देखाएर जान सक्दिन भने । तर उसले मलाई चिट्ठा कार्यक्रम छ, चिट्ठा बेचेर पनि जान सकिन्छ भनेपछि मैले मञ्जुरी जनाएँ । अनि झण्डै २५ सयको चिट्ठ बेचेर मैले भ्मणको तयारी गरेको थिएँ । २०६४ साल पौष १८ गते बिहानै हामी दार्जिलिङ्को यात्रा पृथ्वीनारायण क्याम्पस गेटबाट सुरु गरेका थियौं । १९ गते दिउँसो हामी दार्जिलिङ् पुगिसकेका थियौं । ठिक १८ गते साँझ नै बुबालाई घरमा बेडमै सुतिरहँदा हार्टअट्याक्ट भएछ । अनि १९ गते बिहान २ बजे बुबाले मणिपाल शिक्षण अस्पताल पोखराको सघन कक्षमा आफ्नो देह त्याग गर्नुभएछ ।
बुबाले यो संसार छोडेर जानुभएको पनि आज ९ वर्ष पुरै बितेको छ । तै पनि हरेक वर्ष पुस महिनाको मध्यतिर आईपुग्दा सधैं म २०६४ सालकै पुस महिनामै हुन्छु । त्यो भुल्नै नसकिने मेरो जीवनको एउटा क्षण हरेक वर्ष पुस २० गते अनायसै सम्झनामा आईदिन्छ ।