कोरियामा १२/१६ घन्टा ड्यूटी गरेर साहित्य सिर्जना गर्न सहज छैन, यल्जी विवश

दक्षिण कोरिया,
एकताका साहित्य लेखनमा उपनाम (निकनेम) राख्ने लहर नै चलेको थियो । प्रायः सबैमा आफ्नो पृथक पहिचान होस् भन्ने चाहना हुन्छ । यल्जी विवशले पनि साहित्यिक क्षेत्रमा अलग नामबाट चिनिन नामको पछाडि धेरै निकनेमहरु राख्दै गए । निस्छल, ढुकढुकी, सुक्मित, शुशेली, यल्बी क्षितिज हुँदै यल्जी विवशले चिनिएका युवा साहित्यकार हुन् उनी । उनको वास्तविक नाम लोकेन्द्र गुरुङ हो । तर यल्जी विवशले बढी चिनिन्छन् । ‘वास्तवमा जिन्दगी भनेको एउटा बाध्यताहरुको पिरामिड हो । हामी कतिपय बाध्यतामा अल्झेर सम्झौतामा जिन्दगी जिउन वाध्य हुन्छौं र यहि रहस्यमय जिन्दगी भोग्ने पात्र म पनि भएकोले उपनाम विवश राखेको हो’, उनी आफ्नो उपनामको कारण प्रस्टाउँछन् ।

ताप्लेजुङ फुलबारीका यी युवा कक्षा ५ मा अध्ययन गर्दादेखि नै कविता लेख्न थालिसकेका थिए । त्यसताका ताप्लेजुङ, पाँचथर, झापामा मात्र नभइ देशभर नै ‘हवाइ पत्रिका’ प्रकाशित हुने गथ्र्यो । उनका सिर्जनाहरु पनि हवाइ पत्रिकामा प्रकाशित हुन्थ्यो । साथै त्यो बेला प्रेमपत्र लेख्ने, उपन्यास पढ्ने र पत्रमित्रता गर्ने लहर पनि त्यत्तिकै चलेको थियो । त्यहि लहरमा उनी पनि मिसिसकेका थिए । जसलाई कविता लेखन र साहित्यको आधारशिला मान्छन् उनी । पछि काठमाडौंबाट प्रकाशित दैनिक, साप्ताहिक पत्रिकाहरुमा पनि उनका कविता गजल प्रकाशित हुँदै गएपछि बिस्तारै साहित्यको पोखरीमा डुबुल्की मार्न पुगेका विवश अग्रज साहित्यकार लेखकहरुबाट पनि प्रेरणा पाएर साहित्यमा झुकाव बढेको बताउँछन् ।

हाल कविता र गीत बढी लेखे पनि विगतमा गजल, मुक्तक, हाइकु, ताँका, कथा र फिल्म आदि लेखेका छन् । आउने दिनहरुमा आख्यान र फिल्म लेखन गर्ने सोच बनाएका विवशले ०६०, ६१ सालतिर आफ्नै शब्द र स्वरमा ‘न्युरोडमा सुन दोकान’ नामको लोकदोहोरी एल्बम निकालेका थिए । त्यस्तै संयुक्त संग्रहमा आस्थाको स्तम्भ कविता संग्रह, मुक्तक मन्जरीलगायत थुप्रै नेपाली चलचित्रमा गीत लेखन र स्क्रीप्ट समेत लेखिसकेका छन् । त्यस्तै रामधुलाइ कविता संग्रह र नौलो शितिज हाइकुसंग्रह प्रकाशन हुने क्रममा रहेको छ ।

थुप्रै साहित्यिक तथा सामाजिक संघसंस्थामा आवद्ध रहेका विवशले साहित्य क्षेत्रमा योगदान पुर्याय बापत थुप्रै सम्मान तथा पुरस्कार समेत पाइसकेका छन् । २२ महिना अघि वैदेशिक रोजगार भिषामा दक्षिण कोरिया आएका कवि तथा गीतकार यल्जी विवश कामसँगै साहित्य सिर्जनामा पनि त्यक्रिकै सक्रिय भएर लागिरहेका छन् । प्रवासमा रहेर साहित्य सिर्जना गर्दै आएका यीनै युवा साहित्यकार यल्जी विवशसँग  फोनिज कोरिया डट नेटका लागि बाला राईले गरेको साहित्यिक वार्ता:

के का लागि साहित्य सिर्जना गर्नुहुन्छ ?

विशेषत: आत्मसन्तुष्टि को लागि नै गरिन्छ, तर त्यो भन्दा बढी अहिलेको समय/समाज र देसप्रति जिम्मेवार हुँदै केही अग्रगामी सोच र बिचारको प्रवाह गर्न पनि साहित्य सिर्जना गर्ने प्रयास गर्दछु ।  मलाई लाग्छ, समाजलाई वैचारिक रुपमा प्रशोधन गर्ने महत्वपूर्ण औजार नै साहित्य हो- जसले एउटा यूगको स्पस्ट चित्र पछिल्ला कयौँ यूगको लागि दुरुस्त साँचेर राखेको हुन्छ ।

 साहित्य सिर्जना गर्दा के कुराले बढी प्रभाव पार्छ ?

यहि समाज र समयले नै निश्चितरुपमा तमाम स्रस्टाहरुलाई झै प्रभाव पार्ने हो ।  समाजमा हरपल घटिरहने दु:खद/सुखद घट्ना, राजनैतिक उतारचढाव, मनविय स्वाभाव, र परिबर्तित समयको छालहरुले जब अन्तस्करणमा हिर्काउँछ, तब केही न केही सृजनाहरुको जन्म हुने बातावरण तय हुन्छ। र मानसपटलमा यिनै घट्नाहरुले घोचेपछी जन्मिने सृजना यहि नै बेला गर्छु भन्ने छैन, बिशेसत: फुर्सदको समयमा मिलाएर लेख्ने गर्छु; फुर्सद पर्याप्त नहुँदा कतिपय सृजनाहरु विवशताबश तुहिने पनि गर्दछन्।

प्रबासमा गरिने साहित्य सृजना र नेपालमा गरिने सृजना बिच के फरक पाउनुहुन्छ?

खासै त फरक हुन्न, तर पनि यो बिदेसी माटोमा टेकिरहँदा आफ्नो जन्मभुमीको माटोको याद बारम्बार  आईरहन्छ ।  देसमै हुँदाभन्दा प्रबासमा देसको  माया कयौँगुणा बढी लाग्छ, र प्रबासमा अलि बढी नै गम्भीर हुँदै सृजना गरिन्छ ।  नेपालमा रहँदा गरिने सृजनामा पनि नेपाली माटो र हावाले स्पर्श गर्न पाउने हुँदा त्यो छुट्टै किसिमको राम्रो हुन्छ। तर जे भएपनी, जता भएपनि सिर्जनाले मन/मुटुलाई छुनुपर्दछ, सामान्यभन्दा अतिरिक्त सोचका साथ जब कुनै सर्जकले सृजना गर्छ- अबस्य त्यसले सबैको मन छुन्छ- जहाँ भएपनी..!

काम गर्दै साहित्य सिर्जना गर्नु कतिको सजिलो छ?

काम गर्दै साहित्य सृजना गर्न निश्चित रुपमा धेरै सहज छैन, त्यसमाथी बिश्वमै धेरै श्रम गरिने/खट्नुपर्ने देस कोरियामा झनै गार्हो छ । ग्राहो यस अर्थमा छ कि साहित्यका कतिपय गम्भीर सृजनाहरु गर्नलाई त्यो बिसयमा निक्कै गहिरो अध्ययान-अनुसन्धान गर्नुपर्छ, १२/१६ घन्टाको नियमित ड्यूटी गर्नुपर्दा त्यो सम्भव छैन, जसको प्रत्यक्ष असर सृजनामा पर्दछ, त्यही भएर पनि कतिपय निक्कै गम्भीर सृजनाहरु केबल दिमागमै जन्मिने र दिमागमै हराउने अबस्था छ, जसले गर्दा पाठकले उत्कृष्ट सृजना पाउन सक्दैनन् भने सर्जक भित्र-भित्रै कुण्ठित भएको महसुस गर्न बाध्य छ। लिमिटेड समयमा कतिपय उत्कृस्ट ताजा अन्य लेखकहरुका किताब एवं सृजनाहरु अध्ययान गर्न नपाउनु पनि अर्को दुखद कुरा हो।

अन्तरास्ट्रिय साहित्यको तुलनामा नेपाली साहित्यलाई कसरी हेर्नुभएको छ?
नेपाली साहित्यमा धेरै यस्ता सृजनाहरु छन्, जुन कुनै पनि हालतमा अन्तरास्ट्रिय स्तरको छैन भन्न मिल्दैन ।  नेपाली लेखकहरु पनि विश्व/ब्रह्माण्ड लेख्न सक्छन्- जसको अन्तरास्ट्रिय स्तरमा प्रचार/प्रसार र प्रकाशनको अभाव छ ।  नेपाली साहित्यलाई अन्तरास्ट्रिय स्तरसम्म पुर्याउन अझै उत्कृष्ट लेख्न सकिने ठाउँ धेरै छन्, जसको लागि गहिरो अध्ययानको पनि आबश्यक छ।

इन्टर्नेटको अहिलेको जमानामा बिश्वलाई हामिले पढ्न सक्छौं, बिश्वलाई पढेर हामिले साहित्यीक सृजनामार्फत् आफ्नो धारणा राख्दा आफ्नोपनलाई नभुल्ने हो भने मात्र पनि छुट्टै स्तर र पृथक पहिचानसहित नेपाली साहित्य विश्व-साहित्यको रंगमन्चमा शुन्दर बिहाँनी बनेर उदाउनेमा कुनै संका छैन ।  र कोरियाको नेपाली साहित्यको बारेमा कुरा गर्नुपर्दा यहाँ उत्कृष्ट साहित्यकारहरुको उपस्थिती अत्यन्तै राम्रो छ, नव प्रतिभाहरु उत्तिकै जन्मिरहेका छन्, व्यस्त समयको बाबजुद प्राप्त छोटो फुर्सदलाई पनि यहाँका साहित्यकारहरुले मज्जाले सदुपयोग गरिरहेका छन् ।  नेपाली साहित्य आकशमा भावी दिनहरुमा चम्किने चम्किला ताराहरुको यहाँ उपस्थिति बढ्दो छ।

 साहित्य सिर्जना गर्न कोरियाको बिशेश के कुराले तपाईलाई प्रभावित पार्छ ?

कोरियामा बसेर पनि समाचारहरुमा दिनदिनै देखिने हाम्रै देसका उथलपुथलहरु, समस्याहरु,बाध्यताहरुले हामिलाई निक्कै पोल्छन्, र यहाँ कोरियाको शान्त अवस्थासँग तुलना गर्दाखेरी आकाश पतालको फरक पाईन्छ, यहाँका मानिसहरु लगनशिलता मेहेनत देखेर पनि थप उत्साहित भैन्छ, तर कहिलेकाही यहाँको मान्छेहरु सबै यन्त्र बनेको देख्दा यिनिहरुको जिन्दगीले जिन्दगीको कतिपय रंग देख्नै पाउदैनन जस्तो लाग्छ, यस्तै यावत कुराहरुले अत्यन्तै प्रभावित हुन्छु।

प्रवासमा नेपाली साहित्यिक गतिबिधिहरु भैरहन्छन्,संघसंस्थाहरु पनि छन् ,यसले प्रवासमा बस्ने साहित्यकारहरुलाई कतिको सहज वातावरण सिर्जना गरिदिएको छ जस्तो लाग्छ?

धेरै महत्वपुर्ण कुरा उठाउनुभयो । हो, प्रवासमा धेरै साहित्यिक संस्थाहरु छन् , जसले बिबिध कार्यक्रमहरु गर्दै आएका छन् जसले गर्दा हामिजस्ता नयाँ सर्जकहरुलाई हुर्किन बढ्न यूरिया मलको जस्तो भुमिका निर्वाह गरिदिएजस्तो लाग्छ ।  कोरियाको सन्दर्भमा भन्नुपर्दा  नेपाली साहित्य समाज, दक्षिण कोरियाले बिबिध कार्यक्रमहरु गर्दै आएको छ, जस्तो यो संस्थाले- वसन्त कविता, हिउँद कविता बहस र वाचन, एकल कविता वाचन, एकल कला प्रर्दसनी जस्ता महत्वपुर्ण र ऐतिहासिक कार्यक्रमहरु गरिसकेको छ, भने हालसालै यहाँका पन्ध्र सर्जकलाई समेटेर गीति एल्बम “सहयात्रा” को पनि तयार गरिसकेको छ ।  त्यस्तै नेपाल मुक्तक प्रतिस्ठान, कोरिया साखा, अनेसास कोरिया च्याप्टरले पनि बिबिध कार्यक्रमहरु गर्दै आएका छन्, यस्ता कार्यक्रमहरुले हामिजस्ता नवसर्जकहरुलाई अझै खारिन उत्प्रेरित गरिरहेको छ।

अझै प्रभावकारी ढंगबाट अघि बढाउन कस्तो भुमिका खेल्नुपर्ला जस्तो लाग्छ?

अझ प्रभावकारी ढंगले अघि बढ्न अरु निक्कै कामहरु गर्न सकिन्छ ।  गोष्ठी,प्रशिक्षण, साहित्यिक घुमफिरको कार्यक्रम बढाउने, कोरियाको साहित्यकारहरुसँग समन्वय गरेर नेपाली र कोरियन साहित्यको अन्तरकुराहरुको आदनप्रदान गर्ने, नेपालबाट बिचबिचमा केही साहित्यकारहरु झिकाएर अन्तर्कृयाहरु गर्ने आदि गरियो भने पक्कै पनि सर्जकहरुलाई थप प्रोत्साहित गर्नेछ । प्रवासी सर्जकहरुलाइ फुर्सदको समयलाई सदुपयोग गर्न साहित्य सिर्जना र अध्ययान गर्न राम्रो विकल्प भएकोले यतातिर लाग्न मेरो सुझाव छ, प्रवासको व्यस्त समय, देस र परिवारको सम्झनाले छटपटिएर कहिलेकाही तनाव पनि हुन्छ, त्यसलाई मिनिमाइज गर्ने साहित्य राम्रो खुराक हो यसमा लाग्नुहोला भन्न चाहन्छु ।

भविस्यको योजना ?
मेरो विचारमा साहित्यले समाज र समयले दिएको निस्कर्स र उपलब्धिलाई संरक्षण मात्र गर्दैन भावी यूगलाइ पनि सहि गन्तव्यमा हिँडाउन निर्देशित गर्दछ । तसर्थ भावी दिनहरुमा नेपाली साहित्य र संगितको क्षेत्रमा केही न केही नयाँ योगदान दिने मेरो प्रायास रहिरहनेछ । जसको लागि अथक अध्ययान, साधना गरिरहनेछु, गीत, फिल्मसम्बन्धी कामको पनि निरन्तरता दिने साथै निकट भविस्यमै केही गजल संग्रह, हाइकु संग्रह र कविता संग्रह “रामधुलाई” ल्याउने तरखरमा छु।

तपाईलाई मन पर्ने साहित्यिक बिधा कुन हो ? 
हुन त मलाई साहित्यका सबै बिधाहरु मन पर्छन् त्यसमा पनि कविता र आख्यन खास लाग्छ । कविताप्रती म एकदमै आकर्षित छु- किनभने कविता त एउटा महासागर हो जस्तो मलाई लाग्छ, जसमा खोला बनेर आख्यन, गजल , मुक्तक, हाईकु, ताँका आदि सबै कतै न कतै मिसिएको हुन्छ जस्तो लाग्छ ।

मन पर्ने साहित्यकार ?

मन पर्ने साहित्यकार अनि मेरो सहित्यिक जिवनको प्रेरक व्यक्तित्वहरु धेरै नै हुनुहुन्छ, बिशेश गरि नेपाली साहित्यका देवकोटा, पारिजात, भुपी शेरचन, गोपालप्रसाद रिमाल, हरिभक्त कटुवाल, बिमल निभा, श्रावण मुकारुङ, मोहन कोइराला, बैरागी काईला आदिबाट अत्यन्तै प्रभावित छु । त्यस्तै बिदेसी कविहरुमा  गुल्जार, मुकेश कुन्दन टोमस, पाब्लो नेरुदा, ल्याङ्स्टोन ह्यूग, राहत इन्दोरी(हिन्दी गजलकार) आदिबाट पनि अत्यन्तै प्रभावित छु ।

त्यस्तै नेपाली कविताका वर्तमानकालका शक्तिशाली  कविहरु बिप्लव ढकाल, कृश्णभुसण बल, हाङयूग अज्ञात, मनु मन्जिल, उपेन्द्र सुब्बा, राजा पुनियानी, राबत, हेम प्रभास, समाश्री, रामगोपाल आँशुतोस, रमेश शायन आदिबाट पनि निक्कै प्रभावित छु । त्यस्तै पछिल्लो समयमा आएका केही कविहरु पनि अत्यन्तै कडा रुपमा कवितालाई धार लगाउन आएका छन् भन्ने मेरो ठम्याई छ।

अन्त्यमा के भन्न चाहनुहुन्छ?

अन्त्यमा लाखौ पाठकसँग प्रत्यक्ष साक्षात्कार हुने मौका दिनुभएकोमा हजुरलाई र फोनिज कोरिया डट कमलाई हृदयदेखि नै धन्यबाद दिन चाहन्छु । तमाम साहित्यका पाठक र संगितका स्रोताहरुलाई नेपाली साहित्य र संगितलाई माया गरिदिन अनुरोध गर्दछु, साथै डि आर अटुको सङ्गीत,मेलिना राईको स्वरमा भर्खरै रिलिज भएको मेरो गीत”काँडाले घोच्ला…” एकपटक सुनेर प्रतिकृया दिनहुन सम्पूर्णमा हार्दिक अनुरोध पनि गर्न चाहन्छु ।

आफ्नो प्रतिकृया दिनुहोस


सम्बन्धीत समाचारहरु:

भर्खरै...

फेसबुक

महिला / बालबालिका

दोलखाका नशा पीडित सर्मिलाको कोरियामा उपचार

काठमाण्डौ दोलखा भिमेश्वर नगरपालिकाका प्रमिला र छत्र मुग्राती आफ्नी जेठी छोरीको स्वास्थ्यका कारण क्रमश

Manju Gurung / November 11, 2016

प्रत्यक्ष गायनमा रमे गुल्मेली तिज

सुवन समस्त हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर कोरियामा रहेका गुल्मेली हरुले भब्य रुपामा तीज क्रमश

Manju Gurung / September 6, 2016

कोरियामा विभिन्न कार्यक्रमका साथ तीज सम्पन्न

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरिया, नेपाली दिदीबहिनीहरुले हरेक वर्ष मनाउदै आएको हरितालिका तीज यसपाली पनि क्रमश

Manju Gurung / September 5, 2016

लोकप्रिय

कोरिया समाचार

कोरियामा केसीटियुद्वारा मजदुरको न्युनतम ज्याला बृद्दीको माग गर्दै आन्दोलन शुरु

कोरियामा प्रत्येक बर्ष सरकारले न्युनतम ज्याला निर्धारण समिति मार्फत मजदुरहरुको न्युनतम ज्याला निर्धारण गर्ने क्रमश

Manju Gurung / February 14, 2017

कोरियाको ६६ तल्लाको अपार्टमा आग्लागी , ४ जनाको मृत्यु

फोनिज कोरिया संवाददाता सोल दक्षिण कोरियाको दोइ०थान सिटी स्थित दोइ०थान मेथापोलिस अपार्टमा शनिबार विहान ११ क्रमश

Manju Gurung / February 4, 2017

 भिडियोहरु

For Advertise:
 fonijcorea@gmail.com
लेख, रचना र समाचारका लागि:
 fonijcorea@gmail.com
About us
Fonij Korea (www.fonijkorea.net) is global’s number 1 news publishing More...
आजको कार्टुन
सर्वाधिकार © 2012 - 2017: Fonij Korea मा सार्बधिक सुरक्षित छ. | Advertise | Contact | About Designed by: Profile Nepal