कोरियामा प्रवासी नेपालीका सहयोगी डाक्टर


प्रवासमा रहेर त्यहाँको उच्च सरकारी निकायमा पुग्न सफल थोरै नेपाली मध्येमा पर्छन् डा. राजेशचन्द्र जोशी । दक्षिण कोरिया मै पहिलो र एकमात्र नेपाली चिकित्सकका रुपमा चिनिएका डा. जोशी आफ्नो पेशासँग मात्र सिमित छैनन् । कोरियाको सरकारी निकाय अन्र्तगतका केही उच्च ओहदामा समेत सदस्यका रुपमा चुनिएका छन् । केही समय अघि मात्र कोरियाको सरकारी स्वामित्वमा संचालित केबिएस टेलिभिजनको मूल्यांकन समितिमा दोस्रो पटक नियुक्ति भएका डा. जोशी केबिएस टेलिभिजनको थेगु प्रसारणको २६ औं मुल्यांकन समितिमा समेत रहेका थिए । यो वर्षको २७ औं मूल्यांकन समितिमा समेत पुनः नियुक्ति भएका उनी १२ सदस्यीय मूल्यांकन समितिका एकमात्र विदेशी नागरिक हुन् ।
त्यसैगरी कोरियाको न्याय मन्त्रालय (Ministry of Justice) अन्तर्गत थेगुको 법사랑위원회 (Love Justice Committe) को 외국인특별워원회외국인특별워원회(Special Committee for Foreigner) मा समेत सदस्यका रुपमा रहेका छन् । घ्यङसाङबुक्दोको धामुन्ह्वा खाजोक होङबोदेसा (बहुसाँस्कृतिक परिवार एम्बासडोर) समेत रहेका जोशी छ वटा राष्ट्रका प्रतिनिधि मध्येका एक हुन् । अविकसित मुलुकबाट आएर कोरियाको सरकारी मिडिया र कानुन बनाउने निकायमा चुनिनु नेपाल र नेपालीको लागि साँच्चीकै गर्वको विषय हो ।
मिडिया र कानुन जस्ता शक्तिशाली निकायको मुल्यांकन समितिको सदस्य हुँदा जति खुशी भएका छन् त्यति नै उनको सामु चुनौती पनि थपिएको छ । ‘कोरियाको कानुन परिमार्जन वा परिवर्तन गर्न सक्ने कमिटि हो । त्यसैले प्रवासी मजदूरहरुको मुद्धालाई उठाउन केही नेपालीहरुसँग परामर्श लिने गरेको थिएँ तर अब प्रवासी मजदूर नेता वा कार्यकर्ताहरुसँग औपचारिक रुपमै मिटिङ राखेर छलफल गरेर मुख्य समस्या र सुर्धानुपर्ने कुरालाई मुख्य एजेन्डाको रुपमा उठाउने सोचमा छु,’ डा. जोशी भन्छन् ।
त्यस्तै केबिएस टेलिभिजनमा प्रसारित कार्यक्रमहरुको मुल्यांकन गरी अझ प्रभावकारी बनाउन राय, सल्लाह र सुझाव दिने आफ्नो मुल्यांकन समितिको दायित्व रहेको बताउदै डा. जोशी अगाडी थप्छन्, ‘टेलिभिजनको मुल्यांकन समितिको सदस्यको नाताले प्रवासीको आवाजलाई प्रभावकारी रुपमा कसरी पुर्याउन सकिन्छ भन्ने बारेमा हरेक महिना मुल्यांकन समितिको बैठक बस्नु केही दिन अगाडि विभिन्न पेशा, व्यवसाय र क्षेत्रका नेपाली प्रवासीहरुसँग छुट्टाछुट्टै विषयमा छलफल गरेर त्यसबाट निस्केको निचोडलाई मुल्यांकन समितिमा राख्ने छु ।’
कोरियाको विकाशमा वैदेशिक रोजगारबाट आएका प्रवासी कामदारको महत्वपूर्ण देन रहेको बताउदै जोशीले भने, ‘गतवर्ष धामुन्ह्वा (बहुसाँस्कृतिक) परिवार र धामुन्ह्वा बालबालिकाको मुद्धालाई बढी फोकस गरेको थिएँ । यो वर्ष प्रवासी कामदारहरुमा केन्द्रित कार्यक्रम उत्पादनमा जोड दिनेछु ।’


पच्चिस वर्ष अघि डाक्टर बन्ने सपना बोकेर कोरिया आएका राजेशचन्द्र जोशी नेपालीहरुमा एक मात्र मेडिकल डाक्टर हुन् । यङनाम विश्वविद्यालयबाट सन् २००२ मा मेडिकलमा ग्रयाजुएट गरेपछि प्रो. इ किउ सकको सहयोगमा २००३ देखि २००६ सम्म थेगुको खेम्योङ युनिर्भसिटि धोङसान अस्पतालमा डर्माटोलोजीमा पिएचडि गरेका डा. जोशी हाल ग्यङजु नगरपालिकाको Geriatric अस्पतालमा फेमिली मेडिसिन प्रमुखको रुपमा कार्यरत छन् ।
कोरिया जस्तो विकसित मुलुकमा रहेर चिकित्सकीय माध्यमबाट नेपाल र कोरियाको सम्वन्धलाई अझ गाढा बनाउदै आएका उनी प्रवासी नेपालीहरुको सहयोगी समेत बनेका छन् । प्रवासी नेपालीहरुको हरेक समस्याहरुलाई प्रत्येक शनिबार साँझ अनलाइन मार्फत् परामर्श दिदै आएका छन् भने कोरियामा रहेका नेपाली समुदायको हितका लागि हरेक महिनाको पहिलो र दोस्रो आइतबार कोरियन डाक्टर र भोलेन्टिएरहरुसँग मिलेर निशुल्क स्वास्थ्य परिक्षण गराउदै आएका छन् ।
त्यसैगरी कोरियाको अस्पताल र चिकित्सकहरुको सहयोगमा हरेक वर्ष नेपालको दुर्गम क्षेत्रहरुमा मेडिकल क्याम्प समेत संचालन गर्दै आएका डा. जोशी कोरियामा रहेका नेपालीहरुलाई भाषादेखि स्वास्थ्य तथा विभिन्न समस्याहरुमा सहयोग पुर्याउदै आएका छन् ।
डाक्टर बनेर नेपाल नै फर्केर आफ्नै जन्मभूमिमा सेवा गर्ने सोच थियो । तर, परिवारको सल्लाहले कोरियालाई नै कर्मथलो बनाउन पुगेका डा.जोशीलाई अहिले कोरियामै बसेर ठिक गरेछु जस्तो लाग्छ । ‘नेपालमा म जस्ता डाक्टरहरु धेरै छन् । कमसेकम कोरियामा बसेर थुप्रै प्रवासी नेपालीहरुको सेवा गर्ने मौका पाइरहेको छु । जसले मलाई आत्मसन्तुष्टी मिल्छ,’ उनी सुनाउछन् । त्यसो त उनी कोरियामा मात्र सिमित छैनन् हरेक वर्ष कोरियाली चिकित्सकहरुको टोली लिएर नेपाल पुग्छन् । दुर्गम भेगमा पुगेर निशुल्क स्वास्थ्य परिक्षण गर्छन् अनि बिरामीहरुलाई औषधी बाँडेर फर्किदा मनमा आनन्दको अनुभूती हुन्छ ।
थेगुको धोङसान हस्पिटलमा कार्यरत हुँदा हस्पिटलका प्रोफेसर र उनकै सकृयतामा सन् २००४ मा स्थापना भएको ‘लभ नेपाल’ संस्था विकसित भएर ‘कोरिया नेपाल एसोसिएसन’ को पनि स्थापना भएको थियो । हाल उक्त संस्था ‘लभ एसिया’को नाममा संचालित छ । चिकित्सक जस्तो उच्च र सम्मानित पेशामा रहेका डा. जोशी व्यस्त समयका कारण पनि केही कोरियन र नेपाली संस्थाहरुमा आवद्ध रहेका छन् । ‘समाजसेवा गर्ने ठुलो चाहना भएर पनि समयको अभावले सोचे जस्तो गर्न सकेको छैन । तर जति सकेको गर्दै आइरहेको र गरिरहने छु’, उनी प्रतिवद्धता गर्छन् ।

आफ्नो मातृभूमिका लागि केही गरौं भन्ने लागिरहन्छ रे उनलाई । त्यसैले उनकै सक्रियतामा नेपालमा स्वयमसेवी कार्यमार्फत् सेवा पुर्याउन हाननेसा (한-네팔 사랑봉사회) (한네사) “Society of Nepal Loving Korean Volunteers” (SNLK) संस्था गठन गरिएको छ । आगामी दिनमा हाननेसामार्फत् नेपालको दुर्गम जिल्लाहरुका स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सेवा प्रभावकारी रुपमा अगाडी बढाउने योजना रहेको बताउदै डा. जोशी थप्छन्, ‘नेपाललाई सहयोग गर्ने थुप्रै मनकारी कोरियनहरु हुनुहुन्छ । यो संस्थामा डाक्टर मात्र नभई, कानुनविद, उद्योगपति व्यापारीलगायतका ठुलठुला व्यक्तित्वहरु पनि हुनुहुन्छ । त्यसैले यहिवर्षदेखि हाम्रो मिसनलाई एक्टीभ्ली अगाडी बढाउने सोचमा छौं ।’
नेपालको हरेक दुर्गम क्षेत्रमा पुगेर हेल्थ क्याम्प गर्ने, त्यस ठाउँका बालबालिका, वृद्धाहरु कस्तो रोगबाट बढी पिडित छन् भनेर सर्वेक्षण गरेर त्यहि अनुसार औषधी पढाउने जस्ता कार्यहरु गर्नुका साथै अनलाइन मेडिकल क्याम्प गर्ने सोच बनाएका डा. जोशी भन्छन्, ‘प्रविधिको विकासले गर्दा हरेक ठाउँमा पुग्नै पर्छ भन्ने छैन । नेपालमा इन्टरनेटको पहुँच पुग्ने ठाउँमा कम्प्युटरसम्वन्धि ज्ञान भएका र अनलाइन चलाउन सक्ने एकजनालाई राखेर अनलाइनमार्फत नै काउन्सलिङ गर्न सकिन्छ ।’ उनका अनुसार अनलाइन हेल्थ काउन्सिलिङ नेपाल अधिराज्यव्यापी पुर्याउने लक्ष्य रहेको छ । त्यस्तै कोरियालाई मुख्य केन्द्र बनाएर स्वास्थ्य सम्वन्धि वेवसाइट संचालन गर्ने र त्यसमा हरेकले आफ्नो समस्या राख्न सक्छन् र त्यसको जवाफ वेवसाइडका सदस्य बनेका विश्वभरी रहेका जोसुकै चिकित्सकले पनि दिन सक्नेछन् ।  जसमा विश्वभर रहेका विदेशी र नेपाली चिकित्सकहरुको सक्रियतामा संचालन गर्न सकिन्छ । त्यस्तै कोरियामा रहेका नेपालीहरुको लागि पनि छुट्टै अनलाइन र अफलाइन मेडिकल नेटवर्क बनाउने विचार लिएका जोशी गर्न मन धेरै भएपनि समयको अभावले सोचे जति गर्न नसकेको बताउछन् ।

सानैदेखि डाक्टर बन्ने सपना पालेका जोशीलाई ‘मान्छे भएर जन्मेपछि भविष्यमा रोगी मान्छेको उपचार गर्नु नै सबै भन्दा ठुलो पेशा वा पुण्य हो जस्तो लाग्थ्यो । त्यसैले अमृत साइन्स क्याम्पस काठमाडौंबाट आइएस्सी गरेपछि डाक्टर पढ्न १९९२ मा कोरिया आएका राजेशचन्द्र जोशीले सउल युनिर्भसिटिमा कोरियन भाषाको बेसिक कोर्ष गरेर सन् १९९३ मा थेगु शहरको यङनाम युनिभर्ससिटिमा भर्ना भए । तर कोरियन भाषाको ज्ञान धेरै नभएकोले उनलाई सुरुमा भाषाको समस्या भयो । सबै कोर्ष कोरियन भाषामा पढनुपर्ने भएकोले उनलाई धेरै गाह्रो भयो । राती चारघण्टा मात्र सुतेर अध्ययन गर्दा पनि परिक्षामा सोचेजस्तो अंक ल्याउन नसकेपछि बिचमै पढाइ छाडे ।

तर उनको अगाडि उर्जा बनेर उभिदिए विदेशी मजदूरहरुको सहयोगी कोरियन महिला स इनसुक । उनकै प्रेरणाले पढाइलाई पुःन अगाडि बढाए । कोरियामा अविभावक जस्तो भएर हरेक कार्यमा उर्जा थपिदिने उनै महिलासँग भावनात्मक रुपमा नजिक भए । पछि उनकै छोरी जङ सेयङसँग प्रेमसम्वन्धमा परेका जोशीले दुबै परिवारको सहमतिमा विवाह गरे । एक छोरीका साथ थेगुमा बस्दै आएका जोशी श्रीमती र सासुको प्रेरणा, साथ र समर्थनका कारण पनि आफ्नो लक्ष्यमा पुग्न सजिलो भएको महशुस गर्छन् ।


प्रवासमा रहेर स्वास्थ्यसँगै सामाजिक क्षेत्रमा पुर्याउदै आएको योगदानको कदर गर्दै कोरिया तथा नेपालका विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका डा. जोशीले केहीवर्ष अघि कोरियाको फेमिली मेडिसिन एसोसिएसनले गरेको एक सम्मेलनमा ‘बच्चा उदास हुनुको कारणहरु’ शिर्षकको कार्यपत्र प्रस्तुत गरेर कोरियाकै सयौं प्रख्यात चिकित्सकहरुलाई पछि पार्दै उत्कृष्ठ अवार्ड पाए । त्यस्तै सन् २०११ मा केबीएस टेलिभिजनले कोरियाली समाजमा सफलता र एकताको नमूना बनेका प्रवासीहरु मध्येबाट डा. जोशीलाई ‘होप फर कोरिया’ अवार्डबाट पनि सम्मानित गरेको थियो ।
यसरी कोरियामा नेपाललाई चिनाउने मात्र नभई नेपालको प्रतिनिधित्व गर्दै कोरियाको उच्च तहसम्म पुग्न सफल डा. राजेशचन्द्र जोशी प्रवासी भूमीमा रहेर नेपाल र नेपालीको शिर उचो बनाउदै आएका छन् । प्रवासमा रहेर पनि आफ्नो जन्मभूमिको लागि धेरै गर्न सकिने उदाहरण बनेका डा. जोशी भन्छन्, ‘चिकित्सकिय पेशासँगै प्रवासी नेपालीहरुको सहयोगी बनेर उनीहरुको चहराइरहेको घाउमा मलम लगाउने प्रयास गर्नेछु ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...